– सुशील अर्याल

१,
नगर्नु घमण्ड कुनै समय, हत्केलामा जून थियो भनेर
नजलाउ मुटु मायाको घर, शिशा सरि भत्कियो भनेर
पुज्य हुनेछन यादहरु हृदयको मन्दिरमा सदा सर्वदा
भै`गो नदुखाउ मन पञ्चामृत, जुठेल्नोमा पोखियो भनेर

२,
अधर जाली छ नजर निर्मोही छ भन्दिएको भए
मनमा जो छ मुटुमा सोही छ भन्दिएको भए
एउटा सद्दे मान्छे बौलाएर पागल बन्दैन्थ्यो की!
मेरो पछी नलाउ अघि कोहि छ भन्दिएको भए

३,
कुण्ठामाथि कुण्ठा जोड्न किन पर्थ्यो र?
हाँस्ने बोल्ने आदत छोड्न किन पर्थ्यो र?
केही न केही त बोले हुन्थ्यो ती ओठबाट
मौनताको बर्को ओड्न किन पर्थ्यो र?

४,
कतै डुलाउने छैन नजर बिचलित मन हुनेछैन
हाम्रो चोखो पिरतीमा शोषण र दमन हुनेछैन
बिना भय लाजको पर्दा उघारी आऊ अँगालोमा
ढुक्क होऊ अमृत सेवन गरेर विष वमन हुनेछैन

५,
मेरो असमान्य छ स्थिति मामुली अझैतक बन्न सकिन
चाहेर’नि तिम्रो विपुल सौन्दर्यको उपासक बन्न सकिन
सितारा जडेको रातो घुम्टो ओढेर तिमी डोली चढेपछी
प्रेम निस्तेजमा पर्यो प्रकाशपुञ्जको चहक बन्न सकिन

***

प्रतिक्रिया

सम्बन्धित खवर