– नारायण  तिवारी

बाले भन्नुभएको थियो— “तेरो साथी होइन त्यो ? हेर् त त्यसले कत्रो बिल्डिङ बनायो । त्यो खर्दार मात्रै होइन ? तैँले अधिकृत भएर के नापिस्, नाथे !”

रमेशले काठमाडौँमा बिल्डिङ बनाएको थियो— बाले देख्नुभएको थिएन, सुन्नुभएको थियो । पत्रिकामा साना कर्मचारीका ठूला महल भनेर छापिएको महलको रङ्गीन फोटो बालाई लगेर देखाइदिएँ ।

अब बाले फोटो हेरेर र रमेशको ‘कमाइ’ को समाचार पढेर के भन्नुहुने हो कुन्नि ? पसिनाको कमाइमा सन्तोष मान्ने मलाई नाथे भन्नुहुने हो कि उसलाई ?

मेरी श्रीमतीसित मेरो सधैँ ठाकठुक पर्थ्यो ।

“यसो अलिअलि त खाए नि हुने ! अरूका स्वास्नीका कत्रा फुर्ती छन् । हाम्रा लोग्ने ‘हरिश्चन्द्र’ भएपछि कसको के लाग्छ !” उसका आफन्तसित यही कुरा, छरछिमेकसित यही कुरा अनि मसित यस्तै झगडा— रातोदिन ।

‘फ्ल्यास ब्याक’ आउँदै थियो र म सोच्दै श्रीमती भएतर्फ पाइला अघि सार्दै थिएँ ।
मनमा उत्साह थियो— हातमा थियो उही पत्रिका ।

मैले बिहानै प्रातःभ्रमणमा निस्किँदा भ्रष्टाचारीहरूलाई समातिएको खबर थाहा पाइसकेको थिएँ । हकरहरू जोडजोडले सुतेका मानिसहरूलाई मानौँ जगाउँदै पत्रिका बेचिरहेका थिए ।
“अब मुलुकको मुहार फेरिने भो ! खबर आयो, लौ हेर्नुहोस्— अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा भ्रष्टाचारीहरूका महलमा छापा ।”

मैले प्रातःभ्रमणबाट घर फिर्दा दूध किन्ने सधैँको रुटिनलाई तिलाञ्जली दिँदै पत्रिका किनेँ— एउटा होइन दुई–दुईवटा । सबैमा उही खबर थिए । म चाहन्थेँ उही विषयका थुप्रै खबरहरू पढ्न । त्यसै क्रममा मेरा खुट्टा मानौँ दौड लगाइरहेथे घर पुग्न, पिताजीलाई भेट्न, पत्रिका देखाउन । उहाँले इसारा गरी लायक ठहर्याउनुभएका मानिसहरूका, उहाँले भन्ने गर्नुभएका ‘कमाइ’ को भन्डाफोर देखाउन । लु त अब कसरी तिनलाई लायक छोरा भन्नुहोला र मलाई र मजस्तालाई नालायक ?

तिनका पिताजीहरूले त्यही भ्रष्ट कमाइबाट खुट्टा हल्लाईहल्लाई खाएकोलाई सुख र आफूले बुढेसकालमा पनि काम गरेर गुजारा गर्नुपरिरहेकोलाई दुःख ?

लौत अब कसरी भन्नुहोला— ती भ्रष्टाचारीहरूका मातापिता भाग्यमानी र म र मजस्ता इमानदार छोराहरू जसले मीठो बोलीवचनबाहेक आर्थिक रूपमा कुनै लछारपाटो लाउँदैनन् (बाका शब्दमा) तिनका मातापिता अभागी ?

जसले रेसमी वस्त्रमा मातापितालई ढाकिदिन्छन् ती सपूतहरू र जसले दसैँमा खाकी वस्त्रको एकसरो लुगाबाहेक केही दिन सक्दैनन् ती कपूतहरू— लौत अब कसरी भन्न सक्नुहोला ?

