✍️ देव सागर

आयुष,
मलाई थाहा छैन, तिमी यति बेला कहाँ के गर्दैछौ कहाँ भौतारिँदै छौ । म त यतिबेला हस्पिटलको बेड नं १३६ मा छटपटाई रहेकी छु । आत्महत्या गर्दै गरेका जस्ता देखिने केही सलाइनहरूले मलाई एकतमासले हेरिरहेछन् । अझ भनु, मलाई आफ्नो आयु थपिदिँदैछन् । मेरो हातमा थुप्रै सुइहरू कोपिएको छ र सलाइनसम्म पाइप बिछ्याईएको छ । मलाई यिनै पाइपहरूले यताउता गर्न बन्देज गरिरहेका छन् ।
आखिर संसारको नियम नै यस्तै रहेछ । केहि पाउन केहि गुमाउनु नै पर्ने, केही भरिन केही रित्तिनु नै पर्ने, मलाई भर्नका लागि ति सलाइनहरूले आफ्नो आयुको बलि चढाएका छन् । आफु रित्तिएका छन् । कसैलाई रित्तो बनाएर आफु भरिनुमा पनि भयंकर पीडा रहेछ । म आज महशुस गर्दैछु ।

आयुष, म यतिबेला ठुलो दोधारको संघारमा उभिएकी छु । म बाँचेकोमा खुशियाली मनाउँ या नमरेकोमा पश्चाताप गरूँ ? म अन्योलमा छु । म उतिनै बेला मरेकी भए आनन्द हुने थियो । तर बाँच्न त झनै पलपल मर्नुपर्दोरहेछ । म मर्दामर्दै बाँचिरहेकी छु ।

मेरो पेटको दायाँ भागबाट चिरिएको छ । एक दर्जन टाँकाहरूले चिरिएको भागलाई जमाउन हर–प्रयास गरिरहेछन् । घाउ बल्किएर दुखेको छ, तर मेरो पेटभन्दा बढी मन चिरिएको छ । चिरिएको पेटमा त डाक्टरले टाँका लगाइदिए तर चिरिएको मनमा टाँका लगाइदिने कोहि भएन ।

केहि पेनकिलरका ट्याबलेटहरूले मेरो दुखाई कम गराउने असफल प्रयास गरिरहेछन् । घाउ दुखेको त औषधि पाइदोरहेछ । कास मन दुखेको पनि तिमीले केहि औषधि पठाइदेउ न है ।
आयुष, भर्खरै एउटी नर्स आएर सोधिन् । ‘घाउ कत्तिको दुखेको छ ?’ घाउ हेरिन् । घाउको डहन त बरु जसोतसो सहेकै थिएँ । घाउ देख्नासाथ फेरी त्यहि दिन सम्झिएँ । देखिएको घाउभन्दा सयौँ गुणा बढि मन दुखेर आयो ।

आयुष, मैले अतितको कुन पानामा के भनेर चिन्ह लगाउँ त्यो दिनलाई ? कसरि बिर्सुँ त्यो दिनलाई ? जुनदिन म बिना कुनै कारण, बिना कुनै गल्ति कसैको हातको तिखो छुरामा उनिन पुगेँ । म कसरी बिश्वास गरुँ कि त्यो तिखो छुरा कसैले मेरो पेटमा रोपिदियो ।

म नचाँहदा नचाहँदै पनि त्यो कालो दिनलाई अहिले सम्झिरहेकी छु । जुन दिनले मलाई मृत्युको ढोकासम्मै पु¥यायो तर मृत्युको ढोका खुल्न ढिला गरेकोले बाँच्न सफल भएँ । बाँच्न सफल पनि खै कसरी भनु बाँच्न बाध्य भएँ ।

…………………………………………………

सदाजस्तै ट्युसन सकिएपछि घर फर्किँदै थिएँ । झ्याउँ–झ्याउँ गर्ने झ्याउँकिरीहरूले भाका फिँजाएर वाक्क पारिरहेका थिए । वरिपरिका बस्तीलाई साँझको अँध्यारोले छोप्दै आफ्नो अधिकार जमाइरहेको थियो । म पनि छिटो छिटो घर पुग्न पाइला लम्काउँदै थिएँ । त्यति नै बेला जापानबाट साथिले फोन गरी । मैले कानमा इयरफोन लगाएर उसैसँग कुरा गर्दै घरतिर जाँदै थिएँ ।

