✍️ मन्दिप बास्कोटा

गजल – एक

गाउँभरी बेरोजगारीको हिजो बाढी गएछ
त्यही बाढीमा पौडदै ऊ आज खाडी गएछ

स्वदेशी पहिचान खोज्दै पसीना बगाउने ऊ
आज सिङ्गो आफन्त र परिवार नै छाडी गएछ

गाउँघरमै रम्ने ती रङ्गिन सपना टुटेपछि
भिषा बोकी हिमाली, मधेसी अनि पहाडी गएछ

सुरुका दिनमा त मोबाइल ल्यापटप अनि
घरमा श्रीमतीलाई बुलाकी र साडी गएछ

देशकै भविस्य काँधमा बोकेर हिड्छु भन्थ्यो र
उस्कै बाकस बोकी आज गाउँमा गाडी गएछ

गजल – दुई

जानुपर्दैन खाडी सबै झुप्रा सहर भैदिए
सिर्जनाको मुल फुट्छ यही रम्ने रहर भैदिए

कोही पनि मन्दिर बाहिर हुने थिएनन् यहाँ
नामको बदला छान्न पाउने थर भैदिए

न बाढीले बगाउन्थ्यो न त जाडोले नै मार्थ्यो,
सबैको शिर ओताउने एक घर भैदिए

हरेक वर्ष भोकले रुदैनथ्यो होला मेरो देश
ती बाँझा भूँमीमा सिँचाइको नहर भैदिए

विद्यालय भन्दा वृद्धाश्रम चर्चित हुदैनथे
पराइको त के कुरा आफ्नैको भर भैदिए

प्रतिक्रिया

सम्बन्धित खवर