✍️ सरोज सर्वहारा
मोती झुल्दछ खेतमा लहलहै कान्लाहरु हाँस्दछन् ।
क्वैली गीत सुनाउछे वनवनै डाँफेहरू नाँच्दछन्
ती ठण्डा हिमशैलका पवनले चौरीहरू बाँच्दछन्
त्यो सैपाल सँगै सबै शिखरले जो मित्रता गाँस्दछन
लाली खुल्छ हिमालको अधरमा चुम्दै गरे घामले
सारा देश विदेश चिन्छ सजिलै भूःस्वर्गको नामले
जन्मे गौतम बुद्ध यै मुलुकमा खेल्थे यहीँ शङ्कर ,
जाती धर्म अनेक, एक सरि छन्, नेपाल सानो छ र ?
हाम्रा जङ्गलका सयौँ जडिबुटी हुन् मृत्युका औषधी
भेटिन्छन् सुन गण्डकी बगरका गिट्टी निफन्दा पनि
यीनै पत्थरमा त ईश्वरहरू जैले सुकै बस्दछन्
मान्छे ईश्वर झै विशाल मनका यो ठाउँमा धेर छन ।
हीरा रत्न जुहार यी नयनले देखिन्छ सानै तर
मोती हो अनमोल यो जगतको सानो कहाँ हुन्छ र ?
सानो चीज महत्त्वका विषयले सानो सधैँ हुन्छ र ?
यस्तै रत्न समान यो मुलुक हो नेपाल सानो छ र ?
यो संसार चिनाउने नयनमा सानै छ नानी सदा
हाम्रा जीवनका अनेकन कला छन् एउटै श्लोकमा
यो नेपाल त मानचित्रभरिमा देखिन्छ सानो तर
साँच्चै शान्त विशाल सुन्दर छ यो नेपाल सानो छ र ?
प्रतिक्रिया
-
४