साहित्यकार तथा सञ्चारकर्मी सरला गौतम बिशेषत सामाजिक, राजनीतिक र पर्यावरणीय क्षेत्रमा सरोकार राख्ने विषयवस्तुलाई छापा तथा रेडियो पत्रकारिताका माध्यमद्वारा मुखरित गर्छिन् । डुमेरो (उपन्यास), पिँजडाको मान्छे (निबन्धसंग्रह) प्रकाशित गरेकी उनले पछिल्लो समय पर्यासाहित्यको मर्मलाई अवलम्बन गर्दै अम्रिकाने काशी (उपन्यास) प्रकाशित गरेकी छन् । उपन्यास `अम्रिकाने काशी´सँग सम्बन्धित रहेर उपन्यासकार सरला गौतमसँग विविध विषयमा सम्पादक जीवन खत्रीले गरेका पाँच प्रश्न र उत्तर
१) अम्रिकाने काशीका बारेमा परिचय गराईदिनुस न, जसलाई पढेर पाठकले यो कृति छनोटका लागि सहयोग पुगोस् ।
— अम्रिकाने काशी, कुकुरले नेतृत्व गरेको कथा हो । हामीले संसारलाई संधै मानवकेन्द्रित आँखाबाट मात्र हेर्यौं । मान्छे बाहेक अन्य प्राणीको आँखाबाट हेर्दा हाम्रो सामाजिक संरचना कस्तो देखिदों रहेछ, एक दृष्टिकोण प्रयोगको कथा हो । पृथ्वीमा मानब केन्द्रित दृष्टिकोणको क्रमभङगता गर्न यो पुस्तक सहायक हुन सक्छ । यहि दृष्टिकोण युवा पाठकमा पुर्याउनको लागि कथानकता किशोर केन्द्रित छ । किशोर पाठक हँुदै जूनसूकै उमेर समुहको मानिसको लागि काशीले उठाएको कुरा उपयुक्त छन् । बाँकि प्राणी र पृथ्वीको नजरमा हामी सर्वश्रेष्ट होइन, निर्मम र बुद्धि बिबेक नभएको देखिने रहेछौं । मान्छे हुनुको अर्थलाई प्रश्न गरिएको पुस्तक हो अम्रिकाने काशी ।
२) आजका मान्छे अर्को मान्छेलाई समेत कसरी सिध्याउने र आफूमात्र रमाउने भन्नेहरूको बाहुल्यता भएको देखिन्छ । यस्तो बेलामा यहाँले उपन्यासमा बिशेषत प्रकृति सबैको साझा हो । संसार सबैको हो भन्ने भावना प्रस्तुत गर्ने कोशिस गर्नुभएको रहेछ । यस्तो सोच कसरी आयो? उपन्यासको रचनागर्भ के थियो?
—हामीले आजको संसारको सामाजिक, राजनीतिक आर्थिक संरचनालाई मानव केन्द्रित भनिरहेका छौं । तर यो मानवकेन्द्रित पनि छैन । संसारभरका देशमा मुर्खहरुको सासन चलिरहेको देखिन्छ । जो आँफु प्रकृतिको अंश हो भन्ने बिर्सन्छन् र पर्यावरणको निर्मम शोषण गर्नुलाई बहादुरी ठान्छन् । भर्खर चितवन पुगेर आँए । शहरमा हजार मिटरको दुरिमा मानिसलाई चारवटा पिच रोड चाहिएको छ । नगरको काखमा बसेको जंगल कोपरेर बन्जर पारिरहेको छ स्वयं नगरपालिकाले । जंगल मासेर खाल्टो खनिएको छ र डरलाग्दो गरि नगरको सप्पै फोहर त्यसमा पुरिएको छ । अझै पनि हरिणको बथान खेल्दै आँउछन् । त्यो निर्ममता देखेर के भन्दा हुन् बोल्न सक्ने भएको भए ! जंगल मासेर फोहरको थुप्रोमा बनाउन लागिएको पिच रोडलाई मानिसहरु बिकास भनेर मख्ख छन् । आफूले फेर्ने सास, खाने पानी र अन्न बिरुद्ध जेहाद छेड्ने यो कस्तो बिकास हो ?
इहि चेतहीनता नै पर्यावरण लेखनको कारण बनेको हो ।
३) यहाँले यसअघि पनि डुमेरो उपन्यास र पिँजडाको मान्छे निबन्ध कृति समेत प्रकाशित गरिसक्नु भएको थियो । आमसञ्चारमा समेत आफ्नो बलियो उपस्थिती जनाई रहनुभाछ । पर्यवरणको विषयलाई आख्यानकै माध्यम छान्नुभएछ नि किन?
—यस अघि प्रकासित पिंजडाको मान्छे निवन्ध संग्रहमा पनि मैले पर्यावरण र मानवको सम्बन्धकै कुरा गरेकीं थिएं । आमसंचारमा लेखिरहेका बिषयहरुमा पनि पछिल्ला केहि बर्ष पर्यावरणको बिषयलाई सक्दो उठाउने कोशीस गरिरहेको छु । मानवकेन्द्रित गन्थन मन्थनले मात्र हाम्रो सामाजिक न्यायको लेखन सम्पुर्ण हुन सक्दैन । पर्यावरणका कुरा स्वभाविक रुपमा हाम्रो लेखनमा आउनु पर्दछ । यस्का लागि पर्यावरण केन्द्रित लेखन भनेर कित्ताकाटको आवश्यकता नै छैन । राजनीति र सामाजिक नीति सगैं पर्यावरण नीति हिड्नुपर्दछ । बोटे माझि समुदायको जीविकाको पक्षमा बोल्दा नदी किनारको पर्यावरणको कुरा सङगै नगरी कसरी सम्भव छ ? हामीले सफा हावामा सास फेर्नुलाइ सामाजिक र राजनीतिक अधिकार भन्छौं । नदी छेउका बहुमुल्य रुखहरुको निर्मम हत्या गरेर सासको अधिकारको कुरा कसरी पुरा हुन्छ ? सामाजिक न्याय प्राप्तीका लागि प्राकृतिक न्यायको कुरा अनिवार्य सर्त हो । चुरे क्षेत्रका बासिन्दाहरुले काठमान्डौमा दिएको धर्ना मेरा लागि प्रधान मुद्धा हो । समाज र प्रकृति सङगै हिडेन भने बिनास अवश्यंभावी छ । पर्यावरणमाथिको लेखन अब रुचिको बिषय मात्र होइन तत्काल आवश्यकताको बिषय हो ।
४) यहाँले जिवजन्तुको भाषा, उनीहरूको पक्षबाट यो संसारप्रतिको दृष्टिकोण, प्रकृतिको चित्कार र मान्छेले प्रकृतिलाई गरेको दोहन लगायतका कुरालाई कसरी बुझ्नुभयो? काल्पनिकता मात्र त पक्कै हैन होला, यस पछिका केही प्रशंग छन् भने भनिदिनुस न।
— मान्छेले गरिरहेको प्रकृतीको शोषण त बुझ्न गाह्रो कुरा भएन । जनावरहरुको भने मैले निकै भिडीयो नियाँले । प्रत्यक्ष पनि उनीहरुको भाव स्वभाव आदि नियालिरहें । हाम्रो आफ्नोे भाषा नबोल्ने मानिसको पनि हामी भाव बुझ्छौं । जनावर पनि त्यहि हो । उनीहरुको भाव बुझ्न यो पनि म जस्तै यो धर्तीको सह बासिन्दा हो भन्ने कुरा मनमा राखे पुग्छ ।
५) पर्या साहित्यमा कलम चलाउनेहरू निकै कम छन्, नेपाली साहित्यमा त यस्ता कृतिहरू औँलामा गन्न सकिन्छ होला । माया, प्रेम, रोना-धोना, फिल्मी पाराका किताबहरूको भीडमा यस्तो कृतिप्रति पाठकिय नजर कसरी पर्ला? वा यो कृति नपढे पाठकले के छुटाउला?
—साहित्य भनेको एक पन्डितले दुखी पात्रको लागि लेखिदिने कहानी मानिन्छ आजसम्म । यो बिस्तारै फेरिएर उत्प्रेरक भनाइहरुको सङगालोमा पाठक रमाइरहेको समय छ । यस्तो बेला आजको समयको प्रभावकारी बिषय साहित्यमा उठाउनु जोखिम लिनु हो । यो जोखिम लेखकले लिनैपर्छ । हरेक कुराको ट्रेन्ड कुनै न कुनै बिन्दुमा कसैले त सुरु गर्नैपर्छ । दिशा सहि लियौं भने बिस्तारै हिडेपनि सहि ठाँउमा पुगिन्छ । मैले भनिरहेको छु, हामीले हाम्रो लेखनको बाटो आँफै बनाउँदै हिड्ने हो । पाठकको स्थायी स्वादमा फेरवदल ल्याउने हो । पठन संस्कृतिलाई सिमीत घेराबाट निकालेर नयाँ पुस्तामा पुर्याउने हो । आजको भोलि सबै कुरा सम्भव हुँदैन । बिश्व बजारमा उभिन सक्ने बिषयमा कृति लेख्दै गए हामीलाई संसारमा फिंजाउने पाठक तयार हुन्छन् । अब हामीले संसारको सामु ढुक्क उभिएर समसामयीक बिषयमा लेख्न बोल्न सक्ने हुनुपर्छ । यस्का लागि भाइरल लेखन होइन, सचेतना सहितको सुन्दर लेखन आबश्वक छ । हाम्रो भविश्य उज्वल छ ।
***
प्रतिक्रिया
-
४
