
-लक्ष्मी रायमाझी
१.
छाडेर गयौ मन रुवाउने घातहरू
असर बाँकी अझै यादका खातहरू
जति भुल्न खोज्छु सम्झाउँछ उही
बसाउँछ जाग्रम छर्लङग रातहरू
थामिएनन् अश्रुधारा गह भरिएपछि
पुछिदिने खोजिरहेछु मुलायम हातहरू
सिर्सिर हावामा गुन्जिरहेछ पलपल
मिलनमा गरेका हरेक ती बातहरू
शिशिर भै उजाड भो सुनसान दिल
पत्कर झैँ सुके पिरतीका पातहरू
२.
निष्ठुरी भैदियो समय ऊ नै हरायो
यादैयादमा मेरो दिल भरिएर आयो
छेउकुना खोजेँ कतै भेटिएन अनि
उदासीपनमा यो मन छटपटायो
आभास ताजै छ उसको प्रिय स्पर्श
बन्दआँखा प्रेमिल संसार जग्मगायो
मात्र नजरमा उसको नजर मिलेथ्यो
आखिर किन खुसी पलपल रमायो
सम्झनाको सेरोफेरो अनन्त पर्खाईमा
उसैको झझल्कोले मलाई सतायो
***
प्रतिक्रिया
-
४
-
१०