काठमाडौं – पशुपतिनाथ मन्दिरको गजुरसँगै दायाँ बायाँ रहने छत्रावली (पाता) चोइटिएको छ । छत्रावली चोइटिनुलाई संस्कृतिविद्ले अशुभको संकेत मानेका छन् । छत्रावलीमा सुनको जलप लगाईएका हुन्छन् ।

पशुपति क्षेत्र विकास कोषका अनुसार मन्दिरमा बाँदरहरू चढ्ने, उफ्रने र हल्लाउने गरेकाले छत्रावली चोइटिएको हुन सक्ने बताएको छ । कोषका सदस्यसचिव डा. मिलनकुमार थापाले छत्रावली पुरानो पनि भएको र बाँदरहरूले चलाइरहने भएकाले चोइटिएको हुनसक्ने जानकारी दिए ।

छत्रावली मन्दिरको छानोबाट खसेर भक्तजनलाई कुनै चोटपटक नलागोस् भनेर मन्दिरमा खट बाँधेर माथि पुगी बाँधेर अड्काउने काम भएको छ । खट बाँध्नुअघि माथि पुग्नका लागि कोषका तर्फबाट क्षमा पूजा समेत गरिएको थियो ।

कोषले कोषकै संस्कृति महाशाखाका प्रमुख डम्बरबहादुर कार्कीको संयोजकत्वमा विसेट नाइट अरुण बिसेट, पालोवाला भण्डारीहरू सहितको मर्मत समिति बनाएको छ । पशुपतिनाथका मूलभट्ट गणेश भट्टको निर्देशनमा छत्रावलीको मर्मत कसरी गर्ने भन्ने कार्यविधि बनाएपछि मर्मतको काम सुरु भएको छ । अहिले सशस्त्र र पहरा गणका दुई दुई जनाको २४ घण्टे सुरक्षा मन्दिरमा छ ।

एक साताअघि चोइटिएको छत्रावलीलाई मर्मत गर्नका लागि कोषले पुरातत्व विभाग र गुठी संस्थानलाई पत्राचार गरेको थियो । विभागका महानिर्देशक दामोदर गौतमका अनुसार छत्रावलीको अवस्था र त्यसको मर्मत वा पूरै नयाँ बनाउनेबारे विज्ञसहितको टोलीले छानबिन गरी प्रतिवेदन तयार पार्न निर्देशन दिएको थियो । उनले मर्मत गर्दा हुने जानकारी कोषलाई गराएको बताए ।

संयोजक कार्कीले भाँचिएको पाता फेर्ने र सोही आसपासबाट पानी चुहिने ठाउँ पत्ता लगाउने काम भएको जानकारी दिए । ‘गजुरसँगै रहेको छत्रावली चोइटिनु भनेको अशुभको संकेत हो,’ विसेट नाइके अरुण विसेटले भने, ‘गजुरको मुनिको भागमा पानी नछिर्ने गरी तामाको किलाले ठोकी पाताहरू मिलाएका छौं ।’

हाल कालीगढमार्फत् चोइटिएको छत्रावली मर्मत गर्ने काम भइरहेको छ । कोषका अनुसार नयाँ बनाउनु परे सय वर्षसम्म केही नहुने गरी बनाउने योजना बनाए पनि मर्मतले हुने भएपछि काम अघि बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर