युक्रेन युरोपको दोस्रो ठूलो देश हो । युक्रेनमा, एकातिर निकै उब्जाउ मैदानी क्षेत्र, अर्कातिर ठूला उद्योगहरू छन् ।

युक्रेन र रुसको उदयइतिहास करिब उस्तै छ । तर, युक्रेन पश्चिमी हिस्साको युरोपेली छिमेकी, खासगरी पोल्यान्डसँग निकट छ ।

युक्रेनको पश्चिमी क्षेत्रमा राष्ट्रवादी भावना ज्यादा नै छ । युक्रेनमा रुसी भाषा बोल्ने अल्पसंख्यकहरू पनि थुप्रै संख्यामा छन् । औद्योगिक रूपले विकसित पूर्वी क्षेत्रमा उनीहरूको बसोबास बढी छ ।

युक्रेन र उसको छिमेकी रुसबीच अहिले तनाव जारी छ । यो विवादको निहुँ आठ वर्षदेखि सुरु भएको थियो । सन् २०१४ मा रुसतिर झुकाव राख्ने युक्रेनका राष्ट्रपति भिक्टर यानुकोभिजविरुद्ध पश्चिमकाे समर्थन गर्नेहरूले विद्राेह गरे ।
रुसले यो मौकाको फाइदा उठाउँदै क्रिमियाली प्राय:द्वीपमा कब्जा जमायाे भने विद्रोही गुटले पूर्वी युक्रेनको हिस्सा नियन्त्रण गर्‍याे । जनआन्दोलनका कारण राष्ट्रपति भिक्टरले पद छोड्नुपरेको थियो तर त्यतिबेलासम्म रुसले क्रिमियालाई कब्जा गरी आफूमा विलय गराइसकेको थियो ।

किन सम्बन्धमा तनाव ?

सन् १९९१ मा सोभियत संघको विघटनपछि युक्रेन स्वतन्त्र भयाे । त्यसपछि यसले पश्चिमी युरोपसित निकटता बढाउन खोज्यो । तर, युक्रेनकाे याे प्रयासलाई रुसले आफ्ना लागि खतरा ठान्याे । त्यसैले युक्रेन पश्चिमा देश र रुसको खिचातानीमा फस्यो ।

रुसी साम्राज्यदेखि सोभियत संघ र वर्तमान रुससँग युक्रेनी जनताले धेरैखाले उतारचढावको सामना गर्नुपरेको इतिहास छ । दुई देशबीच अहिले देखिएको राजनीतिक विभाजनलाई बुझ्न युक्रेनको इतिहास नियाल्नुपर्ने हुन्छ ।

रुसी राष्ट्रवादीहरूलाई युक्रेनी जमिनको लोभ छ । तर, यहाँ अरु पनि थुप्रै मान्छे र साम्राज्य छन् । बेलाबेला युक्रेनका सीमाहरूमा बदलाव पनि हुने गरेको छ ।

नवौँ शताब्दीमा किभयाली रुसको स्थापना भएको थियो, जुन पहिला ठूलो पूर्वी स्लाभ राज्य थियो । नेता ओलेगले यसको स्थापना गरेको इतिहासकारहरूको मत छ । उनी नोभगोरोदका शासक थिए । पहिले उनले किभ (kiev) लाई कब्जा गरे । नाइपर नदीको किनार रणनीतिक रूपले महत्त्वपूर्ण रहेकाले किभलाई नै किभयाई रुसको राजधानी बनाइएको थियो । १०औँ शताब्दीमा रुरिक वंशको स्थापना भयो । र, राजकुमार भ्लादिमिर महान (युक्रेनी भाषामा प्रिन्स भोलोदिमिर) किभयाली रुसका स्वर्णिम युगका ध्वजावाहक बने ।

सन् ९८८ मा उनले अर्थडक्स इसाई धर्म स्वीकार गरे र यसरी किभयाली रुसमा धर्मान्तरणको सुरुवात भयो । यहीँबाट पूर्वमा इसाई धर्म विस्तारको बाटो खुलेको थियो ।

११औँ शताब्दीमा किभयाई रुसको वैभव यारोस्लाभको शासनकालमा उत्कर्षमा पुग्यो । यस क्रममा किभ पूर्वी युरोपको अहम् राजनीतिक र सांस्कृतिक केन्द्र बनेको थियो ।

