✍️ सुनिल दिप्त राई

 

यो शहर
अनि तिम्रो याद
बेताल लाग्न थालेको छ
लमतन्न सुतेको छ शहर
बौलाहा तिम्रो याद छोडेर

थाहा छैन एकनास आईरहने
तिम्रो यादले
किन यस्तरी सताउछ ?
किन यति पागल बनाउछ ?
सडक बिच चिच्याउदै
तिम्रो खोजी गरुँ
नसुने पनि तिमीले
मेरो चिच्याहट
लाग्छ सडकमा निस्केर बोलाऊ !
ढ्वाङ ढ्वाङ घण्टाघरको
चर्को आवाज जसरी
कसैको पर्वाह नगरी…

भीडहरूले मध्यान्हको
घाममा कुल्चिरहेको
रत्नपार्क जस्तो
पोलिरहेको छ छाती
तिम्रो सम्झना बोकेर
कुदिरहने पुरानो ट्रक
भएको छु अचेल

कस्लाई भनुँ दिल खोलेर ?
कि निष्ठुरीले मसँग मुटुको ब्यापार गरी भनेर रू
चिच्याउदै कस्को सामु पोखुँ बेदना ?
मुटु मेरो लिलामी भएको छ भनेर !
म आफैबाट एक्लिएको छु भनेर !
कस्लाई सुनाऊ ?
कस्लाई गुनासो गरुँ ?
तिमी त थियौँ सुनिदिने
खुशी हुँदा अगाध माया दिने
छिनभरमै रिसाएर आगो हुने
जे भए पनि तिमी त थियौँ
आज हामी दुई किनार झैँ
तिमी पल्लो भङ्गालोमा मौन उभिएकी छ्यौ
म स्थिर उही किनारमा मौन उभिएको छु

ठिक यै बेला…
बर्षायामको झरीसँगै
तिम्रो याद अबिरल आइरहेको छ
अनेकथरी बिम्बहरू बोकेर

एकोहोरो तिम्रो याद
तँछाड मँछाड गर्दै
ओहोर दोहोर गरिरहेका छन
मानसपटल भरी !

प्रेमको आँधी मौनताले थेग्न नसकेपछि
गल्ली गल्ली र चोकहरूमा चिच्याउदै
तिमीलाई बोलाउने मन छ

तिमी बिनाको यो सहर
सहर जस्तो छैन
सडकहरू खण्डहर लागिरहेका छन्
सहर मस्त निदाएको छ

बत्तिको पोलहरूमा झुण्डिएको बत्तिले
पोलमै आत्माहत्या गरे जस्तो
शहरका भिडहरू एकाएक सुनसान
जुन दिनदेखि तिमी बेपत्ता भयौ
बस…
शून्य शून्य…

प्रतिक्रिया

सम्बन्धित खवर