✍️ श्रृष्टी मल्ल

म सुरुमै भन्छु यो मेरो संंस्मरण हो । कथा भने पनि हुन्छ तर यथार्थ । सय प्रतिशत यथार्थ ।
भदौ २ गतेको कुरा । काठमाडौंबाट घर फर्किनु पर्ने काम बिशेषले ढिला भयो । बानेश्वरमा छु । बस चढ्नु अगाडि पर्स चेक गरेँ । साथमा १५ रुपैयाँ मात्र रहेछ । परेन फसाद ?
एटिएम कार्ड थियो पर्समा । झिकेँ । एटिएम मेशिन खोज्न दगुरेँ । नजिकै रहेछ । कुन्नी के समस्या हो पैसा निस्किएन । अर्को आपत ।

नयाँ बानेश्वरको वरिपरि एटिएम भएको जति सबै ठाउँमा पुगेँ र पैसा निकाल्न कोसिस गरेँ । कुनैबाट पनि पैसा नस्किएन । बरु सबै एटिएमले सरी भन्न छुटाएनन् ।
हातको घडी हेरेँ । साँझको सात बजेर बीस मिनेट गैसकेको थियो । घर सूर्यबिनायक । आठ बजेभित्र पुग्नु पर्ने थियो । साथमा भाडा छैन् । एटिएम चल्दैन् । के गरौँ ?
धेरै प्रयास गरिसक्दा पनि पैसा लिन सफल नभएपछि दिक्क भएँ । अन्य उपाय पनि त थिएन । म अन्तिम कोसिस भनेर बैंक अफ काठमाण्डुको एटिएममा गएँ । अन्तिम आशाको त्यान्द्रो पनि चुँडियो । पैसा आएन बरु सरी भन्न छुटाएन यसले पनि ।

यतिबेला म नयाँ बानेश्वरदेखि मध्य बानेश्वर जाने बाटो पिपल बोट भन्दा थोरै तल थिएँ । त्यहाँ एकजना युवक देखेर मैले उहाँसँग सहयोग मागेँ ।
“तपाईँलाई तपाईँको फोनमा या ब्याङ्क खातामै पैसा पठाइ दिनेछु मलाई बिस रुपैयाँ दिनुहोस् ।”
उहाँले आफूसँग नभएको स्पष्ट पार्नु भयो । के साँच्चै थिएन त ?
होला । नहुन पनि सक्छ ।

त्यसै क्रममा एकजना सर आउनु भयो र सोधीखोजि गर्नुभो । मैले सबैकुरा उहाँलाई जानकारी गराएँ । उहाँले मलाई ढुक्क बनाउनु भयो । भन्नुभयो, “घर जाने व्यावस्था गरिदिन्छु पिर नलिनु ।”

विश्वास पुरै गर्न त सकिँन तर केही ढुक्क भएको महशुस भयो ।
उहाँले पाँच सयको नोट निकाल्दै भन्नुभो, “साट्न सक्छौ ? कतै गएर ?”
उहाँले देखाउनु भएको पाँच सयको नोट लाखौंको हो जस्तो लाग्यो । अकमक्क परेँ । कहाँ साट्नु ?
मैले साट्न सक्दिन भन्ने कुरा उहाँले बुझ्नु भएछ क्यार । आफैँ एकछिन सोच्नु भयो र नयाँ बानेश्वरमा चोक तर्फ लाग्नुभयो । म पनि केही आशा केही उदास मन बोकेर लुरुलुरु उहाँकै पछि लागेँ ।

चोक छेउमा थियो शाकाहारी भोजनालय । त्यो भन्दा थोरै माथि रहेछ एउटा कपडा पसल । उहाँ त्यो पसलमा पस्नु भयो र सोध्नु भयो, “पाँच सयको खुल्ला छ ?”
“दुईवटा पाँच सयको भए त छ” पसलेले जवाफ फर्काए ।

