मौन आवाज

कोही त अवश्य छ ।

जसले पठाइरहेको छ नीला सलहहरु
हाम्रा संस्कृतिका हरिया फाँटहरुमा !

नीलो
निख्खर नीलो भेषमा उपस्थित छ
यतिखेर / समयको रंग !

ठ्याक्कै
आकाश जस्तै
समुन्द्र जस्तै
नीलो हुन्छ यातनाको रंग पनि !

निरन्तर घुमिरहेको पृथ्वीको समस्त गतीहरुमा
जब/ जब ठोकिन्छ चेतनासँग पदार्थ
जब / जब ठोकिन्छ मृत्युसँग अस्तित्व ।

तब / तब यसरी नै
नीलो हुन्छ परिस्थितिहरुको रंग !

जस्तो कि
अनन्त कालदेखि संक्रमणमा हिंडिआएको
हजुरआमाहरुको श्रापित योनी जस्तै
नीलो छ हाम्रो इतिहास ।

जस्तो कि
हाम्रा अचेत मस्तिष्कहरु टेकेर
निर्धक्क कुदिरहेको छ युगौंदेखि नीलो बतास ।

जस्तो कि
हाम्रा घर / गाउँहरु बगाउँदै राजधानी पसिरहेको छ –
नीलो पहिरो ।

जस्तो कि
हाम्रो आदिवासी देह कुल्चेर
यात्रारत छ आधुनिकताको नीलो सभ्यता ।

जस्तो कि
भ्यागुता झैं
बेहोसीको नीलो कुवामा हामी मौन छौं !

जस्तो कि
कोमाग्रस्त हामीहरु केवल हेरिरहेका छौं
आमाहरुको सेतो ब्लाउज
भाउजुहरुको सेतो फरिया
र छोरीहरुका रंगीन फ्रकहरुमाथी
घिस्रिरहेका नीला नीला कामुक आँखाहरु !

हामीहरु
यस धर्तीका मौलिक सन्तानहरु !

हामीहरु मूक हेरिरहेका छौं
तिघ्राका नीला / नीला निलडामहरु
नीला झिंगाहरु
नीला नीला दाँतहरु
नीला नीला प्रकोप र आतंकहरु !

सर्वत्र
नीलो रंग व्याप्त छ यतिखेर !

यतिखेर
अक्षरहरु नीला छन्
कविताहरु नीला छन् ।

यतिखेर
राष्ट्रको झण्डा नीलो छ
नीलो छ राष्ट्रिय गान !

प्रतिरोधमा हिँडिरहेको जुलुस नीलो छ
नारा नीलो छ ।

नीलो छ मसाल
आन्दोलन नीलो छ
नीलै छ आदर्शहरुको स्वरुप !

यतिखेर
हरेक साँझ / बिहान नीलो छ ।

– घाम नीलो छ ।
– जून नीलो छ ।
– सपना नीलो छ ।
– विपना नीलो छ ।

म / सोचिरहेको छु
यो नीलाम्मे माटोमा अब बग्ने रगतको रंग कस्तो हुनेछ ?

किनकी
यतिखेर यो देशको शासकले हेरिरहेको फिल्म पनि
नीलो छ !
***

प्रतिक्रिया

सम्बन्धित खवर