खोज पत्रकारिता, अनुसन्धानमूलक लेखन, डकुमेन्ट्री निर्देशन र भाषानुवादका निम्ति प्रसिद्धी कमाएका लेखक हुन्- मोहन मैनाली । उपल्लो थलो, मान्ठ डराएको जुग, देखेको देश जस्ता निबन्ध उनका रचना हुन् । उनले आकाशमुखी निबन्ध पुस्तकको अनुवाद गरेका छन् । जोगिमाराका ज्यूँदाहरू, पुनेको प्यान्टलगायत चर्चित भिडियो डकुमेन्ट्री पनि उनको केही महिना अघि इतिहासको खोजी गर्ने कृति मुकाम रणमैदान प्रकाीत भएको थियो । उक्त कृति मदन पुरस्कारको श्रेष्ठ सूचिमा समेत परेको छ । यही कृतिसँग सम्पादक जीवन खत्रीले लेखक मोहन मैनालीसँग गरेका पाँच प्रश्न र उनका जवाफ;

१) मुकाम रणमैदानको बारेमा परिचय गराईदिनुस न, जसलाई पढेर पाठकले यो कृति छनोटका लागि सहयोग पुगोस् ।

‘मुकाम रणमैदान’ मा नेपालले लड्नु परेको सबैभन्दा ठूलो लडाइँको वयान गरिएको छ जुन आजभन्दा २१० वर्ष पहिले शुरू भएको थियो । यो किताब मूलतः रणमैदानमा खटिएका विभिन्न दर्जाका सिपाहीले लडाइँका वेला आफ्ना कमान्डरलाई पठाएका र कमान्डरहरूले रणमैदानमा खटिएका सिपाहीलाई पठाएका चिठीमा आधारित छ । यस हिसाबले यो किताब लडाइँ लडी जान्नेले गरेको लडाइँको वयान हो । पछि कथेर लेखिएको होइन । सो लडाइँबारे यसअघि बाहिर नआएका जानकारी पनि यसमा छन् ।

यो किताब लेख्नका लागि दुबैतिरका सिपाही र कमान्डरले लेखेका चिठी मैले पढेँ । त्यसैले यसमा दुबै पक्षले लडेको र भोगेको लडाइँको चित्र प्रस्तुत छ । यसको अर्थ हो- यसमा यो लडाइँका समग्र पक्ष समेटिएका छन् ।

२) मुकाम रणमैदान मदन पुरस्कारका लागि छनोटमा समेत परेको छ । कस्तो महशुस गर्नुभएको छ? भोलि पुरस्कारको लागि दाबेदार हुँदै गर्दा यो पुरस्कारसँग जोडिँदाको फरकपन केही हुँदो रहेछ?

मलाई के लाग्छ भने जुन वर्ष म किताब लेख्छु त्यस वर्ष किताबलाई पुरस्कार दिने चलन छ भन्ने कुरा मैले भुल्नुपर्छ । किनभने बाँकी दुनियाले मेरो किताबलाई हुनसक्ने जतिको नराम्रो ठाने पनि मलाई मेरो किताब अरूको भन्दा राम्रो लाग्छ । किताबलाई पुरस्कार दिने चलन छ भन्ने सम्झिएँ भने त्यो पुरस्कार मैले पाउनुपर्छ भन्ने लाग्छ । तर पुरस्कार दिने प्रयोजनका लागि श्रेष्ठ/सर्वश्रेष्ठ किताब छान्ने काम अरूलाई नै जिम्मा दिने चलन छ । उनीहरूले मेरो अर्थात् ‘मैले लेखेको’ भन्ने एक मात्र मापदण्डलाई अस्वीकार गरेर आफैँले तय गरेका मापदण्डले नापेर/जोखेर सर्वश्रेष्ठ किताबको छनोट गर्छन् । त्यसैले मेरो किताब नछानिने सम्भावना शतप्रतिशत पनि हुनसक्छ । यसरी पुरस्कार नपाउँदा म निरास हुन्छु, पुरस्कारसँग क्रुद्ध हुन्छु ।

