– सुमन तिमल्सिना

गजल १,
शिर उठाउ भन्दा, शिर झुकाउनै खोज्ने लाई के भनौं
आफ्नो डर मेटाउन अरूको खुट्टा ढोग्ने लाई के भनौं

सम्झाउने,गल्ती देखाइदिने बा आमालाई दुस्मन मान्ने
गल्ती लुकाइ दिने मात्र, आफ्नो सोच्ने लाई के भनौं

आउँदै थिए सिन्दुर,पोते किनेर, तिम्लाई हतार भएछ
सधैँ खुसी हुनु,अब अरुकै घुम्टो ओढ्ने लाई के भनौं

बसेर छलफल गरेको भए,समस्याको हल निस्कन्थ्यो
दिल दुखाई, पत्थर सामु गुनासो पोख्ने लाई के भनौं

आउँछन् गाली गर्छन्,लात्ती हान्छन्, तै पनि मौन बस्छु
बा प्रति शब्दै छैन,मेरै जीवनको भार बोक्नेलाई के भनौं

गजल २,
छन,मन्दिरमा देवता भन्ने जात,फरक पर्दैन
तिमी गर्दै छौं पत्थर सँग बात, फरक पर्दैन

मान प्रतिष्ठा, इज्जत ताली, विपक्षीको हुँदा
मेरो हार भयो,अब दिएर सौगात,फरक पर्दैन

तिमी हुनु र न हुनुमा, मतलब लाग्नै छोड्यो
हुन त अन्धोलाई के दिन के रात फरक पर्दैन

पाप भै सक्यो, दिल कुल्चिएर मन्दिर जाँदा
अब पश्चातापमा जति जोड्नु हात,फरक पर्दैन

सुख दुःख आइरहन्छ,न हास्न सक्छु न त रुनै
समयको यो स्थानमा हर्ष विस्मात,फरक पर्दैन

स्वार्थमा जन्मिएको,भ्रममा हुर्किएको सम्वन्धले
अवश्य एक दिन निम्त्याउँनेछ घात,फरक पर्दैन

***

प्रतिक्रिया

सम्बन्धित खवर