✍️ सुमन तिमल्सिना

 

मुक्तक – एक
भेट्नुभएछ कोहिनुर परदेशीको सिरानीमा
अरू पनि होलान् जरुर परदेशीको सिरानीमा
मरेका रहर,भत्केका सपना चाहिँ भेट्नुभएन ?
नियालेर हेर्नुस् हजुर परदेशीको सिरानीमा ।

मुक्तक – दुई
तिमीले पठाएको प्रेम पत्र बाटैमा अड्किएला
काँडेतार छन् यत्र-तत्र बाटैमा अड्किएला
यो शहर हो मित्र ! यहाँ पैसाले माया किनिन्छ
घाँटी हेरेर हाड निल नत्र बाटैमा अड्किएला।

मुक्तक – तीन
हजार हो या सय बुझ्न सकिएन
माफ गर्नुस महासय बुझ्न सकिएन
ढुङ्गामा टेकेर ढुङ्गा पुज्दै हुनुहुन्छ !
के हो हजुरको आसय बुझ्न सकिएन।

मुक्तक – चार
उज्यालोमा बसेर झिलमिलमा बसेर
नियाल्दै रहेछन् डिल–डिलमा बसेर
सोर्है आना ती मेरा आफ्नाहरू हुन्
अब छुरा प्रहार गर्छन यो दिलमा बसेर।

मुक्तक – पाँच
गोप्य राख केही बात समाजको अगाडि
नसमाऊ हातमा हात समाजको अगाडि
भोली तिमीलाई पनि देश निकाला हुन्छ !
आयो भनेँ तिम्रो जात समाजको अगाडि।

प्रतिक्रिया

सम्बन्धित खवर