अहिले मेरो किताब मदन पुरस्कारको ‘श्रेष्ठ सूची’मा परेको खबर सुन्दा म दङ्ग परेको छु । यो खबर प्रकाशित भएपछि मैले पाएका प्रतिक्रियाले मलाई अझ दङ्ग पारेका छन् । मेरो किताबसँगै अरू चारवटा किताब पनि छानिएका छन् । त्यसमध्येबाट एउटा किताबलाई पुरस्कार दिने चलन छ । अर्थात् मेरो किताबले पुरस्कार नपाउने सम्भावना असी प्रतिशत छ । त्यसैले मैले आफू पुरस्कारसँग जोडिएको कल्पना गर्नु हुँदैन ।

३) यहाँका यस अघि “मान्ठा डराएको जुग”, “उपल्लो थलो”, “देखेको देश” र अनुवाद कृति “आकाशमुखी” लगायतको चर्चित कृतिहरू आईसकेका हुन् । “मुकाम रणमैदान” इतिहासको दस्ताबेज समेत भन्छन् केही पाठकहरू । मुकाम रणमैदानमा इतिहासको लेखन गर्दा यहाँले देख्नु र भोग्नु परेका सास्ती र सत्यको खोजको थोरै चर्चा गरिदिनुस न ।

इतिहास मेरा लागि नयाँ विषय हो । दुईसय वर्षभन्दा पुराना कागजमा भर पर्नु पर्ने काम यसै पनि अप्ठ्यारो हुन्छ । तीमध्ये कति कागज आजसम्म पनि गोप्य राखिएका छन् । ती पढ्ने अनुमति लिन अलि असजिलो भयो । त्यति बेलाका अक्षर, शब्द, वाक्य, प्रसंग आदि बुझ्न थप मेहनत गर्नुपर्‍यो । नेपाली चिठीमा उल्लेख भएका विक्रम संवतका तिथि र अंग्रेजले लेखेका ग्रेगोरियन क्यालेन्डरका तारिखलाई विक्रम संवतका गतेमा बदल्नुपर्‍यो । यो पनि अलि अप्ठ्यारै काम रहेछ ।

नेपालीले लेखेका लडाइँसम्बन्धी कागजात अनेक पोकामा छरिएर रहेका छन् । अंग्रेजले लेखेका केही चिठी सजिलै भेटिए । केही चिठी पाउन अलि मेहनत गर्नुपर्‍यो । इतिहास मेरो विषय नभएकाले यस विषयमा पहिले कसकसले लेखिसकेका छन् भन्ने पत्ता लगाउन गाह्रो भयो । यस्ता केही किताबबारे मैले थाहा पाइनँ ।

यो लडाइँको मैदान ठूलो थियो- पूर्वमा टिस्टादेखि पश्चिममा सतलज नदीसम्म । यसका हर्ताकर्ता पनि धेरै थिए । लडाइँमा सोझै होमिएका इस्ट इन्डिया कम्पनी र नेपालका विभिन्न तहका अधिकारी त भइहाल्ने भए । घुमाउरो पाराले जोडिएका चीनका बादशाहदेखि नेपालले धपाएका पहिलेका राजारजौटा र हिन्दुस्तानका राजासमेत यसमा संलग्न थिए ।

समय पनि अलि लामै थियो । त्यसैले यो रणमैदानको मन्चको लम्बाइ, चौडाइ र समयका दृष्टिले फैलावट बुझ्न र बुझिने गरी लेख्न पनि अलि गाह्रो भयो ।

४) हामीले हाम्रा इतिहासमा गर्व गर्ने ठाउँ असाध्यै धेरै छन् । तर आज हाम्रो अवस्था कहालीलाग्दो छ । दुई ठूला छिमेकी राष्ट्रहरू र नेपाललाई तुलना गर्दा धेरै कुरा सहजै अनुमान हुन्छ । पुर्खाहरूको त्यो विरासत र आजको अवस्थालाई कसरी तुलना गर्नुहुन्छ ?

हो, अरूको जस्तै हाम्रो इतिहासमा पनि हाम्रो शिर ठाडो पारिदिने र निहुराइदिने ठाउँ धेरै छन् ।पहिलेका राम्रा कुरालाई निरन्तर अघि बढाउने र नराम्रा कुरालाई नहिच्किचाइकन त्याग्ने समाज मात्रै अघि बढ्न सक्छ । तपाईँले भन्नुभए झैँ यस विषयमा हामी कमजोर छौँ । कमजोर रहिरहन जोडबल गरिरहेका छौँ ।

५, मुकाम रणमैदान तिरै फर्कौँ । यो पुस्तक नपढ्ने पाठकले के छुटाउँछ होला?