विदेशी कब्जा

१३औँ शताब्दीको सुरुवातमा रुसी राज्यमा मंगोलहरूले गरेकाे आक्रमणमा केही शहर ध्वस्त भए ।

सन् १२३७-१२४० को अवधिमा भएको आक्रमणले किभको शक्ति समाप्त पारिदियो । यसपछि मंगोल गोल्डेन हार्डका वंशज तार्तारहरूले कालो सागरको उत्तरी शिरानजिक आफ्नो साम्राज्य (खनैत) स्थापना गरे ।

सन् १३४९ देखि १४३० का बीच पोल्यान्ड र पछि पोलिस-लिथुएनियाली राष्ट्रमण्डलले बिस्तारैबिस्तारै आजको युक्रेनको उत्तरी र पश्चिमी हिस्सालाई आफ्नो कब्जामा लिए ।

सन् १४४१ मा क्रिमियाली खनैत गोल्डन हार्डबाट अलग भयो । उसले आजको दक्षिणी युक्रेनका अधिकांश हिस्सामा कब्जा जमाएको थियो ।

सन् १५९६ मा पोल्यान्डले रोमसँग मिलेर ग्रीक-क्याथोलिक वा संयुक्त चर्चको स्थापना गर्‍याे । यसले पश्चिमी युक्रेनमा प्रभाव जमायो । बाँकी युक्रेन अर्थडक्स इसाई नै रह्यो ।

हेतमन शासन

सन् १६४८-१६५७ मा पोलिस शासनविरुद्ध कजाख विद्रोह भयो । र, हेतमन शासनको स्थापना भयो । यसलाई युक्रेनमा आधुनिक स्वतन्त्र देशको सुरुवात मानिन्छ ।

उता, किभ कमजोर भएकाले उत्तरमा मस्कोसहितको रुसी बस्तीको शक्ति बढ्दै गयो । सन् १६५४ मा पेरेस्लाभल सन्धिपछि हेतमन शासनलाई रुसमातहत रहनेगरी बदल्ने प्रक्रियाको सुरुवात भएको थियो ।

सन् १६८६ मा रुस र पोल्यान्डबीच शान्ति सम्झौता भएपछि उस्मानी साम्राज्यसँग ३७ वर्षदेखि चलिरहेको युद्धको अन्त्य भयो । रुस र पोल्यान्डले हेतमन अर्थात् आजको युक्रेन बाँडेर लिए ।

सन् १७०८ मा इभान स्टेपनोभिज माजेपाले विद्रोह गरे र हेतमन शासन रहेको पूर्वी हिस्सालाई रुसबाट मुक्त गर्ने प्रयास गरे । रुसले उत्तर स्वीडेन र पोल्यान्डविरुद्ध लडाइँ गरिरहेका बेला यो सबै भएको थियो ।

सन् १७६४ मा रुसले पूर्वी हेतमन शासन व्यवस्थालाई भंग गरिदियो । अनि आफ्नो आंशिक प्रशासन चलाउन थाल्यो । किनकि, सन् १७८१ सम्म पूर्ण रूपमा यो रुसमा विलय भएको थिएन ।

रुसी राज

१८औँ शताब्दीमा पोल्यान्ड टुक्रियो । सन् १७७२ देखि १७९५ सम्म पूर्व युक्रेनको अधिकांश हिस्सा पोल्यान्डबाट विभाजन गरी रुसी साम्राज्यमा मिसाइयो ।

सन् १७८३ मा रुसले क्रिमियाली खनैतको माध्यमबाट दक्षिणी युक्रेन कब्जा गर्‍याे । १९औँ शताब्दीमा राष्ट्रिय सांस्कृतिक पुनर्जागरुकतादेखि युक्रेनमा साहित्य, शिक्षा र इतिहासको शोधको विकास भयो ।

पोल्यान्ड विभाजनका क्रममा नियन्त्रणमा लिइएको गलीशा, युक्रेनको राजनीतिक एवं सांस्कृतिक गतिविधिको केन्द्रका रूपमा विकसित भयो । तर, रुसले त्यो बेला आफ्ना सीमाभित्र युक्रेनी भाषा प्रयोगमा प्रतिबन्ध लगाइदियो ।