त्यति नै बेला चालिस पचास बर्ष उमेरको जस्तो देखिने मान्छे ‘बचाउ–बचाउ’ भन्दै हस्याङ–फस्याङ गर्दै मेरो सामुन्नेमै आइपुग्यो । म बेस्सरी तर्सिएँ । उ एकदमै आत्तिँदै र डराउँदै आएको थियो । उसलाई दुई जना मान्छेहरूले छुरा हातमा लिएर पछ्याइरहेका रहेछन् । भाग्दै गरेको मान्छे मेरो पाखुरामा समातेर डाँको छोडेर रोयो । लखेट्दै गरेका मान्छेहरु मेरो अघि आएर ठिङ्ग उभिए । मेरो सातोपुत्लो गयो । हात खुट्टा काप्यो । मेरो हात समाएर अलाप बिलाप गर्दै रोइरहेको मान्छे झनै थरथर कापिरहेको थियो । मेरो पछिपट्टि बसेर छलिने प्रयास गरीरहेको थियो ।

अँध्यारोले मान्छेको अनुहार तिरमिर देखिने बेला भैसकेको थियो । मैले हतपत मोबाइलको लाइट बालेर छुरा लिएका मान्छेहरूतिर हेरेँ । कस्तो संयोग ? मैले लाइट बाल्नु र एक छुरावालाले मुख छोपेको रूमाल फुत्किनु एकैपटक भयो । जब अनुहारमा लाइट बालेँ । तब म छाँगाबाट खसेजस्तै भएँ । त्यो छुरावाला अरु कोहि नभएर तिमी थियौ । अहो ! कस्तो अपत्यारिलो सत्य ? कस्तो भयंकर अचम्म ?

म त तिमीसँग बिगत चार बर्षदेखि संगत गर्दै आएकी मान्छे । म त तिमीलाई माया गरेकी मान्छे । तिमी त मेरो सबैभन्दा नजिकको मान्छे । तिमी त मेरो बिश्वासको मान्छे, हरपल हरक्षण सम्झनामा आउने मान्छे । म कसरी पत्याउँ त्यो छुरा बोकेको मान्छे तिमी हौ भनेर ।

म त बिगतदेखि नै बिहान उठ्दा सबैभन्दा पहिले तिम्रै नाम सम्झँदै ब्युझिएँ र साँझ तिमै्र नाम सम्झिँदै निदाएँ । निदाउथेँ हरेक दिन, तिम्रै तस्बिर टाँसेर छातिमा, तिमी नै आउँथ्यौ मेरो हर–सपनीमा । बिपनीमा पनि त म धेरै भन्दा धेरै समय तिम्रै वरीपरी बिताउँथेँ । कलेजमा तिम्रै वरीपरी, ट्युसन क्लासमा पनि तिमीसँगै हुन्थ्यौँ । लाग्थ्यो, तिम्रो सामिप्यताले मलाई अङ्गालिरहेछ ।

तर म त चिन्नै सकेकी रहेनछु तिमीलाई, बुझेकी रहेनछु तिम्रो अर्को पाटो । चार÷चार बर्ष सङ्गत गर्दा पनि थाहा नै पाएकी रहेनछु तिम्रो रूप । तिमी त नौनी भन्दा कोमल मान्छे, खै कसरी हातमा छुरा बोकेर कसैलाई मार्न भन्दै लखेट्दै मेरो अघि आइपुग्यौ ? मैले कसरी बिश्वास गरूँ त्यो तिमी हौ । यो सब देख्नुभन्दा पहिले मेरा आँखाहरू किन फुटेनन् । छुरावाला आयुष देख्नु पहिले नै यो संसार देख्ने आँखाहरू बन्द हुनुपथ्र्यो, मेरो आँखाले तिमी नदेखिनु पथ्र्यो देखियो । मलाई बिश्वास नै लागिरहेको थिएन कि तिमी त्यहि आयुष थियौ जो मेरो प्रियतम थियौ ।

मलाई थाहा भएन, नजरले नै छुरा चलाउने मान्छे तिमीले हातमा पनि छुरा बोकी हिँड्छौ भनेर । मेरो आयुष त्यति बेला हातमा छुरा बोकेर कसैको जिवन बर्बाद गर्न मेरो अघि उभिएको थियो । म त खै के के सोच्न पुगेँ । तिम्रो अनुहार देख्नासाथ म आँखा चिम्लिएछु र खै कसरी तिम्रै नाम लिएर एक्कासी बेस्सरी चिच्याउन पुगेछु । त्यसको केहि सेकेन्डमै मेरो पेटमा केही उनिएको भान भएको थियो । पेट बेस्सरी दुखेको थियो । त्यसपछि के भयो मलाई केहि थाहा छैन । भाग्दै आएको मान्छेको अवस्था पनि मलाई केहि थाहा भएन ।

