– मन्दिप बाँस्कोटा
आफैबाट उब्जिएको प्रश्न
अनि आफैबाट आएको सहि जवाफ जिन्दगी !
आफैमा एक सुरुवात
अनि आफैमा एक अन्त्य यो जिन्दगी !
एकदिन
सुनौलो भविस्य बोकेर उदाउदो विहानी
अर्कोतिर
सारा थकान मेटाएर अस्ताउदो साझ यो जिन्दगी!
खुशीका वसन्तहरु
दु:खका खडेरीहरु
साथसाथै
आफ्नो अस्तित्व कायम राख्न,
ॠतु सरि बदलाब मागिरहने परिवर्तन यो जिन्दगी !
तुसारो
र तुफानको अगाडि मुस्कुराउदै
निर्भीक उभिनैपर्ने अटल हिमाल,
कदमपिच्छे उक्लनुपर्ने सिढी ,
टुटेपछी सजाउनुपर्ने सपना ,
लडेपछी फेरि उठ्नैपर्ने कोशिश ,
उठेपछि फेरि हिड्नैपर्ने यात्रा,
हिडेपछी फेरि पुग्नैपर्ने गन्तव्य यो जिन्दगी!
ज्ञान र सम्झनाका पुस्तकालय
अनुभवका शास्त्र
प्रश्न र जिज्ञासाका दर्शन
अनि कयौ दृश्य-अदृश्य
कथा र ब्यथाहरुको एक सङ्ग्रालय यो जिन्दगी !
आफ्नै अस्तित्वमा
आफ्नै मौलिक स्वरुपमा
अनि आफ्नै पहिचानमा
एकदिन स्थापित भएर उभिनुपर्ने धरोहर यो जिन्दगी !
जस्तो भए पनि
जहाँ भए पनि
चिटिक्क बनाएर सिङ्गार्दै सजाउनुपर्ने ,
दशै र दिपावालीका ती घरहरु यो जिन्दगी !
रहरको पखेटा
फडफडाउदै नाच्ने पुतली ,
बग्दै जादा
सङ्लिने गतिशील नदि ,
पिसिदै जादा
सुगन्ध फैलाउन सक्ने अलैचिको दाना ,
सबथोक आफैभित्र समाएता पनि
दुनियाँ खोज्दै भौतारीने कस्तुरीको नाभा ,
उमंग
र उन्माद सङ्गाल्दै उफ्रने मृगका पाठाहरु ,
झरिसकेर नाङ्गिए पनि
पुनः सम्भावना बोकेर पलाउने पालुवा ,
अनि
खुसीमा
गर्वको फन फुलाउने गोवन,
निराशामा
पर्पर्याउदै खुम्चने मरिच यो जिन्दगी !
“यसो गर्दा हुन्छ कि “?
“उसो गर्दा पो हुन्छ कि “?
जन्मलाई अन्तिमपलसम्म,
मृत्युले नि टुङ्ग्याउन नसकेको
प्रश्नै प्रश्नको शृङ्खला यो जिन्दगी ।
***
प्रतिक्रिया
-
४