सोभियत शक्तिको उदय

रुसी सम्राज्यको पतन भएपछि सन् १९१७ मा किभमा केन्द्रीय रादा परिषदको स्थापना गरियो । सन् १९१८ मा युक्रेनले स्वतन्त्रताको घोषणा गर्‍याे । तर, केही प्रतिस्पर्धी सरकारले पूरै युक्रेन कब्जा गर्न खोजे । यही कारण गृहयुद्ध सुरु भयो । अर्कातिर रुसको रेड आर्मीले दुईतिहाइ युक्रेनलाई जित्यो र सन् १९२१ मा युक्रेनियन सोभियत स्पेसलिस्ट रिपब्लिकको स्थापना गरिदियो । युक्रेनको एकतिहाइ बाँकी भूमि पोल्यान्डमा मिसाइयो ।

१९२० को दशकमा सोभियत सरकारले केही राजनीतिक सर्तहरू र प्रतिबन्धसहित युक्रेनको भाषा र संस्कृतिलाई बढावा दियो । यद्यपि, अर्को दशकमा फेरि यस्तो स्वतन्त्रता खोस्यो ।

भीषण अत्याचार

सन् १९३२ मा स्टालिनको सामूहिकीकरण अभियानका कारण युक्रेनमा अनिकालको स्थिति बन्यो । यसलाई युक्रेनमा होलोदोमोर भनिन्छ । यो मानवसिर्जित अनिकालका कारण युक्रेनमा लाखौँ मानिसको मृत्यु भयो ।

सन् १९३९ मा सोभियत संघले नाजी-सोभियत सन्धिको सर्तअन्तर्गत युक्रेनलाई पनि आफूमा विलय गर्‍याे । युक्रेन अब पोल्यान्डबाट सोभियत संघमा आयो ।

यद्यपि, फेरि अवस्था बदलियो । सन् १९४१ मा नाजीहरूले युक्रेन कब्जा गरे । सन् १९४४ सम्म यहाँ नाजीको बोलवाला रह्यो । यस अवधिमा युक्रेनले युद्धका कारण ठूलो नोक्सानी बेहोर्नुपर्‍याे ।

युक्रेनका ५० लाखभन्दा बढी मानिस नाजी जर्मनीसँग लड्ने क्रममा मारिए । यहाँका १५ लाख यहुदीहरूमध्ये अधिकांशलाई नाजीहरूले मारिदिए ।

सन् १९४४ मा स्टालिनले २ लाख क्रिमियाली तातार्सलाई साइबेरिया र मध्य एसिया निर्वासित गरिदिए । उनीहरूमाथि नाजी जर्मनीसित साँठगाँठ गरेको झुटो आरोप लगाइएको थियो ।

विश्वयुद्धपछि

यसबीच सोभियत शासनविरुद्ध युक्रेनमा केही संगठन हतियार लिएर संघर्ष गरिरहेका थिए । सन् १९५४ मा अचानक उठाइएको एक कदममा सोभियत नेता निकिता ख्रुश्चेवले क्रिमियाली प्राय:द्वीपलाई युक्रेनमा मिसाइदिए ।

यसै क्रममा सोभियत शासनको विरोधमा चलिरहेको युक्रेनका विद्रोही सेनाको संघर्ष अन्तिम कमाण्डर समातिएसँगै सकियो । तर, १९६० को दशकमा युक्रेनमा सोभियत शासनप्रति विरोध बढ्दै गयो । सन् १९७२ मा सोभियत शासनको विरोध गर्नेमाथि दमन गरियो । तर, आक्रोश झनै बढेर गयो ।

स्वतन्त्रताको घोषणा

सन् १९९१ मा मस्कोमा ‘कु’को कोसिस भयो । यसपछि युक्रेनले आफ्नो स्वतन्त्रताको घोषणा गर्‍याे । ९० को दशकमा करिब अढाइ लाख क्रिमियाली तार्तारहरू र तिनका वंशज सोभियत संघको विघटनपछि क्रिमिया फर्के । उनीहरू स्टालिनको समयमा निर्वासित गरिएका थिए । सन् १९९४ मा राष्ट्रपति चुनावमा लियोनिद क्राभचुकलाई हराएर लियोनिद कुचमाले पद हासिल गरे ।

