नेपाली साहित्यमा सक्रिय तारा प्रसाद पाण्डेको परिचय यतिमा मात्रै सीमित छैन । उनी अछाम गजल मञ्चको निवर्तमान अध्यक्ष हुन् र पेसाले इन्जिनियर। यही बैशाख ३० गते हुने दोस्रो स्थानीय निर्वाचन २०७९मा बान्निगढी जयगढ गाउँपालिकाबाट स्वतन्त्रबाट वडाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । उनै पाण्डेसँग साहित्यका साथै समसामयिक विषयमा केन्द्रित भएर सेतोमाटो डटकमका लागि मनु विद्रोहीले गरेको कुराकानीको सारांश यस्तो छः
तपाईं कविता, गजल र कथा लेखिरहनु भएको मान्छे राजनीतिमा किन आउनु भो ?
साहित्यको समाज रूपान्तरणमा अप्रत्यक्ष रूपमा बढी भूमिका हुन्छ । प्रत्यक्ष रूपमा समाजका लागि आफ्नो जीवनको केहि समय दिन खोजेको हो । यसलाई राजनीति भने पनि आफ्नो दायित्व लिन कोसिस गरिरहेको छु ।
तपाईंलाई राजनीतिमा लाग्ने प्रेरणा कहाँबाट मिल्यो ?
पछिको समय मैले समाजको लागि केही गर्न पाउछु कि पाउदिन । आज यो जरुरी पनि देखे । यसमा ढिलो गर्न हुन्न जस्तो लाग्यो ।
तपाईंलाई नै स्थानीयबासीहरूले जिताउने किन ?
मेरो इच्छाशक्ति बलियो होला सायद जनताको जीवन रूपान्तरणका सवालमा ।
तपाईंले चुनाव जित्नु र नजित्नुमा अन्तर के छ ?
मैले चुनाव जित्दा जनताको जीवन रूपान्तरणको चावी समाउछु र सेवा गर्छु । हार्दा जनताको सवाल उठाइरहन्छु ।
समाज सेवा गर्ने माध्यमहरू थुप्रै छन् राजनीति नै किन रोज्नु भो ?
यो सेवासँगै समाज बदल्न रूपान्तरण गर्न सकिने माध्याम हो । यो ढिलो भैसक्यो । तसर्थ हामीले हतार गर्यौ । समाज सेवा त सदैव भइ नै रहन्छ ।
राजनीति एक असजिलो पेसा हो ,कुरा एउटा गर्ने व्यवहारमा अर्कै देखाउने प्रवृत्ति हावी छ यस कुरामा तपाईं अरु भन्दा फरक कसरी हुनुहुन्छ ?
लक्षण हेरेर बुझ्न सकिन्छ । राजनीति गर्ने तरिका, राजनितीज्ञको आचरण, जीवनशैली, पृष्ठभुमि आदि इत्यादि । नेताको भित्री मनसाय के छ भन्ने कुरा त बढी ल्याङ्वेजले पनि ठम्याउछन् मानिसहरू ।
नेपाल भ्रष्टाचारको चरम दलदलमा फसेको देखिन्छ । यसैकारण पनि विकासको खुड्किला चढ्न सकेको छैन् । तपाईँले जित्नुभयो भने यो समस्याको समाधान कसरी गर्नुहुन्छ । तपाईँ नै भोलि भ्रष्टाचारमा फस्नुहुन्न भनेर कसरी विश्वास गर्ने ?
सिस्टम पारदर्शी बनाउन भएको प्रविधिको आधुनिक उपाय निकाल्छौ ।
चुनावका जित्न लागि त आर्थिक रूपमा पनि खर्च टन्नै लाग्छ भन्छन्, कसरी जोहो गर्नुभाछ ?
३० हजार रुपैयाँभित्र खर्च पुर्याउने लक्ष्य छ । अहिलेसम्म १० हजार रुपैयाँ सकिएको छ । सबै साथीहरूको सहयोगले गरेका हुन्।
अबको ५ वर्षमा बान्निगढी जयगढ गाउँपालिकामा के कस्ता विकास र सुबिधा हुन्छ ?
सुशासन पूर्ण प्रत्याभूत हुनेगरी भ्रष्टाचारमुक्त पालिकाको रूपमा स्वच्छ सफा सुन्दर र रमणीय बान्निगढिमा । जनतासँगै नगरबस चढेर जनताको सेवामा जानेछ पालिका अध्यक्ष । उत्पादन र उद्योगको पनि बिकास हुनेछ । शिक्षा स्वस्थ र पर्यटनका पनि विशेष कार्यक्रम लागू हुनेछन्।
तपाईंले चुनाव जित्नुभो भने साहित्य क्षेत्रमा के गर्ने सोच छ ?
एउटा सभाहल, एउटा पुस्तकालय मेरो मुख्य प्राथमिकतामा पर्नेछ ।
बान्निगढी जयगढ गाउँपालिकालाई व्यवस्थित र समृद्ध कसरी बनाउनु हुन्छ ?
हरेकलाई काम हरेकलाई समान अवसर ! भन्ने नारासहित जनता आत्मनिर्भर बन्दै रूपान्तरणमा फड्को मार्नेछौ ।
अन्त्यमा आफ्ना मतदातालाई केही भन्नुछ ?
एउटा ऐतिहासिक निर्णयको पर्खाइमा रहेका र खुशीको समाचार सुन्न आतुर रहेका मतदातालाई धैर्य रहन र निर्णायक मतदानका लागि अनुरोध गर्दछु । र तपाइले दिनुभएको यो अवसरको लागि पनि धन्यवाद व्यक्त गर्दछु ।
प्रतिक्रिया
-
४
