
– अनमोल कंडेल
अर्जुन,
तिम्रो टल्किरहेको वाणको तीरमा
किन देख्दैछु – हाँसिरहेको दुर्योधन ?
धृतराष्ट्रकोझैं
तिम्रो आँखामा
किन लागेको छ मोहको पट्टी ?
पहाडजस्तो भीष्मपितामहको
बुढो छातीमा ठोकिएर
किन भक्कानिएर ढलेको छ तिम्रो पराक्रम ?
द्रोणाचार्यले थापेको चक्रव्यूहभित्र
किन अल्झिरहेको छ तिम्रो धर्म ?
के तिमीले
कुरुक्षेत्रमा पुरिएका
हजारौँ अस्थिपञ्जरको मौन आवाज
सुनिरहेको छैनौ ?
जबसम्म घुमिरहनेछ – संसारको चक्र,
तबसम्म मरिरहनेछन् जन्मिएका जीवहरू…
भय, काम, र क्रोधको प्रभावमा
फसिरहने देहको कारागार बुझेका छैनौ ?
कि मानिसको मनको सानो घेराभित्र
छटपटाउछ एउटा अहंकार,
जसले आँफैलाई ठान्छ आत्मा,
र प्रकृतिलाई ठान्छ ईश्वर !
हेरत!- दुर्योधनको आँखामा टल्किरहेको भय
सुनत!- द्रुत गतिमा धड्किरहेको धृतराष्ट्रको धड्कन
कौन्तेय!
जसरी यतिका ग्रहहरूबीच
यो धरतीमा मात्रै फैलिएको छ जीवन,
पात्रता छ तिमीसँग त्यो परमतत्त्व बुझ्ने !
त्यसैले
पराक्रमी तलवारले चिरेर
चित्तलाई ढाक्ने अन्धकार,
पुग सत्यको प्रकाशमा,
जहाँ छ – ऋषिहरूले उपासना गर्ने अन्तिम सत्य,
योगीहरूले ध्यान गर्ने परमबिन्दु,
भक्तहरूले प्रेम गर्ने परमेश्वर,
र नास्तिकहरूले श्रद्धा गर्ने भौतिकताको उद्गम !
धनञ्जय,
यो प्रकृतिमा
जबसम्म जन्मिनेछन् रामहरू,
तबसम्म जन्मिरहनेछन् रावणहरू
जबसम्म सृजना भैरहनेछन् सृष्टिहरू
भैरहनेछन् प्रलयहरु
तर त्यो महारहस्य
जसको आँखाभित्र फैलिएको छ अनन्त अन्तरिक्ष
झुक्दछ जसको सामु कालहरूको पनि महाकाल
समर्पण गर उस्को विराटतासामु !
पार्थ!
उठाऊ तिम्रो गाण्डीव
नाघेर यो क्षणिक विषाद,
अतिक्रमण गर प्रकृतिका गुणहरूलाई
त्यागेर लोकका सम्पूर्ण धर्महरू
समर्पण भावमा लड सत्यको युद्द !
किनकि आज उत्रेन भने तिम्रो हृदयमा गीता
युगौँसम्म हाँसिरहनेछन् धृतराष्ट्रहरू,
र झुकिरहनेछन् दुर्योधनसामु – अर्जुनहरू
जबजब बज्नेछ मन्दिरमा घण्टी,
तब तब लाग्नेछ मान्छेहरूलाई
कि साह्रै काँतर हुने रहेछ सत्यको मुटु
पूज्न थाल्नेछ संसारले
अहंकारको मूर्ति
र
हार्नेछ
पदार्थको जडताविरुद्ध
चिन्मय आत्माले सनातन युद्ध
***
प्रतिक्रिया
-
४