✍️ जीवन खत्री

समकालिन नेपाली काव्य जगतमा उज्याला नामहरू मध्ये कवि रमेश क्षितिज प्रष्ट टल्किने नाम हो । नेपाल सरकारको प्रशासनिक सेवामा आवद्ध क्षितिजका कविता सङ्ग्रहहरू, ‘अर्को साँझ पर्खेर साँझमा’ तथा ‘घर फर्किरहेको मानिस’ र हालै बजारमा आएको कविताकै कृति ‘पर्वत पर्वतमा बटुवा घाम’ हो । ‘क्षितिज’ गीति एल्मब समेत बजारमा पुर्याएका उनका थुप्रै हिट गीत, गजल रेकर्ड भएका छन् ।

कवि क्षितिजसँग उनक‍ो पछिल्लो कृति, पर्वत पर्वतमा बटुवा घाम’को वरिपरि रहेर सेतोमाटोका सम्पादक जीवन खत्रीले गरेका पाँच प्रश्न ।

१, पर्वत पर्वतमा बटुवा घामभित्र कस्ता कविता समेटिएका छन् ?

मेरा लागि यो सङ्ग्रह आत्मकथाको किताव पनि हो ।म हिडेको यात्रा ,मैले बाटोमा भेटेका मानिसहरू ,म बसेको बासका स्मृतिहरू छन् त्यहाँ ।म बाँचेको समाज,म रहेको समय छ नै त्यहाँ ।

तर यसो भनेर मेरा निजी सुखदुखहरु ,गुनासा र गन्थनमन्थन छन् भनेको होइन ।म भनेको तपाई पनि हो ।ऊ पनि हो ।लैख्न्ने पात्र म भए पनि हाम्रा खोज र सपनाहरू छन् त्यहाँ।

जीवन एकदम रहस्यमय छ ।जीवनलाई कसरी वोध गर्ने ? जीवनको उदेश्य के हो? संसारको यो चाखलाग्दो यात्रामा म किन निस्केको हो ? यस्ता केही गम्भिर प्रश्न हामी सबैसँग जोडिएका हुन्छन् ।त र यसको जवाफ र अनुभूति फरक फरक हुन सक्छ ।यो सङ्ग्रहका कविताहरू बढि त्यता जोडिएका छन् । बाँकि शिल्प शैली र पन कविको आआप्नो हुने भएकोले मेरो पनि होला।

२, यहाँको पछिल्ला बहुचर्चित कविता सङ्ग्रहहरू, ‘अर्को साँझ पर्खेर साँझमा’ तथा ‘घर फर्किरहेको मानिस’ पछि यो कविता किताब आयो । अर्कोसाँझ पर्खेर साँझमा किताब लेख्दाको समयबाट पर्वत पर्वतमा बटुवा घाम पाठकसम्म आईपुग्दा धेरै परिवर्तन यहाँभित्र र बाहिर पनि भएका छन् ।के फरकपन वा नवीनता पाउलान् पाठकले यो नवीन कृतिबाट ?

यहाँको प्रश्नमा नै थोरै जवाफ पनि छ भन्ने लाग्छ। कवि समाजसँग जोडिएको हुन्छ। यसैले सामजिक वा राजनितिक परिवर्तनको प्रतिबिम्बन कवितामा हुन्छ नै ।यसबाहेक व्यक्तिगत भोगाई र अनुभुतिका आधारमा निर्माण हुने विचार चिन्तन र कविले भन्न खोजेको कुराबाट कविता तयार हुने हो ।यसैले एक दशकको समाजको चित्र नै हो पर्वत पर्वतमा बटुवा घाम ।

तर यसमा बढि जीवनवोधी कविताहरू छन्। यो सङ्ग्रहमा जीवन ,अध्यात्म र दर्शनसँग नजिक भएका गम्भिर कविता लेख्ने मेरो प्रयास हो ।यसमा अधिकांश कविता जीवनप्रति विश्वास जगाउने र उत्प्रेरणा दिने किसिमका भएको कारण पाठकले एक नयाँ र अन्तरङ्ग मित्र पाउनुहुनेछ भन्ने मेरो विश्वास छ।

यो मेरो निजी विचार भयो । पढ्ने पाठकलाई कस्तो लाग्छ सही मूल्याङ्कन त त्यहाँबाट होला।

