निर्भीकजंग रायमाझी लेखन, पत्रकारिता र अनुवादमा सक्रिय छन् । हाल बेलायतमा अध्ययनरत उनको पहिलको कविता सङ्ग्रह त्यसरी त कहिल्यै सोचिएन हालै बजारमा आएको छ । यसैसँग सम्बन्धित रहेर सम्पादक जीवन खत्रीले कवि निर्भीकजंग रायमाझीलाई गरेका पाँच प्रश्न र उत्तर ।

१. ‘त्यसरी त कहिल्यै सोचिएन’ कवितासंग्रहको बारेमा छोटकरीमा बताइदिनुस न । जुन पढेर पाठकले तपाईंको किताब बारेमा जानुन् ।

– ‘त्यसरी त कहिल्यै सोचिएन’ कवितासंग्रह मेरो एक दशकको जीवन–साक्ष्य हो । पछिल्लो एक दशकमा मैले लेखेका कविताहरू यसमा समेटिएका छन् । जम्मा पाँच भागमा विभाजित यो कवितासंग्रहमा पचास थान कविता समेटिएको छ ।

२. केही वर्षदेखि नेपालबाहिर हुनुहुन्छ । नेपालबाहिर बसेर पनि नेपालकै समयलाई कवितामा उधिन्नु कतिको सहज हुने रहेछ । वा त्यसैप्रति सोच आउनुको कारण के हुँदो रहेछ ?

–म पढाइको सिलसिलामा एक वर्षदेखि युके बस्दै आइरहेको छु । यो मेरो लागि नितान्त नयाँ अनुभव हो । खास नढाँटी भन्नुपर्दा, स्वदेश वा विदेश भनेको भावनामात्र हरेछ । तपाईं आफ्नै देशमा बसेर पनि विदेशमा भएको अनुभव गर्न सक्नुहुन्छ । अथवा विदेशमा भएर पनि स्वदेशकै अनुभव गर्न सक्नुहुन्छ । यो अनुभूतिको कुरा हो । तर अलिक यथार्थमा भन्दा विदेश त विदेश नै हो । त्यहाँ अर्कै भाषा, भेष, परिवेश हुन्छ । त्यसमा बाँचेर नेपाली भावनाको कविता लेख्न अलि कठिन नै छ । यद्यपि नेपालमा भइरहेका घटनामा निरन्तर लेखिरहेको, बोलिरहेको हुनाले नेपालको समयसँग टाढिएको छैन । नेपाली मनसँग टाढिएको छैन ।

३. कवितामा उदाउँदै गरेको कवि, पत्रकारितामा कलम दौडाउँदै गरेको पत्रकार नेपाल छाडेपछिको दैनिकी फेरियो । त्यसलाई कवितामा उतार्नु भएको छ ? वा त्यो पृष्ठभूमिमा कविताको बिम्ब कसरी खेल्दो रहेछ मनमा ?

–विदेश गएपछि दैनिकी तल–माथि त भयो, यद्यपि मैले लेख्न छाडेको छैन । कवितामात्र नभई सम्भव भएसम्म लेख, निबन्ध वा रिपोर्टिङहरू पनि लेखिरहेको हुन्छु । तर नेपालमा जस्तो प्रत्येक दिन लेख्ने भन्ने कुरा उता सम्भव छैन । तर यहिबेला युकेमा रहेको नेपाली समुदायलाई केन्द्रमा राखेर ‘नेपालीन्युज युके’ नामक अनलाइन सुरु गरेका छौं । त्यसमा पनि निरन्तर लेख्नुपर्ने भएकाले लेखनमा झन् नजिकिएको अनुभव गरेको छु ।

४. व्यापारिक हिसाबले आख्यानका तुलनामा कविता कृति कम बिक्छन् भन्छन् प्रकाशकहरू । कविता कृति छाप्न पनि उत्तिकै अप्ठ्यारो मान्छन् भन्ने पनि सुनिन्छ । तर पनि कवितालाई माया गर्ने पाठक र कविहरू त छन् नै । तपाईंले आजसम्म कविताका प्रति बनाउनु भएको धारणा के हो?

–कवितामाथि अनेक हल्ला, मिथ एवं चुट्किला बनेका छन् । मैले त्यतापटि कहिल्यै सोचेको छैन । कसरी आजभन्दा भोलि राम्रो लेख्ने भन्नेमात्र सोचेको छु । बजार हेरेर कविता लेखेको छैन । बाह्य वातावरण हेरेर कविता सोचेको छैन । कुनै सिद्धान्त वा साँचोमा बसेर पनि लेखेको छैन । कविताप्रति कुनै धारणा वा परिभाषा पनि बनाएको छैन । बस्, म सरल भाषा र गद्य शैलीमा कविता लेखिरहन मन पराउँछु ।

५. किताबका अलवा थुप्रै माध्यम छन्, पाठकलाई ।  पढ्नै मन गर्ने पाठकले पनि बिभिन्न स्रोतबाट प्राप्त गर्न सक्छन् । पाठकले किताब किन पढ्ने ? र झन् तपाईँकै किताब किन ? पढ्ने पाठकले तिरेको मूल्य असुली होला ?

–हिजो हामी गाउँघरमा मूलको पानी वा धाराको पानी पिउँथ्यौँ । आज जारको पानी, बोरिङको पानी, समुद्रको पानी वा आकाशको पानी रिफाइन गरेर पिउँछौँ । पानी खाने सबै माध्यम र तरिका फेरिएको छ । तर पानी त पानी नै हो । गिलासमा राखेर पानी पिउनुजस्तो आनन्द अर्कोमा छैन । किताब भनेको पनि त्यही हो । हजार विकल्प आएपनि किताबको पाना पल्टाउँदै कविता÷कथा पढ्नुजस्तो आनन्द अर्को चिजमा छैन ।
अर्को कुरा, मेरै किताब पाठकले किन पढ्ने ? यदि तपाईंलाई कविता मन पर्छ । त्यसमाथि जीवन, प्रेम, प्रकृतिमाथि लेखिएका कवितामा रुची छ भने निर्भीकजंग रायमाझी पढ्न सक्नुहुन्छ । यसअघि कतै नछापिएका दुई दर्जन कविता तपाईंले यो संग्रहमा पाउनुहुन्छ ।

***

प्रतिक्रिया

सम्बन्धित खवर