✍️ के.बी. पारखी सुवेदी
मुक्तक – एक
तिम्रो खुसी निमोठेर भुईँमा पार्न सकिनँ मैले
खपीरहें चोटहरू तिम्रो भागमा सार्न सकिनँ मैले
सबै उपाय सकिएर विश्वास मात्र बाँकी हुँदा
तिमीलाई दुख्छ भनेर आँसु झार्न सकिनँ मैले ।।
मुक्तक – दुई
आगोको रापले छातीलाई धेरै डामीसकेको छु
पुस माघको ठण्डी बनी धेरै कामीसकेको छु
राम्रो नराम्रो मानिस भनेर सिफारिस नगर
यहाँ धेरै मानिसको नाडी छामिसकेको छु !
मुक्तक – तीन
धर्ती आकाश र जुन कहिल्यै बिर्सनुहुँदैन
नैतिकताले दिएको कानुन कहिल्यै बिर्सनु हुँदैन
मानिस जतिसुकै सगरमाथाको शिखर चढे पनि
खाएको नुन र लगाएको गुन कहिल्यै बिर्सनुहुँदैन।
मुक्तक – चार
कोही मिठा चिप्ला बोलीले मान्छे बने
कोही अघि पछि गर्नै झोलीले मान्छे बने
यस्तै यस्तै चलन चलेको छ हजुर यहाँ
कोही भने रगतको खोलीले मान्छे बने।
मुक्तक – पाँच
कसरी आँखाको नानी बन्नु भो हरे शिव
दिउँसै आकाशका तारा गन्नु भो हरे शिव
कसैले तपाईं भन्दियोस् नभन्दियोस् अहो
अचम्म आफैँले मपाईं भन्नु भो हरे शिव।
प्रतिक्रिया
-
४