– विनयकुमार भण्डारी
म मानिस हूँ ।
म त
झ्याल, ढोका , कुटो, कोदालो चबाएर पनि बाँचेकै थिएँ ।
धान त मैले
कविताको लागि फलाउनु परेको हो ।
मसित कविता थियो ।
गहुँ त मैले यसकै लागि
स्वर्गबाट चोरेर ल्याएको हूँ ।
म त दुःख, चिन्ता, समस्याहरु निलेर पनि बाँचिरहेकै थिएँ ।
म त मानिस न हूँ।
साहित्य, दर्शन, सिनेमा पिएर बाँचेकै हूँ ।
सुनकोसी नदी त मैले हजारौं वर्षअघि
देवताहरुसित झगडा गरेर
कविताको लागि
स्वर्गबाट खनेर ल्याएको हूँ ।
मेरो के कुरा गर्नु ।
म त जङ्गलमा बसेकै हूँ ।
पीर त मैले कविताको लिनु पर्ने थियो
त्यसैले
घर त मैले
कविताको लागि बनाउनु परेको मात्र हो ।
मैले बाघ, भालु, हात्ती , घोडाहरुलाई
कहिल्यै भनेँ कि
घाउ भएको खुट्टा लिएर म अब
उकाली ओराली गर्दिन !
मैले मुसा, खरायोहरुको अगाडि कहिल्यै घमण्ड गरेँ कि
औषधी खाए पछि म अब कहिल्यै बिरामी हुन्न ।
यो अस्पताल त मैले
कविताको लागि बनाएको न हूँ ।
म त मानिस न हूँ।
मेरो के कुरा गर्नु !
म त सडकमै सुतेर जिन्दगी कटाइदिन सक्छु ,
म वृक्ष र झारपातहरुसित भिख मागेर
गुजारा चलाइदिन सक्छु ।
सरकार त मैले
कविताको लागि भनेर बनाएको हूँ !
***
प्रतिक्रिया
-
४
