चर्चित कवि, गीतकार तथा नाटककार श्रवण मुकारुङ नेपाली साहित्यमा परिचित नाम हो। भोजपुरमा जन्मिनुभएका उहाँ समकालीन नेपाली साहित्यमा पहिचान, समानता र सांस्कृतिक चेतनाका सशक्त स्रष्टाका रूपमा परिचित हुनुहुन्छ। “बिसे नगर्चीको बयान” कविता नेपाली साहित्यको अत्यन्त चर्चित र प्रभावशाली कृतिमध्ये एक मानिन्छ। राष्ट्रिय कविता महोत्सवमा प्रथम (२०५३), युवा स्रष्टा सम्मान, मोती पुरस्कार तथा मोहन रेग्मी स्मृति पुरस्कारजस्ता सम्मानबाट सम्मानित मुकारुङले कविता, गीत, नाटक र सांस्कृतिक आन्दोलनमार्फत नेपाली साहित्यमा महत्त्वपूर्ण योगदान पुर्‍याउनुभएका कवि मुकारुङको पछिल्लो समय उपन्यास सलह सार्वजनिक भएको छ । यही उपन्यासको सेरोफेरोमा रहेर उपन्यासकारसँग सम्पादक जीवन खत्रीले गरेका पाँच प्रश्न र उपन्यासकारको जवाफ;

१, उपन्यास सहलका बारेमा छोटकरीमा परिचय गराईदिनुहोस् न, जुन पढेर पाठक यस पुस्तक छनोटका लागि आफ्नो धारणा बनाउन सकुन ।

– `सलह´ एक संघर्षशील नारीको जीवन यात्रा हो। जसको माध्यमद्वारा आजको समाज, समय, राजनीति प्रेम आदि विषयलाई हाम्रो नेपाली सौन्दर्य मूल्यद्वारा अभिव्यक्त गर्ने प्रयत्न गरिएको छ। यसलाई मैले प्रयोगपरक शैलीद्वारा अभिव्यक्त गर्ने चेष्टा गरेको छु। यो जमिनको कथा हो। सीमान्तका पारिएका मानिसहरुको कथा हाे।

२, सहल उपन्यासको नामाकरण र यसले संकेत गर्ने बिम्ब कतापट्टी हो ? नेपाली साहित्यमा सलहहरू अनुभव गर्नुभएको छ ?

– सलहलाई मैले मेटाफोरको रुपमा प्रयोग गरेको हुँ। नेपाली समाजमा साधारणतया सलहलाई डिजास्टरको प्रतीकको रुपमा बुझिन्छ। तर यसलाई मैले कथ्यको कायकल्प अर्थात् कन्टेन्ट मेटामोर्फिसस गर्ने प्रयास गरेको छु। अहिले यो यस उपन्यासमा अर्कै रुपमा पाउनुहुनेछ।

३, कवि, गीतकार, सम्पादक प्राज्ञ श्रवण मुकारुङ जो हर कुरा कवितामै भन्न सक्नुहुन्छ । तपाईँलाई समेत उपन्यासको म‍ोह किन भयो ?

– कतिपय विषयले आफै विधाको आग्रह गर्दोरहेछ। मैले जुन विषय छानेँ, त्यसलाई मैले कविता, गीत वा अन्य विधाबाट भन्दा उपन्यासबाट ठिक ढंगले व्यक्त गर्न सक्छु भन्ने लागेर नै याे उपन्यास लेखेको हो। अर्को कुरा, मलाई निक्कै अघिदेखि याैटा उपन्यास लेख्ने रहर थियो। त्यो रहर पूरा गरेको हुँ।

४, मोहन कोइराला, देखि भर्खर सिक्दै गरेका भाइबैनाहरू सम्म समेत संगत गर्नुभयो । त्यति लामो अनुभव साहित्यमा बटुल्नु भएको छ । हिजो र आजमा के फरक छ?

– समयले पनि साहित्यको दुनियालाई आफै रुपान्तरण गरिरहेको हुन्छ। अवश्यमेव: हिजोको साहित्य, साहित्यिक वातावरण र आजको साहित्यिक अवस्था अवश्य फरक छ। हिजो साहित्यमा लाग्ने स्रष्टाहरु गहिरो समर्पण भावले लागेका म पाउथेँ। तिनमा कुनै स्वार्थ वा केही पाउने लालच देखिँदैनथ्यो। एउटा तपस्या, साधना, समर्पण वा त्यसलाई पूजाको रुपमा लिएको म पाउथेँ। तर अहिले त समय बदलिसक्यो । आजका हामी लेखक साहित्यकार छिटो-छरितो, भाइरल वा तत्काल प्रतिक्रियाको अपेक्षा गर्छाैँ। यद्यपि आजका हाम्रा सिर्जनाहरू पनि कम छैनन् । नयाँ स्रष्टाहरूको उपस्थिति बाक्लो छ। अवश्य पनि भोलिको साहित्यिक दुनिया उज्ज्वल छ। सुन्दर हुनेछ।

५, उपन्यास सलह नपढ्ने पाठकको के कुरा छुट्ला?

– सलह उपन्यास पढ्नुभयो भने तपाईंले प्राप्त गर्ने कुरा धेरै हुन सक्छन् । तर पढ्न छुट्यो भने गुमाउने कुरा त के हुन्छ होला र ? म यसै भन्न सक्दिन। यो कुरा त विद्वान समीक्षक, समालोचकहरुले भन्नुहुनेछ । धन्यवाद!

***

प्रतिक्रिया

सम्बन्धित खवर