घटना भएको तिन दिनपछि मेरो होस आएछ । मेरो होस आउँदा म यहि बेड नम्बर १३६ मा नै पल्टिरहेकी थिएँ । मेरो आडमा बुबा आमा मलाई नै हेरेर बसिरहनुभएको थियो । मेरो पेट भतभत पोलिरहेको थियो । पेट चिरिएर टाँका लगाइएको अवस्थामा थियो । त्यति बेला म खुब पछुताएँ । म यस्तो अवस्थामा बाँच्नुभन्दा मरेकै जाति हुन्थ्यो । म मर्दामर्दै बाचँे, म जिउँदै रहेँ ।

त्यो घटनाको बारेमा पछिमात्र थाहा पाएँ । म फोनमा बोल्दै आएको साथिले फोन काटिनछ र सबै घटना प्रत्यक्ष सुनिछ । उसले नै प्रहरीकोमा फोन गरिदिइछ । घटना भएको केहि समयपछि घटनास्थलमा प्रहरी आइपुगेछ र तिनै प्रहरीले नै हस्पिटलसम्म ल्याएका रहेछन् ।

साथिले फोनमा सुनाएकी थिई । तिमीहरूले त मलाई मरी भनेर छोडेका रहेछौ । मारेर छोडेका रहेछौ । म त्यतिबेला नै मर्नुपथ्र्यो । कमसेकम मेरो यौटा इतिहास रचिने थियौ ‘मेरो प्रेमी आयुषले मलाई छुरा हानेर मारिदियो ।’ भनेर । कमसेकम मलाई माया गर्ने मान्छेको हातबाट मृत्युवरण गर्न त पाउँथेँ । म त्यसो हुनबाट चुकेँ । अहिले पश्चाताप लागिहेछ ।

त्यहि साथिले भनेकी थिई, मलाई ‘मरीसकी छोडिदे’भनेर साथिले भनेपश्चात ‘भाग्यो भाग्यो’ भन्दै दौडिएका रहेछौ । मेरो अनुमानमा त्यो भाग्दै मेरो सामु आएको मान्छे त्यहाँबाट फेरी भागेकोे हुनुपर्छ र तिमीहरु त्यसलाई पछ्याउँदै गरेको हुनुपर्छ ।

म होसमा आएपनि मेरो अवस्था आशलाग्दो थिएन । डाक्टरहरूले नै आश गर्न सकेका थिएनन् । म होसमा आएको भोलिपल्ट म झनै झटिल अवस्थातर्फ पुगेछु । त्यो देखेपछि डाक्टरहरु नै आत्तिए । बुबालाई बोलाएर कोठा बाहिर लगे । मैले कान थापेर सुनिरहेकी थिएँ । डाक्टरले बुबालाई अथ्र्याए, छोरीको अवस्था एकदमै नाजुक छ, छोरी बाँचेर घर फर्कने सम्भावना एकदमै कम छ । छोरीलाई सोध्नुहोस्, उनले कसैलाई देख्न भेट्न मन लागेको छ भने बोलाइदिनुहास्, भेट गराइदिनुहोस् ।

बुबा मसँग आएर त्यहि कुरा सोध्नुभयो । मैले तिम्रै नाम लिएँ । मलाई मन थियो मलाई छुरा हान्न सक्ने मेरो प्रियतमको अनुहार हेरेर अन्तिम श्वास फेर्ने, तर तिमी आएनौ । बरु आयुष घरमा छैन भन्ने खबर मसम्म आइपुग्यो । सायद, तिमी घटना भएको दिनदेखि भागेको हुनुपर्छ । यदि घरमै भएको भए पनि तिमी आउने थिएनौ होला । मेरो अघि उभिने सामथ्र्य थिएन होला । हुन त आफ्नै प्रेमिकालाई छुरा हान्न सक्ने तिमीलाई खिस्स दाँत देखाएर मेरो अगाडि उभिन आउनु पनि खासै ठुलो कुरा थिएन ।

सायद, तिमी घरमा छैनौ भन्ने खबर आएको भोलिपल्ट हुनुपर्छ । घटनाको अनुसन्धान गर्न खटिएको एक टोली मलाई भेट्न अस्पतालमा आइपुग्यो र सोधपुछ गर्यो । उनीहरूले घटनास्थलमा भेटिएको घडि पनि साथमै ल्याएका थिए । त्यो घडि एक महिनाअघि मैले तिम्रो बर्थडेमा गिफ्ट दिएको घडि थियो । मलाई त्यो देख्नासाथ भक्कानो छुटेर आयो । म उनीहरूको अघि नै रोइदिएँ ।

