
✍️ ‘जीवन खत्री
कवि तथा निबन्धकार अमृत क्षेत्रीको ‘एकान्त भीड’ (२०७८) कविता सङ्ग्रह हो । उनको ‘यादको कोलाज’ (२०८०) गैर आख्यान कृति भर्खरै प्रकाशित भएको छ । बिशेषतः दर्शन अध्ययनमा रुचि राख्ने, घुमफिर गर्न रुचाउने र प्रकृतिसँग मज्जा लिने पोखराका कवि अमृत युवा पुस्तामा रचाइएका कवि हुन् ।
पोखरामा हुने साहित्यिक कार्यक्रमले र माहोलले लेखनमा मल थपेको बताउने उनको पछिल्लो संस्मरणात्मक निबन्ध कृति ‘यादको कोलाज’को सेरोफेरोमा रहेर उनीसँग सेतोमाटो सम्पादक जीवन खत्रीले गरेका पाँच प्रश्न :
प्रश्न एक : यादको कोलाज कस्तो खालको किताब हो ? पाठकले किन पढ्नु पर्छ यो पुस्तक ?
‘यादको कोलाज’ गैर आख्यानात्मक कृति हो । अझ संस्मरणको कोलाज भनौ न । यो पुस्तक नियममा बाँधिएर लेखिएको हैन, लेख्दै जादा कता कता पुगियो त्यसकै रूप हो । हरेक पाठकले जसरी बुझ्दा सजिलो हुन्छ त्यहीँ हो । बडो इन्जोय गरि लेखेँ । किताब निस्केपछि पुनः पढेँ, मैले लेखेको हैन जस्तो लाग्यो । आखिर बिचार त परिवर्तन भैरहन्छ नि हैन र !
हरेक मानिससँग अलग अलग अनुभुति छन्, एकको अनुभुति अर्कोसँग मिल्दैन । यो नै मानिस हुनुको सौन्दर्य हो । जब तपाईंले अर्को ब्यक्तिको अनुभव र अनुभुति अक्षरको माध्यमबाट ग्रहण गर्नुहुन्छ त्यो तपाईंसामु पुग्ने सिकाइको अर्को पाठ हो । मानव जीवन एक अर्कासँग यसरी नै जेलिएर पुर्ण बनेको छ । औषत आयुमा बाँचेको जीवनमा एउटै ब्यक्तिले सबथोक भोग्न कहाँ सक्छ र ! मैले मेरा अनुभव र अनुभुतिहरू पस्केको छु, सायद पाठकलाइ नौलो लाग्न सक्छ ।
प्रश्न दुई : यहाँले यसअघि ‘एकान्त भीड’ कविता कृति प्रकाशन गर्नुभएको थियो । लगत्तै जस्तो यो कृति आयो । यस पुस्तकमा थप नयाँ कुराहरू के दिन सकेँ भन्ने लाग्छ ?
‘एकान्त भीड’ कविता सङ्ग्रह थियो । यो चाहिँ गैर आख्यान हो । बिधागत हिसाबले नै फरक भयो । लेख्ने भनेको भोगाइ हो । तर भोगाइ लेख्ने तरिका पनि ब्यक्तिपिच्छे फरक हुन्छ । तपाईं र म फेवाताल घुम्न गयौँ । अब तपाईं र मेरो लेखाइको अनुभुति फरक हुन सक्छ । आनन्दको सिमा पनि अलग हुन्छ । तर यस पुस्तकमा सिमित ब्यक्तिले देखे भोगेका कुराहरूलाइ अक्षरमार्फत उतार्न खोजेको हुँ । यस पुस्तकमा एक भारतीय सैनिकले देखे भोगेका कुराहरू समेटिएका छन् । अलिक पृथक विषयबस्तुहरू छन् । पाठकलाई नयाँ लाग्न सक्छ ।
प्रश्न तीन : असल लेखकलाई लेखनका लागि केही न केही कुराले कुत्कुत्याउनु पर्छ भन्छन्, यो किताब लेख्नुअघि त्यस्तो केही छ कि ? केही प्रसङ्ग सम्झिन मिल्छ कि ?
