✍️ प्रकट पंगेनी शिव

 

गजल – एक

तप्प तप्प जलबिन्दु चुहाएर के निस्कियौ
स्नीग्ध कञ्चन कोमल अहा ! नुहाएर के निस्कियौ

भाग्यमानी रै’छ साबुन फिँजैफिँज भै बरालियो
जुनसाबुनलाई अङ्ग अङ्ग छुहाएर के निस्कियौ

पानी पनि आगो बन्छ कामदेवको आशिष पाउँदा
जुन पानीमा यस्तो रूप डुबाएर के निस्कियौ

घामको कुरा नगरौँ भो टाँसियो घाम त्यै लुगामा
जुन लुगालाई भर्खर तिम्ले सुकाएर के निस्कियौ

त्यै गाँठोमा गाँठो पार प्रकटलाई ओ ! रूपसीजुन
गाँठोमा कोमल अङ्ग लुकाएर के निस्कियौ

गजल – दुई

हातमा समाई उनलाई खोला तार्नुको मज्जा बेग्लै थियो
सारीको सप्को अलि माथि सार्नुको मज्जा बेग्लै थियो

वारिबाट पारिसम्म छोटो बाटो भएपनि
आलेटाले गर्दै बेला टार्नुको मज्जा बेग्लै थियो

भेल थियो, भेलमा उनले डराएर टेक्नै छाडिन्
मलाई भने त्यस्तै मौका पार्नुको मज्जा बेग्लै थियो

कुन्नि कता के के गर्दा छोयो केमा पाखुराले
त्यतिबेला मैले धित मार्नुको मज्जा बेग्लै थियो

खोला तरी आइयो किनार भिजिन् उनी निथ्रुक्क भई
लुगा निचोरी पानी झार्नुको मज्जा बेग्लै थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर