✍️ मौन आवाज

 

म सोचिरहेको छु ।

बज्यै बितिसकेपछि
बाजेले
किन हालेका होलान् सिरानीमुनि ढुङ्गा ?

मेरा बा ले समय तन्काएर हेर्नु हुँदा
देख्नु भएछ बाजेको ओछ्यानमा पहाड
र पुरानो तन्नाबाट मुक्त गरिदिनु भएछ चराहरू !

मेरा बा
पुतलीहरू समाउन दौडिरहनु भएको बेला
मेरि आमाले समयको एउटा उज्यालो कुनामा
मलाई ओराल्नु भएछ !

रगतपच्छे आमाको नाईटो टेकेर

त्यहि दिन पुगेको हुँ
बाजेको वृद्ध हत्केलामा
र मुतेको हुँ
बाजेको अनुहारभरी ।

त्यहि दिन
तस्वीरबाट ओर्लेर बज्यैले
मलाई अङ्गाल्नु भएको थियो रे !

हाम्रो घरको माथिल्लो आकाशमुनि
एउटा घना जङ्गल थियो
जहाँबाट –
बाजेको सपनामा हरदम आइरहन्थे
केहि डरलाग्दा दृश्यहरू !

कहिले –
प्रजातन्त्र जस्ता आतंकहरू
कहिले –
स्वतन्त्रता जस्ता क्रूरताहरू
कहिले –
परिवर्तन जस्ता भ्रमहरू !

बाजे बतासहरू बटुलेर
गाउँतिर डुल्नु हुन्थ्यो
र बिना अनुमति पस्नु हुन्थ्यो
उदास आँखाहरूमा ।

बाजे
आस्थाको पर्खालमा उभिएर
लठ्ठी टेक्दै हिंड्नु हुन्थ्यो ।

बाजे
एक आसावादी हुनुहुन्थ्यो ।

बाजे
एक आदिवासी हुनुहुन्थ्यो ।

बाजे
माछा मार्न खोलामा गइरहनु हुन्थ्यो
र भ्यागुतो लिएर आउनु हुन्थ्यो !

आफ्नै छाप्रोमा आगो लागिसकेपछि
बाजेले –
बोक्नु भएको थियो रे हातमा ढुङ्गा
र व्यवस्थातिर ताकेर हान्दै गर्दा
स्वयं दिवंगत हुनु भएको थियो रे !

कुनैदिन
जीवनको पुरानो समय पल्टाइ हेर्दा
मैले फेला पारेको हुँ
बाजेको सिरानीमुनि एउटा जब्बर ढुङ्गा
जसलाई –
अहिले हामी कुलदेवता मान्छौँ !

मानव सभ्यताको निरन्तरता
सामुहिक विचारधाराको निशानी
समर्पण र विश्वासको प्रतीक
मेरो बाजेको सिरानीमुनिको
त्यो प्राचीन ढुङ्गामा
अहिले
हजुरको श्रीमतीले पेटिकोट
र हजुरले –
आफ्नो ब्राण्डेड अण्डरवयर सुकाउनु हुन्छ !

सरकार !
यसरी जीवनको अघिल्लो पृष्ठबाट
म चुपचाप हेरिरहेछु –
हजुरको नयाँ शासन !

र यतिखेर
बाजेको सिरानीमुनिको त्यो ढुङ्गा बोकेर
म आइरहेको छु
हजुरको अण्डकोष ताक्दै !

प्रतिक्रिया

सम्बन्धित खवर