उनले पश्चिम र रुससँग सन्तुलन कायम गर्ने नीति अपनाए । सन् १९९६ मा युक्रेनले नयाँ लोकतान्त्रिक संविधान अपनायो र नयाँ मुद्रा राइभन्या जारी गर्‍याे । सन् २००२ मार्चमा आमनिर्वाचनमा कसैले बहुमत पाएनन् । पार्टीहरूले राष्ट्रपति कुचमाको विरोध गरे । उनीमाथि चुनावमा धाँधली गरेको आरोप लगाइयो ।

साेही वर्षको मे महिनामा सरकारले नेटोमा संलग्न हुन आधिकारिक प्रक्रिया सुरु गर्ने घोषणा गर्‍याे ।

ओरेन्ज रिभोलुसन

सन् २०१० फेब्रुअरीमा भिक्टर यानुकोभिच राष्ट्रपति चुनावको दोस्रो चरणमा विजता घोषित गरिए । यसै वर्ष जुनमा संसदले नेटोमा सहभागी हुने योजनाविरुद्ध भोट गर्‍याे । सन् २०१३ नोभेम्बरमा युक्रेनले युरोपेली संघसँग जोडिने निर्णयबाट पछि हट्ने तय गर्‍याे । यसको विरोधमा हजारौँ मानिस सडकमा उत्रिए । रुसको दबाबमा यसो गरिएको उनीहरूको तर्क थियो ।

सन् २०१४ फेब्रुअरीमा सुरक्षाफौजले किभमा ७७ प्रदर्शनकारीलाई मारिदियो । यसपछि राष्ट्रपति यानुकोभिच भागे । र, विपक्षी सत्तामा आयो ।

यसबीच रुसले शक्तिको प्रयोग गरी क्रिमियामाथि कब्जा जमायो । यसबाट शीतयुद्धपछि रुस र पश्चिमा मुलुकबीचको तनाव उत्कर्षमा पुगेको थियो । अमेरिका र युरोपेली संघले रुसमाथि कडा प्रतिबन्धहरू लगाएका थिए ।

हिंसाका सिलसिला

सन् २०१४ अप्रिलमा रुस समर्थक हतियारधारी समूहले रुसी सीमानजिकका केही क्षेत्र कब्जा गर्‍याे । यसबीच मेमा पश्चिमा समर्थक कारोबारी पेत्रो पोरोसेन्कोले चुनाव जितेर राष्ट्रपति पद हात पारे । उता पूर्वी युक्रेनमा संघर्ष चलिरहेको थियो । जुलाई महिनामा रुस समर्थक बलले संघर्ष भइरहेको क्षेत्रको आकाशमा उडिरहेको मलेसियन एयरलाइन्सको एक यात्रुवाहक विमानलाई खसालिदियाे, जसमा सवार सबै २९८ यात्रुकाे मृत्यु भयो । रुसी सैनिक भारी सैन्य उपकरणका साथ पूर्व युक्रेनतिर अघि बढिरहेको कुरा सेप्टेम्बरमा नेटोले भनेकाे थियाे ।

युरोपेली संघसँग निकटता

सन् २०१४ अक्टोबरमा युक्रेनमा भएको चुनावमा पश्चिम समर्थक पार्टीले स्पष्ट बहुमत पायाे । सन् २०१६ सम्म युक्रेनको अर्थव्यवस्था सुध्रियो । २०१७ जुलाईमा युरोपेली संघ एसोसिएसन सम्झौतामा हस्ताक्षर भयो । र, १ सेप्टेम्बरदेखि युक्रेनले युरोपेली संघसँग सम्बन्ध स्थापना गर्‍याे ।

यसपछि २०१८ मे मा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले दक्षिणी रुसलाई क्रिमियासँग जोड्ने एक पुलको उद्घाटन गरे । युक्रेनले यो कदमलाई गैरकानुनी भन्यो ।

दुवै देशले कतिपय मुद्दामा आपसमा आरोपप्रत्यारोप गर्ने गरेका छन् । सन् २०१८ मा आजोभ सागरमा जलसीमालाई लिएर यी दुई देशबीच विवाद भएको थियो ।

रुसी सेनाले युक्रेनको नौकाओमा कब्जा गरेको थियो । यसपछि युक्रेनले आफ्नो सीमावर्ती क्षेत्रमा ‘मार्सल ल’ लगाइदियो ।

(बिबिसीको सहयोगमा)

प्रतिक्रिया

सम्बन्धित खवर