
✍️ जगत अनमोल
गजल – एक
कस्तो परीस्थिति जीवनमा कसैको ।
कोही दुख्नु पर्ने मिलनमा कसैको ।
म जुठेल्नामा उम्रिएको खुर्सानी हुँ,
हुनेछु एकदिन भोजनमा कसैको ।
हेर्दा त मान्छे जस्तै देखिन्छ यो मान्छे,
कसरी हाँसेको हो ! निधनमा कसैको ।
कतै डस्टविनमा चौरासी व्यञ्जन छ,
माकुराको जालो छ बर्तनमा कसैको ।
चुलो बाल्ने आशा, सन्तानको भविष्य,
साग मात्रै कहाँ छ र खर्पनमा कसैको ।
गजल – दुई
मेट्न सकेन अझै वर्षौँ देखि मेटाइरहेछ ।
दुःख लेख्ने मार्करको मसी स्थायी रहेछ ।
कसैले हातैले हुत्याएर लडाएर गएको हो,
फेरि कसैले हातै समातेर उठाइ रहेछ ।
कोही चाहिन्न भन्दै गौशालामा छुटेको मान्छे,
चाबहिल नपुग्दै कसैको हात समाइरहेछ ।
एटमबम गोजीमा बोक्ने छिमेकीलाई,
मेरो देश खुकुरीको इतिहास सुनाइरहेछ ।
बुढा बाआमा बुढै दलिन मुनि बस्छन् गाउँमा
यही कुराले परदेशमा छोरालाई सताइरहेछ ।
प्रतिक्रिया
-
४