३, एउटा पाठक समुह छ, जो सधैँ समाजका तल्लो तहको हितका लागि लेखिनुपर्छ भन्छ । तल्लो तहलाई विविध कारणले दबाईराख्ने निकाय माथिल्लो तह वा विशेषत राज्यतह हो भन्ने पनि बुझ्छ । त्यो समुहले यदाकदा रमेश क्षितिजलाई त्यही राज्य तहको उच्चपदमा आसिन कर्मचारी हो र उसले तल्लो वर्गकाहरूको कविता लेख्नु हास्यास्पद हो भनेर पनि कताकति चर्चा गर्छ, यहाँले यस्तो सुन्नु भएको छ ? उनीहरूलाई के जवाफ छ ? उच्चपदमा आसिनले भुँइमानिसहरूको कविता लेख्दा त्यो कति प्रभावकारी हुन्छ ? तपाईको बारेमा पनि यस्तो चर्चा सुन्नुभएको छ ?

खासमा कुन आसनमा वा पदमा बसेर लेख्यो भन्ने कुरा महत्वपूर्ण होइन बरू के लेख्यो, कस्तो लेख्यो भन्ने कुरा चाही मूलयाङ्कन गर्नु पर्ने विषय हो ।वुद्ध राजकुमार थिए। त्यसरी नै महावीर पनि ।मानिसहरूका दुखको निवारण वा मुक्तिको खोजयात्रालाई दरवारमा बसेको कारणले वा राजकुमार भएको कारणले होइन कि उहाँहरूको सम्यक योगदानले पो संसारले उहाँहरूलाई चिन्यो ।हाम्रो खास परिचय भनेको हाम्रो कर्म नै हो ।महिलाकोबारेमा महिलाले मात्रै ,श्रमिकको बारेमा श्रमिकले ,पोखराको बारेमा पोखरेलीले मात्रै लेख्नु पर्छ भन्ने मलाई लाग्दैन।

नेपालमा नै हेर्ने हो भने पनि राजा ,प्रधानमन्त्री,मुख्य सचिवहरू राम्रा साहित्यकारकोरूपमा स्थापित भएको पाइन्छ ।म त साधारण मानिस हुँ । लेखनभन्दा बाहिरको मेरो भूमिका भनेको केही समयका लागि मेरो पेशा वा जीवनचर्या भयो। गाउँदेखि राजधानीसम्मको मेरो यात्रा रोमाञ्चक र संघर्षमय छ।त्यसैले मैले के लेख्नुपर्छ भन्ने विषय मैले गम्भिरतापूर्वक मनन गर्छु।गरेको छु।र लेखेको छु।

४, असल लेखकलाई लेखनका लागि केही न केही कुराले कुत्कुत्याउनु पर्छ भन्छन्, यो किताबका कविताहरू लेख्नु अनेक किस्साहरू होलान्, कुनै प्रसङ्ग सम्झिन मिल्छ कि ?

प्राय सबै कविताहरू कुनै न कुनै घटनाले स्पर्श गरेर लेख्छु म ।त्यसैले प्रत्येक कविताको संस्मरण लेख्न मिल्ने कथा छ। कहिलेकाही जब म मेरा सङ्ग्रह पल्टाएर कविता पढ्छु मलाई पुरानो फोटोहरुको अल्बम पल्टाएजस्तो हुन्छ।यात्रा ,स्थान, र सहयात्रीको सम्झना हुन्छ।समयको सम्झना हुन्छ ।निवन्धकारले यात्रा वृतान्त लेखेजस्तो गरेर मैले कविता लेखेको हो ।

एउटा मूर्तिको आत्मसंस्मरण भारत यात्राको क्रममा मूर्ति बनाउदै गरेको देखेपछि लेखेको हुँ। अन्तर्यात्रा चाहि माउन्ट आबुमा पाँच दिनको ध्यानशिविरबाट फर्केपछि लेखेको हो ।यसैगरि कायानुस्मृति भन्ने कविता छ त्यो विपश्यना ध्यानपछि आएको एक अनुभूति हो । कायानुस्मृति शव्द वुद्ध दर्शनमा उल्लेख भएको शव्द हो । मैले शीर्षक नै त्यहीँबाट राखेको हो। यसरी धेरे प्रसङ्ग सम्झनामा छन्।

एकपल्ट म डेनमार्कमा थिएँ ।सप्ताहान्तमा दुइदिन विदा हुने भएकोले हामी युरोपका अन्य शहरमा घुम्न निस्कन्थ्यौ।कोठाबाट पालैपालो निस्केर कक्षा बङ्क गरेको सम्झेर मलाई अहिले पनि हाँसो उठ्छ।त्यस हप्ताको पालो थियो जर्मनीको बर्लिन शहर जहाँ शुक्रवार रातभरि यात्रा गरेर पुगेका थियौँ।

