✍️ देव सागर

कन्डक्टरको “ढ्याङ–ढ्याङ”को इसारामा नयाँ बसपार्कबाट हुँईकिएको मिनीबस कलंकी पुगेर रोकियो । बस बसपार्क देखि नै मानिसले लगभग भरीईसकेको थियो । बाँकी रहेका तिन चार सिटमा मान्छेहरु हतार हतारमै बसिसकेका थिए । केवल मेरो आडको एक सिटमात्र खालि थियो । कन्डकटरले पुलुक्क भित्र हेर्याे, कुरमुरे र गुदपाक बेच्ने दुई फुच्चेहरु गाडिभित्रै थिए । तथानाम गालि गर्दै ओरल्यो र जाऊँ–जाऊँको इसारामा गाडि कुच्चिने गरी ठोक्यो । तर उसको मुखमा अझै छुटेको थिएन “दमौलि–पोखरा, पोखरा पोखरा”को आवाज ।

मिनीबस कलंकीको जाम छिचोल्दै अघि बढ्दै थियो । कन्डक्टरले “ढ्याङ्ङ” गाडि पिट्यो । गाडिमा लागेको एक मुठि धुलो भुईँमा झर्याे । यतिकैमा हतारिँदै एक युगल जोडी गाडी चढ्यो । कन्डक्टरले उनिहरुलाई भित्र ठेल्दै गाडी फेरी ठोक्यो । कन्डक्टरको हातको इसाराले अल्झाएको गाडिको ब्रेकलाई ड्राईभरले छाडिदियो । गाडी कलंकीबाट पोखराका लागी छुट्यो ।

ति युगल जोडिका दुई थान नजरहरु बसको प्रत्येक सिटमा डुले । तिनिहरुको शरिरबाट निस्किएको पफ्र्यूमको वासनाले मेरो नाकसम्मै लात हान्न आईपुग्यो । युगल जोडीमध्ये पुरुषको नजर सिट खोज्न भौतारिएकै थियो । महिलाको नजर एक्कासी मेरो नजरमा ठोक्किन पुग्यो । उसको नजर एकाएक झुक्यो । उसको अनुहार एकैपटक मेघ गर्जिएर पानी चुहिनै लागेको आकाश झैँ कालोनिलो भएर आयो । उसको अनुहारमा रंगिएको सोह्र श्रृंगारले रोकिदिएनन् उसको अनुहारमा आएको कम्पन, उसका आँखामा लगाएको गाजलले छेक्न सकेन उसको आँखामा देखिएको त्रास । उ हडबढाउँदै आँखा अन्तै मोडि । उसको श्रीमानको नजर भने अझै गाडिकै सिटहरुमा डुलिरहेको थियो । तर गाडिमा मेरो आडको एक सिटभन्दा अरु कुनै सिट खालि थिएन ।

उसको अनुहारको चमक एकाएक हराए पनि मुस्कुराएको सिउँदोले मलाई हेरिरहेको थियो । उसको हातमा सजिएका चुराहरुले मलाई गिज्याईरहेको थियो । उ जति आत्तिई म झनै त्यो भन्दा दुई गुणा बढि आत्तिएँ । उ त अरु कोहि नभएर गतबर्षदेखि भुतपुर्ब बनेकी मेरी आफ्नै प्रेमिका थिई । मेरो बिगत थिई । उहि चाँदनी थिई ।

म उसको अनुहार हेरेरै यतिसम्म सजिलै बुझ्न सकेँ । उ मसँग बोल्नुपर्ने कुनै कारण छैन । उसलाई म चढेकै बसमा आँफुहरु चढ्न पुगेकोमा ठुलो पश्चाताप भैरहेछ । उसलाई मेरो अनुहार देख्नै मन छैन ।

नआउनुथ्यो यस्तो समय, नहुनुथ्यो यस्तो संयोग । आखिर समयले मलाई फेरि एक पटक ठुलो धर्मसंकटमा पार्यो । म चुपचाप आफ्नो सिटबाट उठेर केहि पछि डण्डि समाएर उभिएँ । कन्डक्टरले ति युगल जोडिलाई सिटमा बस्न लगायो ।

