रोशन थापा ‘नीरव’ वि.सं. २०२४ असोज ४ गते ज्ञानेश्वर, कालोपुल, काठमाडौँमा जन्म्का हुन् । रामबहादुर थापा शान्तादेवी थापाका सुपुत्र नीरव साझा प्रकाशन, पुलचोकमा जागिरे जिवन समेत व्यतित गरे । भाषासम्पादन, पुस्तकसम्पादन, सिर्जनात्मक लेखनमा सक्रिय नीरवले एम. ए. उतिर्ण गरेका छन् ।
अन्तहीन युद्ध (कथासङ्ग्रह) तेस्रो विश्वयुद्ध (कथासङ्ग्रह), असह्य (कथासङ्ग्रह), कोष्ठकभित्र हाँसो (कथासङ्ग्रह) प्रत्येक श्रवणकुमार अर्थात् युद्ध (उपन्यास), प्रस्थानान्तर…(उपन्यास), स्वप्नसहर (उपन्यास), आवाजहरूको जङ्गलभित्र (उपन्यास—२०७०), अनि अभिमन्यु (उपन्यास), एउटा युद्धान्तर दुःस्वप्नभित्र भ्रम (लामा कवितासङ्ग्रह) प्रकाशित छन् ।

दर्जनौ राष्ट्रिय पुरस्कार र सम्मानले विभुषित नीरवको केही महिना अघि, सन्त्रासका साठी दिन (उपन्यास) प्रकाशित भएको थियो । उक्त कृति मदन पुरस्कारका लागि छनोटमा परेको छ । यसै कृतिमा आधारित रहेर सम्पादक जीवन खत्रीले उपन्यासकार नीरवसँग गरेका पाँच प्रश्न र जवाफ ।

१) सर्वप्रथम यहाँलाई हार्दिक बधाई छ कि यहाँको कृति ‘सन्त्रासका साठी दिन’ मदन पुरस्कारका लागि छनोटमा परेकोमा र तथा शुभकामना पनि छ । कस्तो महशुस गर्नुभएको छ? मदन पुरस्कार जोडिँदा र हिजोमा के फरक हुँदो रहेछ?

—यहाँलाई धन्यवाद । निश्चय पनि गर्व र हर्ष एकसाथ अनुभूत भइरहेको छ । एउटा सर्जकलाई हिजो जति सिर्जनाको चिन्ता हुन्छ र आज पुरस्कारसँग जोडिँदा केही अझ गम्भीर र निरन्तर रूपमा लेखन गर्नका लागि चुनौती हुँदो रहेछ ।

२) ‘सन्त्रासका साठी दिन’को बारेमा परिचय गराईदिनुस न, जसलाई पाठकले यो उपन्यास छनोटका लागि सहयोग पुगोस् ।

—यो एउटा प्रतीकात्मक र प्रयोगात्मक उपन्यास हो । यसमा एक कथामा अनेक प्रयोग गरिएको छ तर विवरणात्मक र वर्णनबाट होइन-पूरै प्रतीक र सूक्ष्म रूपमा । यसमा नेपाली भाषाप्रतिको मोहलाई निजात्मक ढङ्गबाट प्रस्तुत गरिएको छ । ठूलो दर्शन छैन-तर जस्तै समस्यामा पनि अन्ततः सङ्घर्ष गर्नैपर्छ भन्ने चेतनालाई साधारणीकरण गरिएको छ ।

३) यहाँ एक लामो समयदेखि सिर्जनाका साथै सम्पादन कर्ममा पनि हुनुहुन्छ । सिर्जना गर्नु र सम्पादनको अनुभवमा फरकपन हुन्छ कि हुँदैन ?

—अवश्य पनि हुन्छ-नहुने होइन । तर पनि पहिला सिर्जनामा लेखन मात्र गरिन्थ्यो-जहिलेदेखि सम्पादनका कार्य पनि थालनी गरियो-यसले विषयवस्तु मात्र होइन-प्रत्येक कुरामा सजग र गम्भीर बनाउँदो रहेछ । अब त म मात्र होइन- कुनै पनि सर्जकले मैले त सिर्जना गरेको हुँ-बाँकी विन्यास वा भाषा त अरूले जान्ने काम हो भनेर भन्न पाइन्न । किनभने जब लेखन भाषामा गरिन्छ भने पहिला भाषामा पनि सजग त हुनैपर्छ । यो कुरा अरू सर्जकमा लागू हुन्छ वा हुँदैन-मलाई थाहा छैन-तर ममा भने पूर्णरूपमा लागू हुन्छ-भएको छ र भइरहनेछ । यसैले फरकपन भनेको मेरा लागि यही हो ।

४) यहाँले उपन्यासमा उठाउनुभएको साठी दिन त सन्त्रासका हुन् नै तर आज हामीले भोगिरहेका दिनहरू पनि सन्त्रासका हुन् नि । यहाँले सिर्जनामा उठान गरेको विषय र आजको समयमा समस्या कहाँनिर हो ? यसले आउने कैयौँ वर्षसम्म सन्त्रास छोड्दैनन र? समाधान के हो?

—मैले उठान गरेको उपन्यासमा सन्त्रास त्यो आजको नेपाली सन्दर्भमा देखा परेको सहकारी समस्या र यसले निम्त्याएको त्रासले निरीह नागरिकलाई नजानिँदो किसिमले कसरी अँठ्याउन पुगेको छ-यसबारेको चित्रण हो । यसैले मैले उठान गरेको मूल विषयवस्तु नै यही हो । समस्या जताबाट हेरे पनि र जुन युगमा पुगेर देखिए पनि हुन त त्यो सन्त्रास नै हो र त्यो भयावह छ-तर हार्न हुन्न-सङ्घर्ष गर्नुपर्छ भन्ने मूलभाव यसको विषय हो ।

५, सन्त्रासका साठी दिन नपढ्ने पाठकले के छुटाउँछ होला ? अझ सन्त्रासै सन्त्रास बाँचिरहेको आजको मान्छेले शानदार जिन्दगी पनि पाउनु पर्छ होला नि, कसरी पाउन सक्छ ?

—यसबारे मेरो ठूलो र भव्य कुनै दर्शन छैन । बस-यति मात्र छ-जब आर्थिक मामलाको कुरा आउँछ-जस्तै घाँटी जोडिएको मित्र पनि घातकी हुन सक्छ यसले भयावहजन्य सन्त्रास निम्त्याउन सक्छ-यसमा डराएर होइन-सङ्घर्ष गरेर हिँड्नुको कुनै विकल्प छैन । पाठकले यही भावलाई बुझे निश्चय पनि यो उपन्यास रचिनुको सार्थकता सबल हुनेछ ।
***

प्रतिक्रिया

सम्बन्धित खवर