
युवा कवि सुरज राना इटहरी सुनसरीका स्थायिबासी हुन् । “कल्चर अफ लभ” गजल सङ्ग्रह, सन् २०१४मा प्रकाशित गरेका उनका भुईँ मान्छेको आवाज- सामुहिक कविता सङ्ग्रह, अनुहारको भीड – सामुहिक कविता सङ्ग्रह प्रकाशित छन् । युवा पुसेता मध्येमा रुचाईएका कवि रानाको ‘जब कविता निस्कन्छ जुलुसमा’ कविता सङग्रह भर्खरै प्रकाीत भएको छ । यसै कृतिमा आधारित भई सम्पादक जीवन खत्रीले कवि रानासँग गरेका पाँच प्रश्न र कविको जवाफ ;
१, जब कविता निस्कन्छ जुलुसमा कवितासङ्ग्रहको बारेमा छोटकरीमा यसको परिचय गराईदिनुस न ।
– पाँच खण्डमा बिभाजित ‘जब कबिता निस्कन्छ जुलुसमा’ सङ्ग्रहभित्र जम्मा ४४ थान कविताहरू समाविष्ट छन् । काव्य यात्राको लगभग १२ वर्षकोबीच लेखिएकन कविताहरू दर्शन, विचार, विज्ञान, समाज, प्रेम, राजनीति आदि बिषयका पेरिफेरिमा रहेका छन् । कृतिलाइ साङ्ग्रिला बुक्सले प्रकाशनमा ल्याएको हो ।
२, यहाँको सङ्ग्रहले भन्न खोजेको जुलुसको अर्थ कुन हो? एउटा कविले आफ्ना कविताहरू जुलुसमा पठाउने हो कि? पाठकको दिलदिमागमा जुलुस निर्माण गर्न नेतृत्वदायी भूमिका खेल्ने कविता लेख्ने हो?
– म एक साधारण कविता लेख्ने मानिस भएकोले मलाई यस्ता जटिल कुराहरू खासै थाहा हुँदैन् । वास्तवमा कविता कस्तो लेख्नु पर्छ भन्ने नै मलाई थाहा हुँदैन । कहिलेकाहीँ कविहरूबीच यस्तै किसिमको विषयमा बिवाद भै रहेको थाहा पाउँदा पनि म केही बुझी रहेको हुँदिन। भनौ न म हल्का लद्दु टाइपको छु। जे होस्, आफूलाई लागेको कुरा स्पष्ट खुलेर लेख्नु पर्छ भन्ने कुरामा चाहिँ बिश्वस्त छु। हजुरले प्रश्नमा उद्दृत गर्नु भए जस्तो कविताको शीर्षक यस्तो राख्नुमा मेरो केही हिडन इन्टेन्सन केही छैन् । बस मलाइ यो नाम आकर्षक लाग्यो र सामान्य तरिकाले यसैलाइ चयन गरेको हुँ।
३, नेपाली कविताहरू कम पढिन्छन् । कृतिको चर्चा र बजार हेर्ने हो भने पनि तेस्तै लाग्छ । खासमा कविहरू कमजोर हुन् कि पाठकलाईनै प्रश्न गर्नुपर्ने हो ?
नेपालमा पठन संस्कृतिको अवस्था गर्व गर्न लायक नभएको साँचो हो। कविता मात्र होइन समग्र साहित्य नै कम पढिन्छ यहाँ। पुस्तकको बिक्रि सङ्ख्यालाई आधार नमान्ने हो भने अन्य साहित्यिक विधा भन्दा बरु कविता नै बढि पढिन्छ।यो अवस्थामा कवि या पाठक कसैलाई दोष दिन मिल्दैन। राम्रा राम्रा कविहरू गहिरो अध्ययन ,पृथक चेतना र लामो साधना सहित आइ रहेकै छन् । पाठकहरू पनि कविताको गुणप्रति सचेत भएर पढीरहेकै छन्। बरु कविले लेखेको कविता पाठकसम्म सहज रुपमा पुग्न र पुर्याउनमा केही गृहकार्यको कमी रहेकोजस्तो महशुश गर्छु।
४, समाजिक सञ्जालहरूमा तपाईँका कविताहरू चर्चित थिए । तर कविता सङ्ग्रह त धेरै पछि आयो नि किन? साथै एउटा कवि सङ्ग्रहमा किन आउनु पर्छ? सङ्ग्रह आएपछि र आउनु अघिको आफैँमा केही फरक पाउनु भयो?
मेरो कविता लेख्ने प्रकृया असाध्यै बोझिलो छ। मनमा केही कुरा लाग्यो भन्दैमा लेखी हाल्दिन् । कुनै बिषयले मलाई असाध्यै पिरोलेर, छटपटाहट भएर थामी नसक्नु भएपछि मात्र लेख्न बस्छु। क्राफ्ट पनि मलाई सधै युनिक चाहिन्छ। बिम्ब पनि मलाई नया चाहिन्छ। बिषय पनि हरेक कवितामा अलग नै चाहिन्छ। कविता लेख्नको लागि एकदमै यस्ता धेरै चिजहरू मिल्नु पर्ने प्राविधिक बाध्यताहरू आफैले सृजना गर्दो रहेछु। त्यसकारण मैले आवश्यक सङ्ख्यामा कविता लेख्न नसकेकै कारणले सङ्ग्रह ढिलो आएको यथार्थलाइ इमानदारपूर्वक स्विकार्नु पर्ने हुन्छ। सङ्ग्रह ल्याएपछि मात्र कवि भईन्छ भन्ने भाष्य चैँ मलाई ठिक लाग्दैन् । मुख्य कुरा कविले इमान्दारपूर्वक कवि ता लेख्नु पर्छ भन्ने हो।
सङ्ग्रहको रुपमा प्रकाशित हुँदा पाठकलाई सबै कविता एकै ठाउँ पढ्न पाउने सुबिधा प्राप्त हुने भयो साथै कविको पनि कविताहरुको आधिकारिक डकुमेन्टेसन हुने भयो। बाँकी सामाजिक सन्जालमा हुने चर्चा या अचर्चा महत्वको बिषय होइन।
५, नेपाली कविताका कृतिहरू हज्जारौँ छन् । तपाईँ नवीन जोश र जाँगर सहित आउनु भएको एउटा युवा कवि पनि हुनुहुन्छ । जब कविता जुलुसमा निस्कन्छ कविता सङ्ग्रह किन पढ्नु पर्छ पाठकले?
मेरो कृति पाठकले यस यस कारणले पढ्नु पर्छ भनेर मैले आफै जिकिर गर्न त मेरो एथिक्सले दिँदैन । त्यो हाँस्यास्पद नै होला। तर कवपतालाइ लिएर मलाइ यति चाहिँ कन्फिडेन्स छ कि कृति पढेर दु:खी पक्कै बन्नु पर्दैन् ।
***
प्रतिक्रिया
-
४