मलाई हिँजो जस्तै लाग्छ दशैँ बिदामा घर फर्किँदा उसँगै यस्तै बसमा एउटै सिटमा कुम जोड्दै यात्रा गरेको । तर समय उल्टिईसक्यो । उसँग कुम जोडेर बस्न अरु कोहि आईसकेको छ । बिडम्बना, उ मेरी हो भन्ने मेरो अधिकार छैन । कुम जोडेर बस्ने अधिकार पाएको मान्छे उसकै आडमा छ । त्यहिपनि म बिगतलाई पैतालामा कुल्चिन बिवश छु, म निरिह छु । मलाई समयले लाचार बनाईदिएको छ ।

बस आफ्नै रफ्तारमा कुँँदिरहेको थियो । दृष्यमा देखिएका घरहरु, रुखहरु सडकमा हिँड्दै गरेका मान्छेहरु लाई क्रमस पछि पर्दै थिए । उभिँएको देखेर कन्डक्टरले बस्न भनेर मुडा ल्याएर दियो । म यसैमा टुक्रुक्क परेर बस्दैछु । नचाहँदा–नचाहँदै पनि आक्कल–झुक्कल आँखाहरु तिनै युगल जोडिको वरिपरी डुलिरहेछन् ।

कलंकीबाट छुटेको बस थानकोट पुग्दै गर्दा फेरी कुरमुरेवाला गाडिभित्र छिरीसकेका थिए । उनिहरु हात तेस्र्याउँदै तिनै युगल जोडीको अघि आईपुगे । श्रीमानले चाँदनीलाई सोध्यो ।

कुरमुरे खाउँ है ।
नाई, खानु मन छैन ।
के भयो ? टाउको दुखेको छ ? श्रीमानले पुनः सोध्यो ।
उसले “छ” को इसारामा टाउको हल्लाई ।

उ त्यहि केटि हो, कुनैबेला म सँगै यात्रा गर्दा झण्डै आधा दर्जन कुरमुरे सक्काउँथि । म जिन्दगीको बाटो यात्रा गर्न मात्र चुकेको हुँ तर उसँगै कयौँ पटक ति बाटाहरुमा यात्रा गरेको छु । मलाई थाहा छ उसलाई गाडी लाग्दैन । त्यहिपनि उ श्रीमानको अघि गाडी लागेजस्तै गरीरहेकी छे । म अनुमान लगाउँछु । अचेल उ अभिनयमा पनि पोख्त भैसकिछे ।

सारंगी ¥याईँ–¥याईँ पार्दै गाईने दाई बस चढ्न भ्याए । गाईने दाईले एकैछिनमा लोक गितबाट सुरु गरेर आधुनिक हुँदै पप ¥यापगितसम्म गाएर सक्काए । गाईने दाईहरु बडो चलाख र मन पगाल्न सिपालु पनि भैसकेका छन् । उनिहरु बस चढ्नुअघि बस कुन ठाउँमा जाँदैछ भन्ने हेरेर चढ्छन् र त्यहि बस पुग्ने ठाउँ वरीपरिका मठ मन्दिर तथा रमणिय ठाउँको नामबाटै गित गाउन सुरु गर्छन । त्यो सुन्नासाथ यात्रिहरु अचम्म लाग्नु स्वभाविक नै भयो ।

गित गाउन सुरु गरे गाईने दाई टोपीमा पैसा थाप्दै डुले । श्रीमान चाहिँले रु ५० को नोट निकाल्न खोज्दै थिए । चाँदनीले रु १०० को नोट निकालेर टोपीमा राखिदिई । सायद चाँदनीलाई लागेको हुँदो हो, मेरो श्रीमानलाई धनि साबित गरीदिउँ, पैसावाला देखाउँ । मेरो त रु २० को रातो नोटले बाहेक अरु नोटले गोजि छोड्न मानेनन् । त्यसैलाई आफ्नो हैसियत सम्झिएर खुसुक्क टोपिमा खसाईदिएँ । एकैछिनमा “बाराहि देबिले सबैको रक्षा गरुन् ।” भन्ने बोलको गित रेट्दै गाईने दाई बसबाट ओर्लिए ।

बस आफ्नै रफ्तारमा हुँईकिएकै थियो । “यु” आकारका घुम्तिहरुलाई ड्राईभरले एक एक गरेर पछि पार्दै थियो । तिनै घुम्तिसँगै म बसेको मुडा पनि सँगै बग्न खोजिरहेछ । म सम्हालिँदैछु, यताउताको सिटहरु समातेर जसोतसो थामिईरहेछु ।

