समकालीन नेपाली साहित्यका अग्रणी स्रष्टा नारायण ढकाल पत्रकार, कथाकार, उपन्यासकार, निबन्धकार, कवि तथा राजनीतिज्ञका रूपमा परिचित हुनुहुन्छ।उहाँका पीत संवाद, दुर्भिक्ष र प्रेतकल्प उपन्यास तथा तीन संवत्सर र शोकमग्न यात्री निबन्धसङ्ग्रहलगायत दर्जनौँ कृतिहरू प्रकाशित छन्। नेपाली समाज, राजनीति र मानवीय संवेदनालाई गहिरो कलात्मक ढङ्गले अभिव्यक्त गर्ने ढकाल आफ्नो साहित्यिक योगदानका लागि विभिन्न राष्ट्रिय सम्मान तथा पुरस्कारबाट सम्मानित भइसक्नुभएको छ। ढकालको केही अघिमात्र “जगज्जननी उसकी आमाको नाम होइन” नामक उपन्यास प्रकाशित भएको छ। यसै कृतिको सेरोफेरोमा रहेर सम्पादक जीवन खत्रीले उपन्यासकार ढकाललाई सोधेका पाँच प्रश्न र उपन्यासकार ढकालका जवाफ;

१) जगज्जननी उसकी आमाको नाम होइन, उपन्यासका बारेमा केही बताइदिनुहोस् न ।

– यो मेरो छैटौं उपन्यास हो । मैले यसमा पहिलेभन्दा अलि नयाँ प्रस्थानबिन्दुु रोजेको छु । कला र विचार दुबै पक्षमा । प्रारम्भमा कथानकमा दुई समानान्तर रेखाहरु छन् । तर पछि गएर ती रेखाहरु जोड्ने काम भएको छ । गणितमा समानान्तर रेखाहरु कहिल्यै जोडिदैनन् तर कलामा यो सम्भव छ । गणितमा दुई इन्टु दुई चार बन्छ तर कलामा पाँच पनि बन्नसक्छ । यस कृतिका विषयमा मैले भन्नुभन्दा पाठकले बोल्नु ठिक होला कि ?

२) विशेष त राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालको पृष्ठभूमिमा रहेर उपन्यासको रचना भएको मान्दा फरक नपर्ला । तत्कालिन समयदेखि हालसम्म पनि नेपाली समाजको उन्नयनमा प्रगति हुन नसकेजस्तो लाग्दैन् ? समाजिक दृष्टिकोणबाट हेर्दा कमजोरी कहाँ छ?

– उपन्यासको परिवेश त्यही हो । नेपाली समाजमात्र होइन, अहिले वैश्विक समाज चरम् सकसमा छ । इतिहासको जगमा उभिनु पर्दा मात्र मैले पूर्व राजा ज्ञानेद्रको अश्लील चकचकीको समय रोजेको हुँ ।

३) एउटा कवि, उपन्यासकार वा पत्रकारले समाजका अनेकौँ कमजोरी देख्ने, लेख्ने तर शासकहरू त्यसप्रति कहिल्यै सजग नहुनेजस्तो देखिन्छ । अब समाजलाई साहित्यमार्फत लेख्न खोज्ने नवपुस्तालाई यहाँका सुझाव के के हुन् ?

– दमनकारी राज्य र स्रष्टाबीच सधैं संघर्ष हुँदै आएको छ । यो कुरा बुझ्न म पाठकहरुलाई अल्बानियाली उपन्यासकार इस्माईल कादरेको उपन्यास अ डिक्टेटर कल्स पढ्न सिफारिस गर्छु । यस किताबले तपाईंको प्रश्नलाई अझ राम्ररी जवाफ दिन्छ होला । मेरो चाहिँ त्यही दिशामा एउटा सानो कोसिसमात्र हो ।

४) उपन्यासमा जोडिएका केही पात्रहरूमार्फत नेपाली पत्रकारिताको हरिबिजोग अवस्थालाई ऐनाझैँ देखाउनु भएको छ । नेपाली पत्रकारीताको कमजोरीलाई सच्याउने पर्ने कसरी होला?

– पत्रकारिताको समस्या राज्यको समस्याको एउटा अंग हो । पहिले राज्य सुध्रिनुपर्छ । राज्य जनमैत्री बन्नुपर्छ । त्यसपछि स्वत यो क्षेत्रमा सुधार आउँछ ।

५) प्रेतकल्प लगायत यहाँका अन्य कृति पढेको पाठकले यो उपन्यास किन पढ्नुपर्छ ?

– पाठकले मेरो उपन्यास पढ्नैपर्छ भन्ने तानाशाही आदेश म गर्दिनँ । पाठकको सार्वभौमिकतामा मेरो विश्वास छ । त्यसैले मेरो लेखनमा विश्वास गर्ने पाठकहरुसित मेरो संवाद भए राम्रो हो भन्ने मेरो मत छ । त्यस्तो अवस्थामा मलाई औधी खुसी प्राप्त हुन्छ । जागरुक पाठकहरुले उपन्यासकलाको विषयमा बहश गरेको म राम्रो मान्छु । यस्तो बहशले मलाई अर्को स्तरीय उपन्यास लेख्ने प्रेरणा मिल्छ ।

***

प्रतिक्रिया

सम्बन्धित खवर