– मन्दिप बास्कोटा
म सधै
क्षितिजको सपना देख्छु
समस्या पहाड भएर उभियो भने
म लहरा भएर लम्किन्छु।
म हिमालको सपना देख्छु
आश र विस्वास पग्लियो भने
अस्तित्व बचाउन म तुसारो भएर बर्सिरहनेछु।
म टहराको सपना देख्छु
आलोचना र विरोधको त्यो रातो भित्तो
यदि उजाड भएर उभियो भने ,
म सुनाखरी भएर मगमगाउदै निहुरिदिन्छु।
म आकाश माथि को सपना देख्छु
जमिन माथिको भागदौडले
यी पैतालाहरु गलायो भने
म वादल भएर उड्नेछु।
म नौलाख ताराको सपना देख्छु
कहिलेकाही भिडमा एक्लै भए भने
मेरा ती विचार हरुलाइ म पलाटी मारेर गन्छु।
म जुनको सपना देख्छु
केहिकथम मन अध्यारियो भने
“अप्पो दिप्पो भव:”म आफ्नो ज्योती आफैभित्र खोज्नेछु।
उ उचाईमा
सधै उचाईकै सपना देख्छु
पैताला गह्रौ भएर उभियो भने
म रिस अहंकार बदला र आक्रोशको तौल घटाउछु।
म गहिराईमा
सधै सागरभित्रको सपना देख्छु
धैर्यता पानी भएर छताछुल्ल पोखियो भने
म ह्वैल भएर त्यसैमाथि लामो यात्रा तय गरेर तैरिन्छु।
म सधै
दिवा सपना देख्छु
यात्रामा सम्भावनाको घाम अस्ताउन खोज्छ भने
म रातको सिमानालाई नि मिचेर लम्किरहन्छु।
म सुन्दरताको र स्वच्छताको सपना देख्छु
आरोपको छिटाहरु लागे भने
म त्यसैमाथी कमल भएर फुल्दिन्छु।
सपनाको भरिएका,
यी मेरा आखाको गहिराई नियाल्दा
कसै न कसैले त्यहा
आफुले जिउने जिन्दगीको प्रतिबिम्ब देखोस् !
म सधै
एक जिउदो मान्छेको
उचाई भन्दा अग्लो,
तौल भन्दा गह्रौ,
अनि पैतालाका डोब भन्दा ठूलै सपना देख्न रुचाउछु।
मेरा
सपना
इच्छा
आकाङ्क्षा
अभिलाषा
महत्वाकांक्षा अनि उदेश्यलाई
स्थानको कुनै दुरीले,
प्रकृतिको कुनै उचाईले,
अनि सागरको कुनै गहिराईले म बाट टाढा लान सक्दैन
किनकी ,
मेरा आखाहरुले,
दुर्भाग्यको रुवाइ रुन मन पराउने छैनन् ।
मेरा छातिहरुले ,
नैरस्यताको श्वास फेर्न चाहेने छैन।
मेरो मनले,
नकारात्मकताको सामिप्यलाइ स्विकार्ने छैन।
मेरो मस्तिष्कले,
बहाना सग सम्झौता गर्ने छैन।
मेरो सोचलाइ ,
भाग्य-दुर्भाग्य ,
समय-समाज,
स्थित-परिस्थिति ,
देश-काल-परिवेश ,
समस्या र अभावसग कुनै गुनासो छैन।
किनकी ,
मेरो जिन्दगीको सम्पुर्ण स्वामित्व म मा नै छ!
मेरो सोच र कर्मको गहिराइ
जति जति गहिरिदै जानेछ ,
एकदिन म त्यति नै उचाई हासील गर्ने मा विस्वस्त छु।
चाहे त्यो सपना होस्
विचार होस्
या त्यो कर्म नै किन नहोस्
अन्तिममा त्यति पुगेर एकठ्ठा हुने त होनि ,
जहाँ बाट बाढिएको हुन्छ।
***
प्रतिक्रिया
-
४