सबैभन्दा अघि बसेको ड्राईभरले हरेक सेकेण्ड गाडि आफ्नोे नियन्त्रणमा हिडाईरहेछ । बसको पुछारसम्म ठटरम्म बसेका पचासौँ यात्रुहरुलाई सम्हालिरहेछ । म भने मेरो नाथे मन सम्हाल्न समेत सकिरहेको छैन । मेरो आफ्नै आँखालाई नियन्त्रण गर्न सकिरहेको छैन । र त घरी–घरी उहि युगल जोडीहरुतिरै ठोकिन पुगिरहेछ ।

चाँदनीलाई देखिपछि म आँफैले महशुस गरीरहेछु । म त भु.पु. बनेकी प्रेमिकालाई देख्न मात्रै पनि आत्तिएको रहेछु । सम्झेँ, उसँग बिछोडिएको त्यो बर्षदिन, उ पराई बनेकी त्यो समय, त्यो बर्षदिनभित्र मैले बिताएका कहाली लाग्दा प्रहरहरु, छटपटि र अनिदै बिताएका रातहरु, भतभत पोलेको मेरो छाति, एकोहोरिएको मेरो दिमाग । अहो ! मेरो आँखा एकाएक भरिएर आउँछ ।

आखिर जति नै ठुलो चोट लागेपनि निको हुनै कर लाग्ने रहेछ । सहयात्रिले बिचमै छाडेपनि जिन्दगीको रथ एक्ले भएपनि गुुडाउनै पर्नेरहेछ । तर बाहिरी घाउ निको भएपनि भित्रभित्रै बल्झिरहेने रहेछ । दुखिरहने रहेछ ।

मैले घुम्तिमा बस पुग्दै गर्दा चाँदनीलाई पुलुक्क हेरेँ । घुम्तिमा बस कोल्टिएसँगै चाँदनीको श्रीमानले चाँदनीको टाउकोलाई आड दिने प्रयास गरीरहेको थियो । उसले आफ्नो अंगालोमा भर्न खोजिरहेको थियो तर चाँदनी भने केहि शशंकित देखिन्थि । एकैछिनमा फेरी पुलुक्क हेरेँ, चाँदनीको शिर उसको श्रीमानको अंगालोमा भरिईसकेको थियो । म हत्तपत्त नजर हटाएँ ।

“ल सबैले भाडा दिनुहोस् ।” भन्दै कन्डक्टर मेरै अघि आईपुग्यो । मैले भाडा दिन पर्स निकाल्दै थिएँ । पर्सको एक पत्र पल्टियो र चाँदनीको फोटो झ्याप्प देखियो । कसो कन्डक्टर र अरुले देख्न भ्याएनन् । हत्तपत्त लुकाएँ ।

बिगतमा कुनैबेला चाँदनी अहिले कसैको अंगालोमा भरिएजस्तै मेरो अंगालोमा भरिएकी थिई । त्यहि बखत त्यो तस्विर कैद गरेको थिएँ । आफैलाई अत्याधिक मन परेको उक्त फोटो सानो साईजको बनाएर पर्समा बोकेर हिँड्ने गरेको थिएँ । उसले त मेरो साथ छोडिदिएकी पनि धेरै भैसकेको थियो तर यो फोटोले साथ छोडेको थिएन । आज झण्डै बित्यासमा पारेको थियो । मन ढुकढुक भयो ।
यतिकैमा चाँदनिको फोन आयो । उसले मोबाईल निकालि र फोन उठाई ।
“हेल्लो, आमा !
…………… । (उताबाट आएका आवाज सुनिएको छैन ।)
अँ, ज्वाईँ र म आउँदैछौँ । बसमा छौँ ।
……………… ।
हजुर, डेढ महिनाको बिदामा आउनुभएको हो रे ।
…………. ।
हिँजो दुताबासको कामले आउन पाईएन । आज बिहानै हिँडेको ।
………….. ।
हुन्छ आमा, आएसी बोलौँला ।
चाँदनीको फोनको सम्बाद सकियो । मलाई अनुमान गर्न गाह्रो परेन । उसका श्रीमान बिदेश रहेछन् । र डेढ महिनाको छुट्टिमा घर आएका रहेछन् ।
बस नौबिसे गएर उहि पुरानो गन्हाउने होटल अघि रोकियो । म त बसमा झर्ने चढ्नेको बाटै रोकेर मुडामा बसेको थिएँ । म झर्दैथिएँ, चाँदनीको श्रीमान म भन्दा एक पाईला अघि ओर्लियो । पिसाबले अत्याएको थियो । पिसाब फेर्न जाँदा पनि होटल भित्र पसेरै जानुपर्ने र फर्कदा केहि खाजा खाएर फर्कनुपर्ने होटल ब्यवसायीहरुको पोलिसी । सोही अनुसार ट्वाईलेटतिर सोझिएँ ।

