सिभिल इन्जिनियरिंगमा स्नातकोत्तर कृष्ण कुसुमको पहिलो कथासंग्रह हो पार्श्वधुन । यसअघि उनका ‘अमृतको प्याला’ गजलसंग्रह, ‘अञ्जुलिमा अभियन्ता’ संयुक्त कवितासंग्रह र ‘अञ्जुलिमा अभियन्ता -२’ संयुक्त गजलसंग्रह प्रकाशित छन् । सम्पादनमा समेत सक्रिय कुसुमले ‘आंगन छोडेपछि’ संस्मरणसंग्रह तथा ‘हस्ताक्षर’ र ‘परदेशका कथा’ कथासंग्रहको सम्पादन समेत गरेका छन् ।

उनक‍ो कथा सङ्ग्रह पार्श्वधुनसँग रहेर सम्पादक जीवन खत्रीले सोधेका पाँच प्रश्न र जवाफ:

१, पार्श्वधुन कस्तो खालको किताब हो? यसमा कस्ता कथाहरू समावेश छन्?

पार्श्वधुन मूलत: टाढाबाट हेर्दा उस्तै देखिने तर नजिकबाट कोट्याउंदा बिल्कुल फरक भोगाइ र पीडाले पिल्सिएका सिमान्तकृत समूहका कथाहरु समेटिएको कथासंग्रह हो ।

यसमा समावेश कथाहरु मूल प्रवाहभन्दा बाहिरका लय हुन् । र सोहि लयको समग्र रुप नै पार्श्वधुन हो । जसमा प्रवासी नेपालीका पीडा, जातिय र लैंगिक अधिकारका कुराहरु समाविष्ट छन् ।

२, अमेरिका धेरैको सपना हुन्छ । अझ तपाईँ त्यहाँक‍ो सरकारी ईन्जिनियर पनि हुनुहुन्छ । साहित्य त दुखीको मन भुलाउने ठाउँ भन्नेहरू छन् । यस्तो मान्छेलाई कथा किन लेख्नु पर्छ?

म साहित्यलाई रोनाधोनाको विषय वा दुखीको मन भुलाउने ठांउ मात्र हो भनेर बुझ्दिन । साहित्य मेरो लागि आफ्नो वरपर देखिने तर सबैको जिन्दगीमा केहि न केहि महत्व राख्ने कुरा अलि परको क्षिजित सम्म पुराउने अभिव्यक्तिको माध्यम हो ।
कतिपय कुराहरु मैले पनि भन्न छुटाएं भने त्यो कुरा भन्नलाई छुटि नै रहनेछन् भन्ने लागेपछि आफ्नै वरपरका पात्रहरुका बोली टाढा टाढा सम्म पुगोस् भन्नका लागि कथा लेख्छु म ।

३, तपाईँलाई कथा लेखनको मुख्य बल कसरी प्राप्त हुन्छ? अझ कमाउने ठाउँमा कथा लेख्ने समयमा काम गर्दा टन्न कमाईन्छ होला

तपांइको प्रश्न एकदम जायज छ । हो मैले साहित्य पठन र कथा लेखनमा लगाइ रहेको समय अरु काममा लगाएको भए पक्कै पनि अतिरिक्त कमाई हुने थियो । तर जिन्दगीको मूल उदेश्य भनेकै अर्थोपार्जन मात्र पनि त हैन नि !?
मेरो कथा लेखनको मुख्य बल भनेकै मेरा कथाका पात्रहरु र तिनका मनोदशा हुन् । मैले नजिकबाट संगत गरेका मेरै जीवन / समाज वरपरका पात्रहरु नै मेरो कथा लेखनका उर्जा हुन् । मेरो उत्प्रेरणा हुन् ।

४, तपाईँको ईन्जिनियरिङ पेशाले लेखनलाई कस्तो कस्तो खालको प्रभाव पारेक‍ो महशुस गर्नुहुन्छ ? सङ्ग्रहमा समावेश कुनै कथामा आफैँलाई कति लेख्नुभाछ ?

मेरो पेशाले लेखनलाई प्रत्यक्ष रुपमा यहि प्रभाव परेको छ भनेर त भन्न नसकूंला । तर म जून पेशामा छु जसको कारण लेखनको कुरामा आफैंप्रति पनि आलोचनात्मक हुन, पूर्न: लेखन र पूर्नः सम्पादनमा विश्वास गर्ने बनायो जस्तो लाग्छ । सिसा कलम लिएर डिजाइन र ड्रइंग गर्ने गल्तीलाई तुरुन्त इरेजरले मेटाएर नयां तरिकाले काम शुरु गरिहाल्न पर्ने बानीको प्रभाव लेखनमा कतै न कतै त आएकै हुनुपर्छ ।

संग्रहका झण्डै दुइ तिहाइ कथामा कुनै न कुनै रुपमा मैले आफैंलाई लेखें हुंला !

५, किताबका अलवा थुप्रै माध्यम छन्, पाठकलाई । पढ्नै मन गर्ने पनि बिभिन्न स्रोतबाट प्राप्त गर्न सक्छन् । पाठकले किताब किन पढ्ने? र झन् तपाईँकै किताब किन?

हो पक्कै पनि पठनमा रुची हुनेले अनेक माध्यम (इबुक, अडियो बुक आदी) बाट आफ्नो आवश्यकता पुरा गरि रहेका हुन्छन् ! तैपनि संसार भरको ट्रेण्ड हेर्ने हो भने पुस्तक नै पढ्ने पाठक पनि उत्तिकै छन् । मेरो आफ्नै कुरा गर्दा पनि पुस्तकको पाना पल्टाएर पढ्दाको सन्तुष्टि अरु माघ्यमबाट पढेर प्राप्त गर्न सक्दिन । त्यसैले पठनको मजा र सन्तुष्टि अरु माध्यमबाट नपाइने हुंदा किताब किन पढ्ने हो जस्तो लाग्छ ।

अब रह्यो मेरै पुस्तक किन पढ्ने? त्यसको चैं यहि हो भन्ने कुनै निश्चित जवाफ मसंग छैन । तर मैले कथामा जे जस्तो विषयहरु लेखेको छु ति विषयहरु बाहिरबाट देखिने ब्ल्याक एण्ड ह्वाइट भन्दा अलि फरक छन् कि जस्तो लागेको छ ।
विशेषगरि प्रवासी नेपालीहरुको अनूभुति मसिनो गरि टिप्ने प्रयास गरेको छु । देश देखि परदेशसम्मको नेपाली जनजीवन र प्रभाव का कथाका लागि पार्श्वधुन पढ्दा ठीकै होला कि ? अन्त्यमा यौटा लेखकले आफूले लेखेर किताब कै रुपमा पाठकसामु आएपछि आफ्नो पुस्तक पाठकले पढून र प्रतिकृया दिउन भन्ने लोभ त रही नै रहँदो रहेछ नि ।

***

प्रतिक्रिया

सम्बन्धित खवर