✍️ जगत ‘अनमोल’

गजल – एक

जुनै, तरिका अपनाउ मिल्दै मिल्दैन।
जिन्दगीको जोड – घटाउ मिल्दै मिल्दैन ।

खाली खुट्टै हिड बरू पीडा कम होला,
ठूलो खुट्टा, सानो खराउ मिल्दै मिल्दैन ।

मूल्य मात्रै बढ्छ सधैं, ज्याला बढ्ने हैन !
कमाइसँग, बजारभाउ मिल्दै मिल्दैन ।

पुरानो घाउ खाटा बसोस केही दिन पर्ख,
यो घाउ माथि अर्को घाउ मिल्दै मिल्दैन ।

तिम्रो मेरो सम्बन्ध नि ठ्याक्कै त्यस्तै भयो
बिरालाको जुँगामा ताउ मिल्दै मिल्दैन ।

गजल – दुई

म को हुँ भन्ने भुलेर धमास देखाइरहन्छ ।
यो बेलुन काँडालाइ त्रास देखाइरहन्छ ।

‘जिन्दगी के हो’ भन्ने प्रश्न सोधिएको थियो ,
आफैले रित्याएको बोत्तल, गिलास देखाइरहन्छ ।

गोजीमा अणुबम बोक्ने छिमेकीलाई,
मेरो देश खुकुरीको इतिहास देखाइरहन्छ ।

दिमाग भन्छ फर्दिदैनन छोडी जानेहरू
दिल भने घरीघरी आश देखाइरहन्छ ।

देखेछ सायद मेरो गोजिको हजार ,
ऊ बारम्बार भुइँको पचास देखाइरहन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर