– अनिल कोइराला

हे मनुष्य तिम्रा इच्छाहरूले
म जिर्ण भएको छु
म बिरामी भएको छु ।

मेरो पैताला चिरा-चिरा परेका छन्
मेरो ज्वरो दिनानुदिन बढेकै छ
मेरो सौन्दर्य कुरूप भएको छ
मेरो शक्ति कमजोर भएको छ

कुन कुराको दम्भ राख्छौ
कुन स्मृतिको कुरा गर्छौ
कुन चेतनाको सियो बिझ्न बाँकी रह्यो तिमीलाई

गुञ्जयमान कोकील वाणी मेरै उपज हो
निर्मल बग्ने गंगाको शितल पानी मै हुँ ।

तिम्रो प्रत्येक श्वासमा रहने वायु मै हुँ
मेरो काखमा फुलेका हरेक फूलहरू
तिम्रो हात देखि शिरसम्म पुगेकै छ ।

तिमीलाई बाटो देखाउने घाम मै हुँ
तिम्रो भोकलाई मेटाउने फल मै दिन्छु
तिम्रो सपनाको मुहान मै हुँ
तिम्रो घर मेरै अस्थिपञ्जरको देन हो

मलाई क्षति पुग्नु भनेको प्रलयको आगमन हुनु हो
मलाई बान्ता आउलाआउला जस्तो भै रहेछ
तिम्रो घर,खेत,बारि बगाउन सक्छु म
चिरा परेका पाइतला भित्र समाउन सक्छौ तिमी
मेरो क्रान्तिको रापले तिमी जल्न सक्छौ ।
मेरो कुरूपताको दोषीको सजायमा
तिम्रो सुन्दर संसार खोसी लान सक्छु म

होशियार ,
तिम्रो सुखको साक्षीमै हुँ
तिम्रो जीवनमरणको एक फेर मैँ सँग गाँसिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर