रामेछाप- जिल्लाको ऐतिहासिक धार्मिक शक्तिपीठ खाँडादेवीमा बडादशैँको फूलपातीको दिन ठुलो सङ्ख्यामा दर्शनार्थीहरूको घुइँचो लागेको छ ।
खाँडादेवी विकास कोषका कोषाध्यक्ष प्रकाश बुढाथोकीका अनुसार फूलपातीको दिन मात्रै ५ हजारभन्दा बढी भक्तजनले मन्दिरमा दर्शन गर्नुभएको छ । फूलपातीको दिन मन्दिरमा पञ्चबलीसहित ठुलो सङ्ख्यामा बलि चढाइएको छ । राँगो, बोका, हाँस, कुखुरा र परेवा मिलाएर ३० भन्दा बढी पञ्चबली चढाइएको छ । त्यस्तै करिब ६ सयभन्दा बढी बोका र त्यस्तै सङ्ख्यामा कुखुराका भाले, हाँसलगायतका बलिहरू अर्पण गरिएको जानकारी बुढाथोकीले दिनुभयो ।
मन्दिरमा दर्शनार्थीहरूको भीड बढेपछि पूजा र बलि व्यवस्थापनका लागि स्वयंसेवक खटाइएको कोषका अध्यक्ष शेरबहादुर तामाङले बताउनुभयो । उहाँका अनुसार भक्तजनलाई सहज बनाउन लाइन प्रणाली लागू गरिएको छ भने सुरक्षाका लागि प्रहरी र  स्वयंसेवक परिचालन गरिएको छ । स्वास्थ्यको टोली समेत तयारी अवस्थामा राखिएको छ ।


अध्यक्ष तामाङले महाअष्टमी र महानवमीमा अझ बढी भक्तजन आउने भएकाले आवश्यक तयारी भइरहेको जानकारी दिनुभयो । विशेष गरी महानवमीको दिन सरकारी पूजा हुने भएकाले गुठियार र स्थानीयहरूको थप सहभागिता हुने परम्परा रहेको उहाँले जानकारी दिनुभयो ।  मन्दिरमा दर्शन गर्न र भाकल पूजा लिएर आउने भक्तजनलाई लाइनमा राखेर सेवा दिएको उहाँले बताउनुभयो । ‘लाइनमा बस्नको लागि स्वयंसेवक परिचालन गरेका छौँ, सुरक्षाको लागि प्रहरी परिचालन गरिएको छ, स्वास्थ्य समस्या आएमा उपचारको लागि स्वास्थ्यको डेस्क तयारी अवस्थामा राखेका छौँ’, उहाँले भन्नुभयो ।
खाँडादेवी मन्दिरमा रामेछापसहित सिन्धुली, दोलखा, ओखलढुङ्गा, काभ्रे, भक्तपुर, काठमाडौं, ललितपुर, धादिङ, सहित तराईका विभिन्न जिल्ला तथा पूर्वको भोजपुरदेखि भारतसम्मका भक्तजन पूजा आराधनाका लागि आउने गर्छन् ।
मन्दिरको ऐतिहासिक महत्त्व पनि उल्लेखनीय छ । विसं १५७३ मा चढाइएको घण्ट तथा त्यसअघि अर्पण गरिएको चाँदीका जन्तरलगायतका गहना आजसम्म सुरक्षित रहेका छन् । यसले मन्दिरको पुरातात्विक महत्त्व झल्काउँछ ।  जनश्रुति अनुसार नेपाल एकीकरणका क्रममा राजा पृथ्वीनारायण शाहले सिन्धुलीगढीलाई सुदृढ बनाउन खाँडादेवीलाई सहायक गढीका रूपमा निर्माण गर्नुभएको थियो । युद्ध अघि खाँडादेवीमा आशीर्वाद लिएर जाँदा विजय प्राप्त भएपछि उहाँले खाँडादेवीको शिला दरबार लैजान तीन पटकसम्म प्रयास गर्दा पनि बाटोबाटै अलप भएर खाँडादेवीमा नै आएपछि त्यही बेलादेखि खाँडादेवीमा रहेको कमलामाईलाई परेवा, मङ्गलादेवीलाई भाले, भैरवदेवीलाई राँगा, खाँडादेवीलाई बोका पाठी, गणेशलाई हाँस र कुखुराको पोथी बलि दिनु भनी आदेश दिनु भएको र बडादशैँ र चैतेदशैँम सो बलि दिने गरिएको बताइन्छ ।
दरबारले विसं २००९ बाट पूजा खर्च पठाउन छाडेपछि पुजारीहरूले आफैँ खर्च जुटाएर पूजापाठ गर्दै आउनुभएको थियो । हाल खाँडादेवी विकास कोषले महानवमी र चैते दशैँमा सरकारी पूजा गर्ने परम्परा कायम राखेको छ । विसं २०७० मा कोष स्थापना भएपछि मन्दिरलाई व्यवस्थित गर्दै नियमित पूजा आराधनासहित अन्य व्यवस्थापनका काम निरन्तर भइरहेको छ ।
शिवपुराणको हिमवत खण्डमा उल्लेख भए अनुसार रोशमति (रोशी खोला) र (सुवर्ण कौशिका) सुनकोशी नदीको सङ्गम कुशेश्वरमा देवीले वृतासुरको वध गरी दुर्गा नदीमा खड्ग पखालेर खाँडादेवीमा खड्ग गाडी कालिञ्चोकमा अन्तर्ध्यान भएको उल्लेख छ । देवीले गाडेको भनिएको खड्ग अहिले पनि खाँडोदेवीमा छ । यो मन्दिरको वर्णन देवी भागवत महापुराणमा पनि गरिएको पाइन्छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर