✍️ सुमन तिमल्सिना
गजल – एक
नसोची भविष्य जेजे हो उचाल्छन्
सिसाको महलबाट ढुङ्गो उचाल्छन्
जवानी गुम्यो सब गुमाएँ नसोच्नु
बूढा रूखले हेर हाँगो उचाल्छन्
अझै कोपिला नै छु फल बन्छु पहिले
र हेर्छु क कस्ले झटारो उचाल्छन्
उचाले पनि घरको जग पो उचाल्नु
हुरी झन् ती झुप्राको छानो उचाल्छन्
गजल – दुई
गल्ती भए स-साना माफी दिएर हिँड्छन्
सम्बन्धको महत्व बुझ्ने नुँगेर हिँड्छन्
आँशु सबैको हुन्छ एउटै फरक छ साथी
कोही लिएर हिँड्छन् कोही पिएर हिँड्छन्
दुनियाँ कहाँ छ सुल्टो आफैँ बिचार गर्नु
माया गरेर चोखो पागल बनेर हिँड्छन्
दिल भित्र बस्ने ठाउँ लायक भएन मेरो
आफ्नाहरू त्यसैले छुरा धसेर हिँड्छन्
रक्ताम्य दिलको बाटो छिट्टै पखाल्नु प्रिया
देखे भने अरूले झनझन् लिपेर हिँड्छन्
प्रतिक्रिया
-
४