फेरी पनि पफ्र्युमको वासनाले मेरो नाक बिथोल्यो । हेरेँ, मेरो अगाडी उहि चाँदनीको श्रीमान रहेछ । मेरो नाकलाई उहि बिदेशी पफ्र्युमले बिथोलेको रहेछ । ट्वाईलेट नजिकै पुगिसक्दा बिदेशी पफ्र्युमलाई स्वदेशी ओरिजिनल पफ्र्युम(पिसाबको गन्ध)ले जित्यो । नाँक नै थामिनसक्नु गन्हायो ।

खाजा खान भोक त लागेको थियो । झल्याँस्स सम्झिएँ अस्तिनै टेलिभिजनमा देखिएको दृष्य । जुन दृष्यमा देखाईएको थियो नौबिसेकै होटलमा छापा पारेको । कुहिएका कुखुराहरु पकाईएको, खानेकुराहरुमा स्याउँ–स्याउँ किरा चलिरहेको । अहँ, मलाई होटलभित्रको खानेकुरा केहि हेर्नै मन लागेन । चुपचाप गएर रोकिराखेको बसमा चढेँ । म बस चढ्दै गर्दा चाँदनी मात्रै बसमा थिई अरु सबै यात्रुहरु ओर्लिएका थिए । चुपचाप गएर मुडामा बसेँ ।

केहि बेरसम्म बसमा पनि सन्नटा छाईरह्यो । मैले मौनता चिर्दै बोलेँ । “ढिलै भएपनि बैबाहिक जिवनको शुभकामना छ । बर्षदिनपछि आज देखेँ, खुशि लाग्यो । ”

अहँ, चाँदनी केहि बोलिन । उसले धन्यवाद सम्म पनि बोल्न चाहिन । म केहिबेर सम्म कान थापेर सुनिरहेँ । तर उसको मुखबाट कुनै आवाज निस्किएन । उ घोसो मुण्टो लगाएर बसिरही । उसको मनसाय बुझेर म पनि फेरी बोल्ने चेस्टा गरीन । बसभित्र पुनः मौनता छाईरह्यो । केहि बेरमा सबै यात्रुहरु बस चढे र बस पुनः गुड्न सुरु गर्यो ।

प्रसव बेदनाले छटपटाएको आकाशबाट सुर्य उदाएर धेरै माथि पुगिसकेको थियो । उ तन्नेरी हुँदैथियो भने मेरो आँखा अघिकी चाँदनी अरु कोहि बृक्षलाई छहारी दिईरहेकी थिई । अरु कसैलाई माधु¥यता छरीरहेकी थिई ।

चाँदनीको त्यो मौनता देख्दा घरिघरी मनमा अनेक बिचार आउँथ्यो । बेस्सरी डाँडाखोला थर्किने गरी चिच्याएर भनिदिउँ चाँदनी मेरी हो । तर खै केले रोकिन्दिथ्यो मलाई र चुपचाप हुन्थेँ ।

बस गुड्दै कुरीनटार आसपास पुग्यो । तुर्लुङ्ग लठ्ठामा झुण्डिएका केवलकारहरु दौडिरहेका थिए । नचाहँदा नचाहँदै पनि त्यहि दिन सम्झेँ, जुन दिन त्यहि झुण्डिएको केवलकारमा चढेर मनकामना दर्शन गर्न गएको दिन । कलेज हापेर बिहानै गएर बेलुकी काठमाण्डौ फर्किने सहमतिमा मनकामना पुगेका थियौँ । मनकामना पुगेसी एक्कासी मन बदलियो । त्यो दिन काठमाण्डौ नै नफर्किएर त्यहिँ मनकामना मन्दिर नजिकैको होटलमा बसेर भोलि पल्ट फर्किएका थियौँ । मेरो मोबाईलमा अझैपनि चाँदनीका थुप्रै फोटाहरु सुरक्षित थिए ।