एकछिनपछि केहि सम्हालिएर सोचेँ । मेरो दिमागमा तिम्रो अनुहारले पटक पटक झम्टिरह्यो, मलाई त्यतिबेला पनि तिम्रै यादले सताइरह्यो । आफ्नो त्यस्तो अवस्था हुँदा पनि मलाई छुरा हान्ने मान्छेको माया लागेर आयो । अनुसन्धान गर्ने मान्छेहरूले धेरै बेरसम्म शंका लागेको ब्यक्ति कोहि छन् कि भनेर पटक–पटक सोधिरहेँ । अहँ ! मैले तिम्रो नाम पटक्कै उच्चारण गर्न सकिन ।

सोचेँ, मलाई त डाक्टरले नै बाँच्ने आश मारेका थिए, आफन्तहरुले त झनै अन्तिम इच्छा के छ भनेर सोधिरहेका थिए । म आफुलाई पनि बाँच्छु भन्ने लागेकै थिएन । आखिर म नै यो संसारमा रहँदिन भने तिमीलाई किन जेलमा सडाएर जाउँ । किन बन्धनमा बाँधेर जाउँ । मेरो जिन्दगी बर्बाद गरीदियौ भनेर त्यसको बदलामा मैले किन तिम्रो जिन्दगी बर्बाद गरिदिउँ । अहँ, म तिमीजस्तो निर्दयी हुन सकिन । मैले तिनीहरूलाई तिम्रो नाम नभनेरै फर्काइदिएँ ।

तिनीहरू फर्किएपछि मलाई झनै नमज्जा लाग्यो । म फेरी भक्कानिएर रोएकी थिएँ । आँफैलाई आक्रमण गर्ने मान्छेको माया किन यति धेरै लागेको होला ? आफैसँग प्रश्न गर्न मन लाग्यो । आफैलाई चिथोर्न मन लाग्यो ।

आज घटना भएको पन्ध्र दिन भएछ । सबैले बाँच्ने आशा मारेका मलाई डाक्टरले चलाएको औषधिका ट्याबलेटहरूले काम गर्न थाल्यो, आपैm सकिएर भए पनि स्लाइनहरूले मेरा आयु थपिरहे । म मरेर पनि बाँच्दै गएँ । मेरो स्वास्थ्यमा केहि सुधार आउने सङ्केत देखापरेको छ । आज फेरी अनायासै तिमीलाई सम्झिएँ । त्यसैले कुरुवा कोही नभएको मौका पारेर, नर्ससँग कापि कलम मागेर केहि शब्दहरू कोर्ने प्रयास गरेँ ।

थाहा छैन, तिमी कहाँ छौ । थाहा छैन, तिम्रो ठेगाना, तिम्रो फोन त धेरै दिनदेखि अफ नै छ । मैले यी शब्दहरू किन लेख्दैछु । तिमी त हराइरहेको मान्छे । यो तिमीले पाउने सम्भावना नै रहेन ।
सायद, तिमी त आफुलाई लुकाउने ध्याउन्नमा भौतारिइ रहेको हौला । हुनसक्छ, तिमीलाई त म बाँचेको थाहा नै छैन होला । तिमी प्रहरीको नजरमा त लुक्न सकौला तर मेरो आँखामा कहिल्यै लुक्न सक्ने छैनौ । तिमी कति दिन भाग्न सक्छौ होला ? एक न एक दिन त अवश्य पश्चातापको बाढिले हुत्याएर तिमीलाई मेरो अगाडि नै ल्याईपुर्याउनेमा म ढुक्क छु ।

……………………

आयुष,
आज घटना भएको एक महिना बितेछ । अहिले मेरो स्वास्थ्यमा राम्रो सुधार आएको छ । अब बाँच्ने निश्चित जस्तै भएको छ । यस अर्थमा म नयाँ जीवन लिएर धरतीमा उभिने भएकी छु ।
आयुष, हिजो मलाई पत्रिका पढ्न मन भएर बुबासँग पत्रिका मगाएकी थिएँ । त्यहि पत्रिका पढ्दै जाँदा ‘छुरा प्रहार गरी फरार अभियुक्त पक्राउ’ शीर्षकमा छापिएको समाचारमा नजर पुग्यो । समाचार छापिएको फोटो देखेपछि म तिनछक परेँ ।

