– सत्यजीत
“आहा गाउँ त विकसित देखिन्छ।”
आगन्तुकले वरिपरि हेर्दै भन्यो। स्थानीय सुकदेव हल्का मुस्कुरायो-“देखिन्छ… हो।”
“म दस वर्ष अघि आउदा केही थिएन, अहिले कति राम्रो मन्दिर बनेछ!”, सार्वजनिक शौचालय र क्लब पनि ।
यसको कहानी लामो छ हजुर, यो सबै “दानले बनेको हो,” सुकदेवले निधार खुम्च्याउदै भन्यो।
“सबैले सहयोग गरे?”
हो, मन्दिरका लागि त… सबैले जग्गा दान गरे, तर सौचालयका लागि कोही तयार भएनन्।
आगन्तुक केहीबेर चुप रह्यो-“अनि अरू? जस्तै… सार्वजनिक शौचालय र क्लब त?”
स्थानीयले लामो सास फेर्यो- त्यो बेला शौचालय बनाउनका लागि जग्गाको प्रस्ताव गरियो। तर कसैले दान नगरेकाले स्थानीय समाजसेवी बिर्ख बहादुर परियारले जग्गा किनेर आफ्नै श्रमबाट निर्माण गरिदिए। तर उनलाई लाइनमा बस्नेहरुले कहिल्यै सम्झना र सम्मान गर्न जानेनन्।
क्षणभर सन्नाटा छायो। आगन्तुकले केही सोच्दै बाहिरतिर हेर्यो। सदा झैँ त्यो बिहान पनि शौचालय अगाडि लामो लाइन थियो।
“यी सबै सार्वजनिक शौचालयमा…?” स्थानीय हल्का हाँस्यो-“उही मान्छेहरू हुन्; जसले मन्दिरका लागि जग्गा दान गरे तर शौचालयका लागि दान गर्न तयार भएनन्।”
आगन्तुकले मन्दिरतिर फेरि गहिरिएर हेर्यो, सुनसान, ढोका खुला, उपयोग विहीन, तर भित्र शून्य। “अनि… यहाँ पूजा कहिले हुन्छ?” उसले जिज्ञासु हुदै सोध्यो।
सुकदेवले शौचालयतिर औंल्यायो; त्यो सौचालय मन्दिर भन्दा महान र उपयोगी छ, तर पूजा त वर्षमा एकपटक…।
आगन्तुक केहीबेर मौन रह्यो। अनि उसले फेरि सोध्यो- “त्यो मान्छे को हो, जसले शौचालय बनायो?”
सुकदेवले निधारमा हात राख्यो- उ गाउँको ईमानदार गरीब मजदुर हो, जो ज्याला गरेर परिवार पाल्छ।
आगन्तुकले एकैपटक मन्दिर र लाइन दुबैतिर हेर्यो। त्यस क्षण उसले सोच्यो-यहाँ दान आस्थाका लागि गरिएको थियो, तर प्रयोग आवश्यकताले निर्धारण गर्यो। उसले बुझ्यो; “गाउँ चुपचाप उभिएको थियो-आफ्नै निर्णयको विपरीत प्रमाण बनेर।”
***
प्रतिक्रिया
-
४
