
✍️ नवराज न्यौपाने ‘मौन’
मुक्तक – एक
केही पाउन केही गुमाउनु पर्ने हुन्छ
नाता गाँस्न सुख–दुःख सुनाउनु पर्ने हुन्छ
समय र परिस्थिति सधैँ मिलेर आउन्न बुझौँ
जुन ढोका खुल्ला छ, त्यसैमा चित्त बुझाउनु पर्ने हुन्छ
मुक्तक – दुई
जति फुल्छन् फूलहरू, सबैमा फल लाग्दैनन्
जति लाग्छन् फलहरू, सबै फलहरू पाक्दैनन्
समयको भेलजस्तै हो सङ्घर्षको खेल पनि
सफल हुने तिनै न हुन्, जो सङ्घर्षदेखि थाक्दैनन्
मुक्तक – तीन
मुटु दिएँ, मन दिएँ, दिएँ सारा यौवन पनि
यता धाएँ, उता धाएँ, धाएँ तिम्रो आँगन पनि
सकेजति गरेँ मैले ,परिश्रम र प्रयास धेरै
ढल्किगयो उमेर मेरो, रित्तो भयो यो मन पनि
मुक्तक – चार
माया लाउने मन छ भने सफा मनले आए हुन्छ
पिरतीको गीत गाँसी भाका फिराई गाए हुन्छ
सधैँभरि खुल्ला राखेँ, मैले मेरो मनको ढोका
मन्दिरलाई साक्षी राखी वाचा कसम खाए हुन्छ
मुक्तक – पाँच
नम्र बनी हिड्दा यहाँ कोही पनि सानो हुन्न
जिन्दगी त किताब न हो, रित्तो कुनै पानो हुन्न
मान्छे चिन्ने कला अनि मीठो बोल्ने गला भए
सबै आफ्ना बन्छन् यहाँ, कोही नि बिरानो हुन्न
प्रतिक्रिया
-
४
-
१०