
✍️ सुनिल दिप्त राई
एउटा बिहानी
जुरुक्क बोकेर
नुनको स्वाद
खोज्दै मधेस
झरेको सम्झन्छु
एक ढाकर कटारी
बोकेको सम्झन्छु
पहाडको कर्याङ् मर्याङ्
छिचोल्दै आकाशमा
जून बालेर हिडेको
सम्झन्छु
रंगीन जस्ताको जहाज
करेली भिरको कुमहरूमा
सुरक्षित अवतरण गरेको
सम्झन्छु
हात्तिछाप चप्पलको
दादागिरी देखाउदै
मधेस झर्नेहरूको
फुक्का फाल देखेर
खोदोम्पाको उकालोले
पिठ्युमा भरियाहरू
बिसाउदै सुस्केरा
हाल्छ
फर्किनेहरू टाउकोमा
पहाड बोकेर फर्किरहेका
सम्झन्छु
जोर नलिखुट्टाको
शक्ति लगाएर
भरियाहरु दुःखको जन्ती
हिँडिरहेका सम्झन्छु
यो बीस बर्षमा
उमेरका रेखाहरू
गालामा,आँखामा
हाड,नलीमा
मांशपेशीहरूमा
देखिएका छन्
ठिक त्यसैगरी
मेरो दुःखको
अत्यास लाग्दो
त्यो समयझैँ
उभिरहेका
सोलुखुम्बुका
प्रत्येक गाला
आँखा, हाड, नली
हरेक मांशपेशीमा
विकासे रेखाहरू
प्रष्ट देखिने गरी
कोरिएका छन्
देखिएका छन्
जूनको पालो
ताराहरू झरेका छन्
गाँउ–गाँउ र बस्तीमा
ग्रामिण भेगका
लोकल साहुका
आँगनमा अवतरण
गर्ने सुपर पावर
भाडाका जेटहरू
कच्याक कुचुक
पारेर ड्रोजरको
निर्माण भएका छन्
जेटहरूले आफ्नै
टाउको माथि सिंङ्गो
मधेस बोकेका इतिहास
छ
भर्खरै ड्रोजरमा परिणत
भएका जेटहरूले
उधिनीरहेका छन्
आफ्नै गाँउमा
भब्य शहरको
आधार स्तम्भ
म त्यो समय र
यो समयको साक्षी
भएर सम्झन्छु
प्रतिक्रिया
-
४
-
१०