महेन्द्रनगर – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पर्यटकीय दृष्टिकोणले पनि मझगाउँ विमानस्थल सञ्चालनमा आउनुपर्ने बताएका छन् ।

कञ्चनपुरको महेन्द्रनगरस्थित मझगाउँ विमानस्थल स्तरोन्नतिको शिलान्यास कार्यक्रमलाई आज सम्बोधन गर्दै उनले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको छेउमा रहेको विमानस्थल सञ्चालनमा आउन सके भारतलगायत अन्यत्र मुलुकबाट पनि पर्यटकलाई यहाँ आउन सहज हुने छ भने।

दुई दशक भन्दा बढी समयदेखि सञ्चालनमा आउन नसकेको विमानस्थलको क्षेत्रफल विस्तारसमेत गरिने उनको भनाइ छ ।“२०३० देखि ०५६ सालसम्म सञ्चालनमा आएको विमानस्थल त्यसपछि बन्द रहेछ ।” उनले भने,“आगामी तीन वर्षभित्र निर्माण सक्ने गरी ठेक्का दिइएको छ ।”

उनले धनगढीको विमानस्थल अन्तर्राष्ट्रिय विमानस्थल बनाउने आश्वासन विगतमा दिए पनि आफू मन्त्री भएपछि त्यसका लागि रु एक अर्ब बजेट विनियोजन गरेर काम अघि बढेको जानकारी दिए ।

“राजमार्गदेखि मझगाउँ विमानस्थलसम्मको सडक चार लेनको बनाउन डिजाइन गर्न पनि भनिसकेको छु ।” उनले भने,“त्यसका लागि यहाँबाट गएर छलफल गरेर बजेट विनियोजन गर्छु ।”

विमानस्थल स्तरोन्नतिमा यहाँका पालिका र प्रदेश सरकारले पनि आवश्यक समन्वय र सहयोग गर्नुपर्नेमा उहाँले जोड दिए। रु ४५ करोड ६६ लाख बजेट रहेको उक्त निर्माण कार्यको जिम्मेवारी कान्छाराम केस जेभीले पाएको छ ।

विमानस्थलमा एक हजार ५०० मिटरको रनवे, टर्मिनल भवन र ट्याक्सी स्ट्याण्डलगायतका संरचना निमार्ण हुनेछन् । शिलान्यास कार्यक्रममा मन्त्री आलेसँगै सुदूरपश्चिम प्रदेशका मन्त्री, प्रतिनिधिसभा सदस्य, पूर्वमन्त्री, स्थानीय तहका नगरप्रमुख लगायतको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर