– सरोज सर्वहारा

गजल १,
सम्झेन कत्ति कहिल्यै फर्की नआउनेले
छाती चिरेर जान्छन् माया लगाउनेले

के के थियो नहेरी च्यातेर फालिदिए
राखी मुटु पठायो चिठ्ठी पठाउनेले

गर्छन् सधैं पढेझैं, कापी किताब हेर्छन्
छोपी प्रियाको तस्बिर, हेर्दै रमाउनेले

हतपत हतार गर्दै कोरेको चित्र मैं हो,
फुर्सद लिई सजायो तिम्लाई बनाउनेले

कमजोर समय छ मेरो भन्ने बुझेर सायद
आँखा तरे कुनैदिन आँखा जुधाउनेले

आउछन् उडेर युवराज, घोडा चढाइ लान्छन्
को देख्छ सर्वहारा ? सपना सजाउनेले

गजल २,
फलेन मानो चुलो चिसै भो त्यसै कहाँ हो विदेशिएको
न घाम पानी सहन्थ्यो छानो त्यसै कहाँ हो विदेशिएको

अनेक धर्का बटारिएको अभावको मानचित्र भेट्थेँ
नयन नियाल्दा मुमा बुवाको त्यसै कहाँ हो विदेशिएको

म पिल्सिएको छु बाध्यतामा पहाड बोकी हिडिरहेछु
छ बन्धकीमा बुवाको अौँलो त्यसै कहाँ हो विदेशिएको

सबै कुरामा छ मुल्यवृद्धि बढेन कहिल्यै नि श्रमको मुल्य
गरिबको जीवन भो धेर सस्तो त्यसै कहाँ हो विदेशिएको

नयाँ नयाँ क्रान्तिका निमित्त हजार चोटी रगत बगायौँ
उठेन क्यारे ढलेको सिन्को त्यसै कहाँ हो विदेशिएको ।

***

प्रतिक्रिया

सम्बन्धित खवर