मेरो मोबाईलमा अझै पनि उसैको फोन नंबरको सेक्युरेटि कोड थियो । उसैको नामको छुट्टै फोल्डर थियो । त्यहाँ पनि सेक्युरेटि कोड उसैको फोन नम्बरको थियो । मेरो मतलब, म जति पटक फोन हेर्थेँ त्यतिनै पटक चाँदनीलाई सम्झिरहेको हुन्थेँ । तर आज उसँगको यो प्रतक्ष भेट भएदेखि मलाई पछुतो लागीरहेछ । केवल ममात्रै ब्यर्थै उसको सम्झनामा तड्पिईरहेको रहेछु । उसलाई त मेरो केहि मतलव नै रहेनछ । एक्कासी झोँक चलेर आयो । मोबाईलमा भएभरको उसका फोटोहरु एकै पटकमा डिलिट गरिदिएँ । फेरी एकपटक चाँदनीलाई हेरेँ । चाँदनी उसको श्रीमानको काखमा मस्त निदाईरहेकी थिई ।

कलकल बगिरहेको मस्र्याङ्दीको बुई चढेर बसेको पुलको माथिबाट बस मुग्लिङ छोडेर तनहुँ जिल्ला प्रवेश गर्दै थियो । कता–कता त्यहि पुललाई आँफुसँग तुलना गर्न मन लाग्यो । म पनि त्यहि खम्बा थिएँ जुन मेरो जिन्दगीको खम्बामा टेकेर अरु कसैको जिन्दगीमा चाँदनी प्रवेश गरेकी थिई । यात्रु बोकेर गुडिरहेको बस त बरु आज पुल छोडेर गएपनि भोलिपल्ट त्यहि पुल सम्झेर फर्कथ्यो । तर बिडम्बना, उसले त छोडेर गएदेखि कहिल्यै सम्झेकी समेत थिईन । आजबाट त झनै छर्लङ्ग भयो । उ कहिल्यै सम्झने छैन । कहिल्यै फर्कि आउने छैन ।

एक्लेफाँट पुग्दै गर्दा बाटोभन्दा माथितिर लटरम्म सुन्तलाहरु फलेका थिए । ति सुन्तलाका रुखहरुले चाँदनीकै झल्को दिईरहेछन् । चाँदनीको जिन्दगी त तिनै सुन्तलाहरु जस्तै फूल खेलेर फल लाग्ने तरखरमा थियो । तर मेरो जिन्दगी भने ………अहो ! फूल खेल्दाखेल्दै चट्याङ परेर सुकेको रुखजस्तो । ठ्याक्कै उ त्यहि सुन्तला घारीको बिचमा सुकिरहेको रुख जस्तो । त्यति नै बेला मेरो जिन्दगीसँग मेल खाने रुख देखा पर्याे ।
चाँदगीको जिन्दगीले त सायद म यौटालाई छोडेर हुँईकिएको थियो तर आज काठमाण्डौ छुटेदेखि कति मान्छेलाई यस बसले छोडि हिँडयो होला ? कति जना बाटोमै छुटिगए होलान् । अहँ, कुनै लेखाजोखा छैन । आखिर ति सबै रोकिएका होलान् त ? ति सबै निरास होलान् त ? पक्कै पनि छैनन् । आखिर सबैले आफ्नो–आफ्नो जिन्दगी जिउने हो । त्यहि दौडानमा कति भेटिन्छन् कति छुट्टिन्छन् । सम्झिएर, तड्पिएर साध्य हुँदैन । चुपचाप मन बुझाएँ ।

एकनासले हरेक मोडहरुमा हर्न बजाउँदै कुँदिरहेको बसलाई कन्डक्टरले “ढ्याङ्ङ” बजायो । दमौलीको गेटैनेर पुगेर बस रोकियो । अघिसम्म अंगालोमा बाँधिईरहेका युगल जोडि एकाएक उठे । मलाई कता–कता मन अमिलो भएर आयो । बर्ष दिनपछि अकस्मात मेरो आसपासमा उदाएकी चाँदनी एकाएक अस्ताउन खोज्दै थिई । आकाशमा उदाएर अस्ताएको चाँदनी त अर्को दिन पक्कै उदाउँथ्यो । तर मेरी चाँदनी अब कहिले उदाउँछे कुनै टुङ्गो थिएन ।

