गलेश्वर – ‘बेनीको बजार, जता माया उतै छ नजर किरेमिरे जाले रुमाल…’ ।
चर्चित यो गीतका हरफमा भनिएझैँ जता नजर लगाए पनि सुन्दर देखिने म्याग्दीको बेनी बजार कोभिड–१९ को सङ्क्रमणको दर कम हुँदै गएपछि पुनः पुरानै लयमा फर्किन सुरु गरेको छ ।
म्याग्दी नदी र कालीगण्डकीको सङ्गमस्थलमा अवस्थित बेनीबजार प्राकृतिक सुन्दरताले मात्रै होइन ऐतिहासिक दृष्टिकोणले समेत महत्वपूर्ण रहेको छ । इतिहासकारका अनुसार नेपाल एकीरकणका क्रममा गोरखा राज्यले बेनी कब्जा गर्ने बेलासम्म बेनीमा बस्ती थिएनन् ।
वि.सं १८४३ पछि मात्र बस्ती बस्न थालेको बेनी बजार तत्कालीन समयमा भोट तिब्बत र मधेशको प्रमुख व्यापारिक नाकासमेत थियो । सो नाकापछि हाट बजारमा परिणत हुँदै अहिलेको बेनी बजार विस्तार भएको बताइएको छ । बेनी बजार प्राकृतिकरुपले सुन्दर छ । म्याग्दीको प्रवेशद्वारका रुपमा बेनी बजार रहेको छ ।
कोभिड–१९ को महामारी अघि यहाँ दैनिक सयौँ आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल हुने गरेकामा २०७६ साल चैत ११ गतेदेखि लकडाउन गरिएपछि यहाँको चहलपहल शून्य भएको थियो । तर, गत भदौदेखि सङ्क्रमण दर घटेसँगै बेनीमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल सुरु भएको छ ।
पुनहिल, घोडेपानी, रुप्से झरना, अन्धगल्छी, गलेश्वर, धौलागिरि हिमालजस्ता विश्वप्रसिद्ध पर्यटकीयस्थल रहेको म्याग्दीको सदरमुकाम बेनी बजारमा दुई वर्षपछि पुनः चहलपहल बढेको स्थानीयले बताएका छन् ।
कोभिड–१९ को त्रासका कारण पर्यटक आउनसक्ने वातावरण नभएपछि सुनसान वनेका पर्यटकीयस्थलमा असोज सुरु भएपछि पर्यटकको भीड लाग्न थालेको छ । व्यापार व्यवसाय बढ्न थालेको छ । पर्यटकीयस्थल पर्यटकको प्रतीक्षा गरिरहेका छन् ।
वि.सं १८४३ सम्म बेनीमा लाग्ने हाट मेलाले वैदेशिक व्यापारको रुप लिएपछि व्यापार व्यवस्थितत गर्नका लागि पर्वत राज्यले बेनीमा अस्थायी मुकाम राख्न थालेको मोहनबहादुर मल्लद्वारा लिखित ‘पर्वत राज्यको इतिहास’ नामक पुस्तकमा उल्लेख छ ।
इतिहासकार चन्द्रप्रकाश बानियाँका अनुसार त्यतिबेला पर्वत राज्यको राजधानी ढोलठानामा थियो । राजा दिलीपवम मल्ल (डिम्ब मल्ल) गर्मीमा ढोलठान र जाडोमा बेनी झर्ने गर्दथे ।
जाडो छल्नका लागि मात्र ढोलठाना दरबार बेनी झर्न थालेको होइन भन्ने कुरा राजकुलो निर्माण गरेर दरबारले नै खेती गर्न थालेको सिङ्गा नझरेर बेनी झर्न थालेबाट स्पष्ट हुने उनले जानकारी दिए ।
पर्वत राज्यको इतिहासका जानकार बानियाँका अनुसार बेनीको पहिलो बस्ती विश्वकर्माको हो । हतियार निर्माणका लागि उनीहरुलाई बेनी राखिएको हो ।
उनले भने, “गोरखाले बेनी कब्जा मात्रै गरेन, दरबारमा आगजनी गरेर ध्वस्त बनाएको थियो । दरबारको त्यही खरानीमा बेनीको बजार बसेको हो ।” उनका अनुसार विसं १८४३ पछि मात्र बेनी बजारमा बस्ती विस्तार हुन थालेको हो । बेनीमा नेवार बस्ती बसिसक्दा पनि बेनीको मुख्यबजार पारीबेनी थियो । बागलुङ मुस्ताङतिरको थोक बजार पारीबेनी नै थियो ।
बेनीमा स्कुल ÷ पाठशाला नखुल्दै पारी बेनीमा मिडिल स्कुल थियो । त्यही स्कुलपछि मल्लाज स्थानान्तरण भएको हो । पारी बेनीको स्कुल मल्लाज उक्ले पछि मात्र बेनीमा विद्यालय खुलेको इतिहासकार बानियाँले बताए ।
बेनीमा विद्यालय खुलेपछि बस्ती विस्तार हुनेक्रम बढ्दै गएको उनको भनाइ रहेको छ ।
अहिले बजारको स्वरुप फेरिएको छ । जताततै कङ्क्रिट नै कङ्क्रिटका भव्य घर ठडिएका छन् । अति महँगो बजारमध्येको बजार बन्न पुगेको छ बेनी बजार ।
वैदेशिक रोजगारीका कारण गाउँबाट सहर झर्नेको क्रम तीव्ररुपमा बढेको छ । गाउँ खाली भए पनि बजार भरिएको छ । घरजग्गाको कारोवार गर्ने व्यापारीका अनुसार अब बेनीमा घडेरीका लागिसमेत जग्गा पाइन छोडेको छ ।
पर्यटकलाई लक्षित गरेर करोडौँको लगानीमा स्तरीय होटल, रेस्टुराँ निर्माण गरिएको छ । बैंक तथा वित्तीय संस्था बढेका छन् ।
यहाँको जीवनस्तरले काँचुली फेरेको छ । वार्षिक रु चार अर्बको हाराहारीमा विप्रेषण भित्रिने म्याग्दीमा पर्यटन व्यवसाय पनि उत्तिकै फस्टाउँदै गएको छ । होटेल र यातायात क्षेत्रमा यहाँका व्यवसायीले ठूलो लगानी गरेका छन् ।
बेनी नगरपालिकाको ७ र ८ गरी दुई वटा वडामा समेटिएको बेनीबजार ५१२ हेक्टर क्षेत्रफलमा फैलिएको छ । १४.४५ जनघनत्व रहेको बेनी बजारमा २०६८ को जनगणनाको तथ्याङ्कअनुसार दुई हजार घरधुरी र सात हजार जनसङ्ख्या रहेको छ ।
प्रतिक्रिया
-
४