फेरि अलि तल चोकमा आयौँ पानीपुरी, चटपट, आइस क्रिम पसलमा । त्यहाँ पनि साट्न सकिएन । हामी नयाँ बानेश्वर चोकको छेउको कस्मेटिक पसलमा पुग्यौँ । पसलेले छेउको पसल देखाउदै “त्यहाँ छ” भन्ने ईशारा गरे । हामी अगाडि ईशारा गरिएको पसलतिर बढ्यौं ।

त्यो पसल सामान्य थियो । पसलमा पानी, पुकार, चुरोट र अरु खिच्रीमिच्री । यस्तै बेच्ने रहेछन् सहुजीले । साहुजीले हातमा पैसा लिएर बस्नुभएको थियो । मैले त्यतिबेला साहुजीको हातमा देखि सकेको थिएँ केही हरिया सयका नोटहरू । मनमा एक उज्यालो छायो अब चाहिँ पाइन्छ होला ।

तर पसलले छैन भने । मलाई झनक्क रिस उठ्यो जबकि म साहुजीको हातमा देखि रहेको छु । “यो सहर हो छोरी” आफूले आफूँलाई भनेँ र सरको पछिपछि लागे ।

उहाँले भन्नुभो “यहाँबाट थोरै अगाडि जाम, आउ” अब म के गरुँ ? अलिअलि डर अनि शङ्का लाग्यो । तै पनि पछ्याउँदै गए उहाँलाई । दाहिने पट्टी त्यही अगाडि पसेको एटिएम थियो । हेर्न नि मन थिएन त्यहाँ ।

सरले जसरी नि तिमीलाई घर जाने व्यवस्था गरिदिन्छु भन्नुभएको थियो । थोरै अगाडि गएपछि उहाँ विष्ट कलेक्सनमा पस्नुभयो । म उहाँकै पछिपछि लागे ।
त्यहाँ एकजना महिला हुनुहुन्थ्यो, सरले उहाँसँग विष्टसरको बारेमा सोध्नुभयो । आफू त्यहाँको नियमित ग्राहक भएको पनि बताउनु भयो । महिलाले दाइ हुनुहुन्न म उहाँको बहिनी हो भन्नु भयो । सरले ५ सय नोट दिएर खुल्ला माग्नुभो ।

ती महिलाले पनि खुल्ला नभएको बताइन् । हरे, क्या फसाद ।
अब के गर्ने ? जताततै के के सरले जति हुन्छ त्यति दिनुहोस्, भन्दै जिद्दी गर्नुभयो ।
महिलाले सोधिन्, “के भयो भन्नुस् ?”
यसैबेला म फ्याट्ट बोले “मलाई घर जान समस्या भयो एटिएमले पैसा दिएन ।”
ती महिलाले सोध्नुभयो “कति लाग्छ भाडा ? म दिन्छु ।”

“मलाई बीस रुपैयाँ दिनुहोस्, पुग्छ” उहाँले आफ्नो बोली नसक्दै मैले भनिहालेँ ।
हुन त भाडा पच्चीस रुपैयाँ लाग्थ्यो । मसँग पन्ध्र रुपैयाँ भएकोले बीस भनेँ । यतिबेला मैले अगाडिको पसलेलाई सम्झिएँ जसले पैसा खुल्ला गर्न समेत मानेको थिएन,
तर यहाँ फरक भयो । लाग्यो कतै त मानवता मरेको रहेनछ ।

ती महिलाले मलाई बीस रुपैयाँ दिनुभयो । अहो कस्तो खुसी भएँ । म कति खुसी भएँ तपाईँ अनुमान लगाउन सक्नुहुन्छ । मैले आभारी हुँदै उहाँलाई धन्यवाद भनेँ । सरलाई पनि धन्यवाद भनेँ र हिँडे ।

धुलिखेल–बनेपा भन्दै चिच्याइ रहेको थियो नजिकै एउटा बस । म त्यसैैमा चढेँ ।

प्रतिक्रिया

सम्बन्धित खवर