म चाहेको थिएँ, चाँदनी झर्दैगर्दा भएपनि एक पल्ट पुलुक्क हेरोस्, इसारामै “म झरेँ, तिमी राम्रोसँग गए है ।” भनोस् । तर मेरो त्यो चाहना पनि अधुरै रह्यो । उ एकाएक सिटबाट उठि र हेण्डब्याग टिपी । एक पटक पनि मतिर नहेरी उ बसबाट ओर्लिई । उ मेरो जिन्दगीबाट गएकै थिई । मन बुझाएकै थिएँ । तर आज त उ त्यसै गईन, उसले त मेरो मनमा नराम्ररी लात हानेर ओर्लिई । मेरो चाहना कुल्चिँदै गई । उ निष्ठुरी भैसकिछ । उ साँच्चिकै पराई भैसकिछ । उसको आँखा अन्तिम पटक हेर्ने रहर अधुरो भयो । म नमज्जाले पछारिएँ ।

बरु, उसको श्रीमान बसबाट झर्दै गर्दा मुस्कुराउँदै मेरो नजिक आयो र सिट छोडिदिएकोमा धन्यवाद दिएर गयो । मैले मन नलागी–नलागी उसले दिएको “धन्यवाद” लिएर चुपचाप बसेँ ।

उनिहरु बसबाट ओर्लनासाथ कन्डक्टरले भर्खरसम्म तिनै युगल जोडी बसेको सिटमा बस्न आग्रह गर्यो । म चुपचाप अघि चाँदनी बसेको सिटमा सरेर बसेँ । पफ्र्युमको गन्ध अझै मेटिएकै थिएन । उ बसेको सिट अझै तातै थियो । त्यहि तातोलाई चाँदनीको न्यानोसँग तुलना गरेर बसिरहेँ ।
आखिर मुतको न्यानो एकैछिनको न हो । त्यो न्यानो धेरै बेर टिकेन । करिब एक घण्टा बित्दा नबित्दै बस पोखरा पुगिहाल्यो । मेरो गन्तब्य पनि आईहाल्यो । बस पोखरा पुगेर रोकियो । म बसबाट झर्दैगर्दा एकपटक पुलुक्क चाँदनी बसेको सिटलाई हेरेँ । सिट रित्तो भैसकेको थियो । केवल मेरो मनमात्र चाँदनीको सम्झनाले भारी भएको थियो ।

जति नै मन भारी भए पनि कसैलाई सुनाउन सक्दिन । अचेल जिन्दगी नै पासवर्ड जस्तो लाग्न थालेको छ । कसैलाई पिडा सुनाउँ, जिन्दगी नै कसैले ह्याक गरीदेला भन्ने पिर । नसुनाउँ म बाहेक मेरो जिन्दगी बुझिदिने अरु कोहि छैन ।

बसबाट झरेर घरतर्फ लाग्दैगर्दा सोचेँ, मेरो जिन्दगीमा पनि कोहि त्यस्तो मान्छे आओस् । जसले मेरो मस्तिस्कमा बसेको कसैको तस्विरलाई फर्मेट गरीदेओस् । जसले चाँदनीको नाममा रहेको मेरो जिन्दगीको पासवर्डलाई रिसेट गरोस् र आफ्नो नाउँमा राखोस् । जसले मेरो मानसपटलमा घुमिरहेको उसको यादका थुप्राहरुमा डोजर चलाईदेओस् ।

उसले आफ्नै डिजाईनमा नयाँ नयाँ संरचनाहरु तयार गरोस् । ति संरचनाहरु हरेक बिषम परिस्थितिले हल्लाउन नसकोस् । कसैको सम्झनाका कम्पनीहरुले नहल्लियोस् । त्यहि संरचनाभित्र म अटाउन सकुँ । उसैसाथ बिना हिचकिचाहट मेरो एक जिन्दगीको डुङ्गा सकुशल पार लगाउन सकुँ ।

प्रतिक्रिया

सम्बन्धित खवर