युरोपतिर यूथ होस्टेलमा सस्तोमा बस्न पाउने प्रचलन रहेछ ।होस्टेल भने पनि त्यो एक प्रकारको हाम्रो धर्मशाला जस्तो।खण्डखण्ड भएका खाटहरू लहरै राखिएका।कोहि माथि कोही तल सुत्नुपर्ने ।एउटै कोठामा पच्चिस तीसजना अट्ने।त्यहाँ संसारका कुना कुनाका यात्री – यायावरहरू जम्मा भएका थियौ हामी।

एउटा निग्रो केटी रातको बाह्रबजे कुममा गितार र हातमा पानीको बोतल बोकेर आइपुगी र सोधी ‘तिमी कहाँबाट आएको ? उसले मेरो ठीक छेउको खाटमा आफ्ना सामान राखी। परिचय गर्दा थाह भयो ब्राजीलबाट आएकी रहेछ ऊ बर्लिनमा । र भोलिपल्ट ससानो वादविवाद भयो हामीबीचमा। मैले हिटलरको सङ्ग्रहालय घुम्नुपर्ला भने पछि ऊ विवाद गर्नथाली। किन त्यस्तो नराम्रो मानिसको इतिहास हेर्नु परेको तिमीलाई ? के तिमी उसको अनुयायी हो ?

मैले भने – राम्रो नराम्रो एउटा कुरा, इतिहास त हो त्यो ।

भोलिपल्ट हातमा थुप्रै ब्रोसरहरू बोकेर आइपुगी ऊ साँझमा र मलाई भनी – मिष्टर नेपाल तिम्रो लागी मैले काम लाग्ने सूचनाहरू ल्याइदिएको छु। तिम्रो कुरा ठीकै हो।नराम्रो भए पनि त्यो मानव सभ्यताको एउटा इतिहास नै हो।दुइदिन बस्छौभने म तिमीलाई घुमाइदिन्छु तिमीले घुम्ने खोजेका ठाउँहरू । भोलिचाहीँ मेरो एउटा अन्तर्वार्ता छ।

भोलिपल्ट घुमेर हामी अर्को दिन हामी कोपेनहेगन फर्क्यौँ ।तर त्यो कोठामा बस्दा विभिन्न धर्म मान्ने ,विभिन्न देशका,फरक उमेरका यात्रीहरू हामी दुइ रात साझा बास बस्यौ।मलाई यो स्मृति अत्यन्त सुखद लाग्छ।जहाँको भएपनि मानिस उस्तै हो ।उस्तै हुन् सुख दुख ।मानिसको रङ जात भूगोल फरक होला तर मानवता वा मानिसलाई जोड्ने नाता उही हो।

पछि नेपाल फर्केर मैलै कविता लेखेँ – बर्लिनमा साँझ।

५, आजका पाठकहरूसँग किताबको विकल्पमा धेरै कुराहरू छन्, ती विकल्पबाट किताब पठनमा तान्नेगरि लेखकले के गर्नुपर्ला ?

जसरी एउटा मानिसको ठाउँ अर्को मानिसले लिन सक्दैन । एउटा साथी वा प्रेमीको विकल्प अर्को हुन सक्दैन । त्यसरी नै एउटा कविको विकल्प अर्को कवि पनि हुन सक्दैन ।त्यसैले हाम्रा कविताको विकल्प प्रविधी , टेलिभिजन वा मोबाइल त झन होइन ।

कविताहरू जीवनयात्राका अनूभूतिबिम्ब हुन् ।कविताको सौन्दर्य आफ्नै प्रकारको हुन्छ।त्यो जहिले नयाँ , जहिले रहस्यले भरिएको हुन्छ ।पाठकलाई लागि आकर्षित गर्ने महत्वपूर्ण कुरा चाहि लेखकले पाठकको जीवनलाई छुने गरेर लेख्न सक्नु पर्छ ।स्तरीय कृति र रचनाको सम्मान अनि प्रचार प्रसार पनि हुनु पर्छ ।मानिसको नजिकमा साहित्य उभिनसक्यो भने त्यसलै आफै स्थान पाउँछ।

प्रतिक्रिया

सम्बन्धित खवर