यो पुस्तक मैले धेरै पहिले लेख्नुपर्ने हो तर धेरै पछि लेखे । उहिले नै लेख्नुपर्छ भन्ने धारणा चाहिँ बनिरहेको थियो । शुभेच्छुक साथीहरुले पनि लेख्न उक्साइरहनु भएको थियो । अन्ततः लेखियो । मैले प्रायः ठाउँमा भनेको छु साँच्चिनै म त्यस्तो भाग्यमानी सिपाही हुँ जो ‘सियाचिन ग्लेसियर’देखि कन्याकुमारीसम्म पुगेको छु । यस्तो मौका कमैलाई प्रदान हुन्छ । पाठकलाइ ती ठाउँहरूमा पुर्याउने कोसिस गरेको छु । मैले अघि पनि भनिसके कि सबै मानिस सबै ठाउँमा पुग्न असमर्थ छ । नयाँ ठाउँ र नयाँ परिवेश लेख्दा र पढ्दा आनन्द आउँछ । मैले ‘यादको कोलाज’मा त्यही गरेको छु ।
प्रश्न चार : आजका पाठकहरूसँग किताबको विकल्पमा धेरै कुराहरू छन्, ती विकल्पबाट किताब पठनमा तान्नेगरि लेखकले के गर्नुपर्ला ? ‘यादको कोलाज’मा केके गर्नु भएको छ ?
तपाईले ठिक भन्नू भो । यो डिजिटल युग हो । जहाँ जतिबेला पनि फ्याट्ट हातमा सबैकुरा आइपुग्छन्। डिजिटल युग बाँचेका हामी धेरै चिजसग सहजै परिचित पनि छौँ र समयसँगै आएको यो सुन्दर पक्ष हो । अब रह्यो किताब पठनको कुरा, तपाईं कुनै सुन्दर लाइब्रेरीमा छिर्नुस् त्यसले दिने आनन्द सायदै कहि बाट मिलोस्। किताबको सुगन्ध लिएर अध्ययन गर्नुको सुखानुभुतिमा बेग्लै मज्जा हुन्छ । पठन संस्कृतिलाई प्रबन्धन गर्नका लागि लेख्ने भनेको देश, भुगोल र माटो हो । देखेका, भोगेका,अनुभुत गरेका र स्वैर कल्पना हो । पस्कने तरिका भिन्न हुनुपर्छ । अलिक पृथक किसिमले जीवन दर्शनका केही कुरा सहित केही भुगोलका भोगेका अनुभव यादको कोलाजमा पाठकले पाउन सक्नुहुन्छ ।
प्रश्न पाँच : कविता लेखिरहेको एउटा कविलाई किन विधा परिवर्तन गर्नु परेको ? कवितामा के भन्न सक्नु भएन र निबन्धमातिर जानु भो ? निबन्धमा भन्न खोजेको कुरा सबै भन्न सक्नुभो ?
अहो ! कस्तो मीठो !
अन्त मलाईचाहिँ हरेक बिधामा कवितांश हुन्छ जस्तो लाग्छ । उसो त म कविता लेख्न मै रमाउँछु । सिमित शब्द संयोजनमा आउने काव्यिक रचनाको स्वाद असीमित हुन्छ । त्यो कविताले दिने नै भयो । मूलतः म त्यसकै बाटोमा छु । केही नयाँ कुरा नयाँ तरिकाले लेखौँ भन्ने खुल्दुली पहिले देखिनै थियो त्यसकै फलस्वरूप ‘यादको कोलाज’ लेखिएको हो । लेखनमा मन र बिचार लाई जति स्वतन्त्र छोड्न सक्यो त्यति नै उर्वर भएर आउँछ । आखिर परिवर्तन त जरुरी छ नि हैन र ! मैले लेख्न खोजेका केही चिजहरू यादको कोलाजमा छन् । सबै कुरा आयो भनेर दाबी गर्नु त अहंकार हावी हुनु होला । सिमाहरू छोडेर आफ्नो ब्रम्हले देखेको र सक्ने जति लेख्नु लेखकको धर्म हो ।
अन्त्यमा, तपाईले सुन्दर प्रश्नहरू गरेर मलाइ जिवित गराइदिनु भो । प्रश्न सकिएपछिको भुगोल मृततुल्य हुन्छ । सबै प्रश्नका उत्तरहरू हुँदैनन् । उत्तर नभएका उत्तरहरू नै सुन्दर हुन्छन् । तपाइलगायत सेतोमाटो परिवारप्रती हार्दिक आभार !
प्रतिक्रिया
-
४