मलाई पत्रिका हातलाग्नु मानौँ कुनै चिट्ठा हातलाग्नुझैँ भएको थियो । मेरो स्वाभिमानी स्वभावलाई पत्रिकाले लात्ताले किचेको थिएन बरु धेरै माथि उठाइदिएको थियो । म खुसीले ढक्क फुलेको थिएँ, फुल्दै गएको थिएँ ।

चारैतिरबाट— यहाँसम्म कि पत्नीबाट, छोराछोरीबाट अपहेलना सहँदासहँदा धेरै जीर्ण–शीर्ण भइसकेको थिएँ । नजाने कुन दिन टुट्ने थिएँ— त्यो मै जान्दिनथेँ ।

अचानक निभ्न आँटेको दियोमा कसैले तेल भरिदियो । धन्यवाद ! अख्तियारका आयुक्तज्यू ! धेरै धन्यवाद ! तपाईंंले र तपाईंंका सहयोगीहरूले हाम्रो टुट्न लागेको मनोबललाई उठाइदिनुभएको छ । मसानघाटमा मात्र अन्त्य हुने जस्तो भइसकेको इमान र आचरणलाई बाँचेकै बेला कदर हुने आभास दिलाइदिनुभएको छ ।

नरोकिनुहोस्— अघि बढ्दै जानुहोस् आयुक्तज्यूहरू ! म र मजस्ताको शुभकामना छ ! बधाई छ !!

पत्रिका बालाई देखाएँ । बाका प्रत्युत्तर सम्भाषण पनि सुन्ने धैर्य थिएन मलाई । म मानौँ भ्रष्टाचारीमाथि कारबाही भएको कारणले प्रफुल्ल भएको थिइनँ, थिचिएको, किचिएको र मृत्युतुल्य भएको इमान सम्मानित भएको अनुभूतिले हौसिएको थिएँ । बाको जबाफ सुन्ने पनि मलाई फुर्सद थिएन । मलाई त सधैँभरि गनगन गरिरहने आफ्नी पत्नीको यो खबरले उत्पन्न गर्ने अनुहार पढ्ने हतार थियो । सधैँको कचकचले अब विराम पाउने आशा थियो ।

कर्के नजर र सधैँको औँसी समाप्त भई दुःखमा पनि धैर्य गर्ने पूर्णिमाका जून मेरो घरमा अब सधैँ झुल्किनेछन् भन्ने ‘रमरम’ कौतूहल थियो ।

आफ्नो कोठामा पाइला राख्नेबित्तिकै झस्किएँ— श्रीमती त रोइरहेकी पो छिन् ।
मैले भन्दा अघि नै तिनका कुनै आफन्तले त्यही पत्रिका ल्याइपुर्याइसकेको रहेछ ।

“तिमी पत्रिका हेरेर खुसी हुन्छ्यौ होली भनेको त झन् रुँदै पो छ्यौ ?”

“होइन तपाईंंले चिन्नुभएन त्यो मुख छोपेको फोटो ? मामा क्या मामा ।”

म झस्किएँ— “को मामा भन्या ?”

“एउटा मामा त छन् मेरा ! मधुवन मामा ! भन्सारमा हुनुहुन्थ्यो नि ।”

“ए साक्खै मामा हगि ! एक चोटि त भेट भाको हो मेरो !” मेरो मुखबाट व्यङ्ग्य निस्कियो ।

एक चोटि यिनै श्रीमतीको जोडले सरुवाका लागि भन्न म पुगेको थिएँ— उनै कंस मामालाई ।

मलाई आफू उनको साक्खै भान्जीको श्रीमान् भएको कारणले ज्वाइँ भएको नाता प्रमाणित गर्न साह्रै कठिन परेको थियो ।

बोल्न पनि पैसा लाग्छ भनेजस्तै गरी भनेका थिए— “म फोन गरिदिउँला !” अनि मेरो खुट्टामा हेरेका थिए । जुत्ता बाहिर खोलेर भित्र पसेको मेरो मोजा गनाएको थियो उनलाई ।

मेरो विपन्नताको जुत्ता खियाइमा मोजा गनाउनु कुनै ठूलो कुरा नभएको आत्मसात् गर्न सक्दैनथे ! धन र कुर्सीको मातले उनी आफू भएर मात्र सोच्ने कोटीमा दर्ता भइसकेका थिए । अरू भएर सोच्न सक्दैनथे ।

छ्या, छ्या, छ्या ! तिनै भ्रष्टाचारी कंस मामाको अपराधमा सहानुभूति देखाउँदै छे कमला ।

मलाई दिगमिग लाग्यो । घृणाले मुखभरि थुक भरियो । झ्यालमा पुगेर पिच्च थुकिदिएँ ।

“ए कमला ! म तिम्रो मामाकहाँ जाबो सरुवाका लागि पुग्या होइन ? के सरुवा गरिदिएका थिए तिनले ? चिन्न त गाह्रो मानेका थिए— थाहा छैन तिम्लाई । फेरि म नियमभित्रकै सरुवा भन्दै थिएँ । म दुर्गममा जति बस्नुपर्ने त्यसको दोब्बर बसिसकेको भन्दै थिएँ । तिमीले आफैँ भन्यौ— मामा बद्लिनुभएको रहेछ, पहिले यस्तो हुनुहुन्नथ्यो । केटाकेटीले भनेको होइन— अब आमाको मामाघर कहिल्यै नजाने । पैसाले मात्तिएका त्यस्ता आफन्त कारबाहीमा परे भनेर रुने तिमी ? छ्या, छ्या, छ्या !” मैले लामै भाषण पिलाएँ ।

उनीभित्र पनि मृत रहेको ईख ब्यूँतिएछ । उनको अनुहारमा परिवर्तन आएको मैले महसुस गरेँ ।

मैले फेरि अर्को बाण चलाएँ— “ज्वाइँले के त्यो इँटालाई लिपेर टिनको छाना हाली चर्पीघरजस्तो घर बनाएका लुम्रे–झाम्रे भएर पनि हुन्छ, पैसा कमाउनुपर्छ पैसा— भन्नुभयो भनेर तिमीले नै मामाले साह्रै खसालेर त्यसो भनेकामा चित्त दुखाएकी होइन ?”

फेरि भनेँ— “मैले सडकमा साइकल कुदाएको देखेर ‘कस्ता लाछी ज्वाइँ परेछन् अधिकृत भएर पनि सडकमा साइकल कुदाएका, लाज पनि नलाग्ने’ भने भनेर तिमीले नै मलाई सुनाएकी होइनौ ?”

उनलाई मेरो कुरा घत लागेछ । मौन थिइन् तर छिनभर अघिको रुन्चे मुहार केही न केही बलेछ । आगो नै भएर नबलेकी भए पनि उनीभित्र फिलिङ्गो अवश्य बलेछ । सन्तोषको निःश्वास तानेँ मैले । कमला अब औँसीको अँध्यारो नभएर पूर्णिमाको उज्यालो हुनेछे । मेरो आत्मबललाई डगाउने होइन झन् मजबुत तुल्याउने सहयात्री हुनेछे ।

समय बित्दै गयो । हाम्रो दैनिकी चल्दै रह्यो । कमलाको असन्तोषी स्वर पुनः झाङ्गिन थाल्यो । मैले महसुस गर्न थालेँ ।

“खोइ ! तपाईंंको त्यो अख्तियार ? कता हरायो आजकाल ? बाइस जनालाई कारबाही गर्न बाइस महिना लाग्छ भने अरूलाई कहिले कारबाही गर्ने ?” उनले मानौँ मेरो आशावादितालाई ङ्याक्न खोजिन् ।

“भ्रष्टाचारीलाई कारबाही भएर तपाईंंको इमानले कहिले पाउने पुरस्कार ?”

मलाई लाग्यो उनी भन्दै छिन्— इमानको कमाइले कहिले जिन्दगी सुखी बन्छ ? इमानको कमाइले कहिले ओठमा हाँसो खुल्छ ?

मलाई लाग्यो— सन्तोषी भएर पनि त भएन । हावा खाएर मात्र पनि त बाँच्न सकिँदैन । पैसा त चाहियो–चाहियो !

भ्रष्टाचारलाई समुलमा नष्ट पारे त हो नि— इमानले पनि मोटरमा हुइँकिन पाउने !
तर कहिले ?

के ती बाइस जना मात्रै हुन् त भ्रष्टाचारी ?

यतिका दिन बितिसक्दा पनि किन अरूहरूलाई ठिँगुर्याउन नसकेको ?

के भ्रष्टाचारीमाथिको कारबाही नाटक मात्रै हो त ? राजनीति मात्रै हो ? म चिन्तित हुन्छु ।

टेलिभिजनमा खबर आइरहेछ— अख्तियारले भ्रष्टाचारी भनिएका व्यक्तिलाई धरौटीमा रिहा भएपश्चात् उनका इष्टमित्रहरूले फूलमालाले स्वागत गरे ।
++

प्रतिक्रिया

सम्बन्धित खवर