संशोधन-मण्डलको प्रकाशन अभिलेख-संग्रह (एघाह्रौँ भाग) को भूमिका ‘एउटा बाटो रोज्नुपर्छ’ मा नयराज पन्तले माघको एउटा भनाइ राख्नुभएको छः भोक लागेको वेलामा व्याकरण खानु हुँदैन । तिर्खा लागेको वेलामा काव्यको रसले तिर्खा मेटिंदैन । विद्या पढेर कसैले आफ्नो कुलको उद्धार गरेको छैन । कला केही काम लाग्दैनन् । बाबु ! पैसै कमाऊ, पैसै कमाऊ ।

त्यसपछि उहाँले क्षेमेन्द्रको भनाइ पनि राख्नुभएको छः …माघको यो उक्ति अवास्तव अनुचित तथा उल्टो कुरो हो । गरिबी र दुःखले गर्दा धैर्य हराएको हुनाले यस्तो लेखिएको हो । किनभने सारा ऐश्वर्य जुटाइदिने विद्याले मात्र कुलको उद्धार गर्न सक्छ, अरूले सक्दैन ।

मुकाम रणमैदान पढ्दा पाठकको भोक मेटिंदैन, तिर्खा मेटिंदैन, कुलको उद्धार पनि हुँदैन् । तर पनि मुकाम रणमैदान जस्ता आफ्नो देशबारे बताउने किताब पढ्नुपर्छ । किनभने आजभोलि मान्छेको अस्तित्व देशसँग यसरी जोडिदिएका छन् कि देशविना उसले सास फेर्न सक्दैन । देश चलाउनेले भन्छ- तँ जन्मेको ३५ दिन भित्रमा त्यसको प्रमाणपत्र मबाट लिनू । बसाइँ सरेको प्रमाणपत्र लिनू । बिहे गरेको प्रमाणपत्र लिनू । मरिस भने त्यसको पनि प्रमाणपत्र लिनू । आफूले कमाएको पैसा वचत गर्न ब्यांक गयो त्यहाँ ‘तेरो देश खुल्ने प्रमाणपत्र देखा’ भन्छ । प्लेन चढ्न गयो त्यसै भन्छ ।

विदेश जान लाग्दा मानिसको शरीरले मात्र पुग्दैन उसको देशलाई पनि उभ्याउनुपर्छ । देश कृत्रिम तर अनिवार्य कुरा हो जुन मेरा बाजेबज्यैका पालासम्म थिएन । ‘सिंह जहाँ बस्यो त्यहीँ हो सिंहाशन ।’ म जहाँ बसेँ त्यही हुनुपर्ने हो मेरो देश । तर त्यसो भन्न पाइँदैन । देश भन्ने अवधारणाले हामीलाई यसरी गुजुल्ट्याएको छ कि वीरगञ्जमा ट्युबवेल सुक्दा हामीलाई चिन्ता लाग्छ तर त्यसभन्दा केही किलोमिटर तल्तिर सुगौलीका समस्याबारे हामी मतलब राख्दैनौँ । अरुण नदीभन्दा एक डिल पर्तिर तमर नदीमा केही समस्या पर्दा हामी चिन्ता गर्छौँ तर तमरभन्दा एक डिल पर्तिर टिस्टामा आएको बाढीले हामीलाई छुँदैन । पश्चिम सिमानाका छेउमा पनि हामी यसै गर्छौँ । भौगोलिक अवस्था उही छ, मान्छे उस्तै छन्, रहनसहन उस्तै छ, भाषा उही छ। नजिकै पनि छन् तर हाम्रो दिमागले तिनलाई अलग अलग किसिमले ब्यबहार गर्छ । हामीलाई यसो गर्न लगाउने घटना हो- १८७१-७२ सालमा नेपाल र अंग्रेजका बिचमा भएको लडाइँ जसले नेपालको सिमाना झण्डै झण्डै अहिलेको स्वरुपमा तोकिदियो । त्यस घटनाबारे थाहा नपाउनु भनेको ‘सारा ऐश्वर्य जुटाइदिने विद्या’ सँग मतलब नराख्नु हो । आफ्नो र आफ्नो कुलको उद्धार गर्न सक्ने एक मात्र उपायको बेवास्ता गर्नु हो ।

***

प्रतिक्रिया

सम्बन्धित खवर