प्रहरीले त जसले छुरा प्रहार गरे उसलाई होइन, जो छुरा प्रहारबाट ज्यान जोगाउन भाग्दै गरेको थियो । उसैलाई अभियुक्त बनाएर पक्राउ गरेको रहेछ । उ निर्दोष मान्छेलाई हतकडी लगाइएको थियो ।
समाचार पढ्दै गएँ । त्यसमा तिमीहरू त प्रत्यक्षदर्शी भएर बयान दिएका रहेछौ । तिमीले भनेका रहेछौ । ‘त्यो घटना मैले प्रत्यक्ष देखेको हुँ । त्यो मान्छे छुरा लिएर दौडिँदै आयो र मैले चिच्याउँदा–चिच्याउँदै, प्रतिकार गर्दा–गर्दै मेरी प्रेमिकालाई पेटमा छुरा प्रहार गरेर भाग्यो ।’ अहो ! कस्तो अपत्यारिलो झुट ? मलाई एकाएक चक्कर लागेजस्तो भयो । मैले त्यो समाचार पढेर पुरा गर्नै सकिन ।
घटना भएको बेला घटनास्थलमा प्रहरी पुग्दा तिमीहरू नै थिएनौ, त्यहाँबाट भागिसकेका थियौ भने कसरी तिमीहरू घटनाको प्रत्यक्षदर्शी हौ भनेर बिश्वास गरे अनुसन्धान गर्ने मान्छेहरूले ? के हेरेर अनुसन्धान गरे र जो आफ्नो ज्यान बचाउन भाग्दै गरेको मान्छे समातिन पुग्यो ? पक्कै पनि तिमीहरूले कुनै प्रलोभन देखाएर तिमीहरू जोगिएको हुनुपर्छ । अनुसन्धान कर्ताहरूलाई तिम्रो नाम नबताएकोमा म आँफैलाई घृणा जाग्यो । आफ्नै अनुहारमा थुकिदिन मन लाग्यो ।

आयुष, एक निर्दोष मान्छेलाई दोषि साबित गरेर तिमी कति दिन निर्दोष देखिन्छौ ? हुन त आफ्नै प्रेमिकालाई छुरा प्रहार गर्न सक्ने तिमीलाई यी कुराहरू सामान्य नै रहे । तर अहँ, मैले पटक्कै सहन सकिन । यौटा निर्दोष मान्छे जेल परेर मुख्य दोषि छाति फुलाउँदै हिँडेको मैले देख्न नसक्ने भएँ ।

अहिले तिम्रो अनुहार सम्झँदा रगतले लतपतिएको देखिरहेछु । तिमीलाई मैले यति कुरूप देखिरहेकी छु की म शब्दमा बयान गर्न सक्दिन । मैले साँझ बिहान कुनै हत्याराको अनुहार हेरेर बिताउन सक्दिन । तिमीजस्ता पिशाचहरूलाई उन्मुक्ति दिनु पनि अपराध गर्नुसरह हो ।

के थाहा भोलि यहि समाजमा अरू कसैले पनि ज्यान गुमाउन सक्छन् । तिमी त यो समाजको क्यान्सर हौ । क्यान्सरको उपचार समयमै भएन भने मान्छे मर्छ । तिमीलाई पनि छिट्टै उपचारको खाँचो छ, अन्यथा भोलि हामीले बाँचिरहेको समाज नै ध्वस्त हुनसक्छ ।

त्यसैले अहिले भर्खरै प्रहरी चौकी गएर सबै बृतान्त सुनाउनेछु । तिम्रो नाममा किटानी जाहेरी दिनेछु । त्यो निर्दोष मान्छेलाई न्याय दिलाउनेछु । बरू तिम्रा अन्तिम इच्छाहरू केहि छन् भने पुरा गरीहाल । यतिबेला तिम्रो अन्तिम समय चलिरहेछ ।
………………………………………………….

कथा सङ्ग्रह ‘…………………’ किताबमा छापिएको ‘बेड नम्बर १३६’ शीर्षकको कथा भर्खरै पढिसक्काएँ । कथा केहि फरक लाग्यो । तर मनमा केहि प्रश्नहरू उठे । कथा किन अधुरै छोड्नुभयो ? के आयुष समातिएर जेल गयो ? निर्दोष भनिएको ब्यक्ति छुट्यो त ? के अस्पतालको बेडमा छटपटाइरहेको बिरामीले पनि यस्तो लेख्न सक्छन् । अनि यो जमानामा पनि त्यस्ता मान्छेहरू हुन्छन् ? जो आफैलाई छुरा हान्नेलाई बचाउँछन् ।

एकैछिनमा आफ्नै मनले जवाफ दियो । ‘यो त कथा हो । कथालाई कथाकै रूपमा हेरिनुपर्छ । वास्तबिकतासँग तुलना गर्नु हुँदैन ।’
किताब पढिसकेर अरू किताबकै चाङमा थुपारीदिएँ ।

कथा समाप्त !

 

 

प्रतिक्रिया

सम्बन्धित खवर