✍️ अनिल कोइराला

 

गजल – एक

दाँजोको कुरा परै छाड्देऊ माया कोही हुन्न तिमी बराबर
सोर्है आना सत्य बोल्छु तिम्रो माया हुन्छ ओखती बराबर

हाम्रो सम्बन्ध यस्तो हुनु पर्छ भन्ने हेक्का राखे है तिमीले
यत्ता सम्झुँ म तिमीलाई उत्ता लागिरहोस् बाडुली बराबर

मनको घैँटो भरेर भरिन्न,मेटेर पनि मेटिन्न कहिल्यै प्रिया
यो प्रेम हो रहर बनाइ कहाँ बस्छ र नजम्ने दही बराबर

जो निरन्तर विश्राम हिन बगिरहन्छ समुन्द्र भेट्ने चाहमा
ऊ पनि भविस्यमा हुँदो रहेछ त्यही विशाल नदी बराबर

हरेक कुरामा मन्जुरी सहित म हस्ताक्षर गर्न तयार छु
म कलम बनुँ तिमी समाहित हुनु ममा त्यो मसी बराबर

गजल – दुई

बर्षौँको मेहनत कुहियोस् के फरक पर्छ रागसँग
अनि पो व्यापार बढ्छ सरकारको चर्को मागसँग

जीवन भन्दा बहुमुल्य केही नलाग्नु पर्ने हो हुन् त
तस्करले किन पैसाको बिटो मात्र देख्छ खागसँग

भाषणमै व्यस्त छन् जोशिला नाइके भनाउँदाहरू
के आशा राख्नु खाली कराइ मात्र राख्ने कागसँग

बिचल्लीमा परेकै छन् जनता सधैं बढ्दो महंगीसँग
बिचौलिया केवल मतलब राख्छ आफ्नो भागसँग

कहिले यत्ताको कहिले उत्ताको कुरो गरी टोप्लछन्
के विश्वास गर्नु हजुर कलियुगको दुई जिब्रे नागसँग

प्रतिक्रिया

सम्बन्धित खवर