सउल, द. कोरिया – ईपीएसमार्फत दक्षिण कोरिया आई श्रम गरिरहेका नेपाली सहित प्रवासी श्रमिकको प्रवेशाज्ञा अवधि एक वर्ष थप हुने भएको छ । कोरोना महामारीका कारण कोरियामा प्रवासी श्रमिक भित्र्याउने रोकिएको प्रक्रिया पुन सुचारु भए पनि बिभिन्न कारण सहज नभएपछि यहीँ काम गरीहरेका मजदुरहरूको प्रवेशआज्ञा १ वर्ष थप हुने भएको हो ।

दक्षिण कोरिया सरकारले यहाँ श्रम गरिरहेकाहरू मध्ये सन् २०२‍२ अप्रिल १३ देखि डिसेम्बर अन्तिमसम्ममा प्रवेशआज्ञा सकिन लागेका नेपाली सहित सम्पूर्ण प्रवासी श्रमिकहरूको प्रवेशआज्ञा १ वर्ष थप गरेको हो ।

निर्णयअनुसार ईपिएस प्रकृया मार्फत दक्षिण कोरिया आई ई – ९ प्रवेशआज्ञामा श्रम गरी प्रवेशाज्ञा सकिन लागेकाहरूले १ वर्ष थप प्रवेशआज्ञा पाउने छन् ।

ईपिएस नियमानुसार पहिलो कार्यकालमा ३ वर्ष प्रवेशआज्ञा पाउँछन् । ३ वर्षे अवधी समाप्त भएपश्चात कम्पनी र श्रमिकको सहमतिमा थप १ वर्ष १० महिना सहित ४ वर्ष १० महिना बस्न पाउँछन् । पहिलो कार्यकाल सकेर अनिवार्य आफ्नो देश फर्किनु पर्छ । पुन: प्रतिवद्ध श्रमिकको रुपमा दोस्रो कार्यकालका लागि कोरिया आएका श्रमिकको समयावधी पनि पहिलो कार्यकालकोझैँ हुनेछ ।

हाल १ वर्ष प्रवेशआज्ञा थपिनेमा पहिलो वा दोस्रो जुनसुकै कार्यकालको भए पनि यहि अप्रिल १३ देखि डिसेम्बर अन्तिमसम्ममा ३ वर्षे अवधी वा ४ वर्ष १० महिना अवधी सकिन लागेकाहरू पर्छन । अवधी सकिन लागेकाहरूलाई यहाँको ईमिग्रेसनले आफैँ १ वर्ष बसाई अवधी थपिदिने छ । जसका लागि केही दिनपछि हाईकोरिया वेभसाईट वा आफ्नो ईपिएस आईडीबाट आफ्नो थपिएको अवधीबारे जानकारी लिन सकिनेछ ।

दक्षिण कोरिया सरकारले यसअघि पनि गत वर्ष सन् २०२१ अप्रिल देखि डिसेम्बर सम्म र सन् २०२‍२ जनवरी देखि अप्रिल १२ सम्म प्रवेशआज्ञा अवधी सकिनेहरूका लागि १ वर्ष प्रवेशआज्ञा थपिदिएको थियो । पहिल्यै १ वर्ष अवधी थपिनेहरूबाट अप्रिल देखि जुन अन्तिमसम्म थप अवधी समेत सकिनेहरूका लागि समेत ५० दिन थप प्रवेशआज्ञा दिने निर्णय भएको छ ।

यो निर्णयले दक्षिण कोरियामा रहेका प्रवासी मजदुर मध्ये ७७ हजार ९४ जनाको १ वर्ष अवधी थपिएको छ । तेस्तै १ वर्ष थपिएर पनि सकिन लागेकाहरूको हकमा थपिने ५० दिनको अवधी थप पाउनेमा ५ हजार ६ सय चौवालिस जना रहेका छन् ।

कोरोनाका कारण थपिएको १ वर्षे प्रवेशआज्ञा पाउनेहरूले अघिल्लो पटकको नियमझैँ यसपटक पनि कम्पनी चित्त नबुझेमा १ पटक कार्यस्थल परिवर्तन गर्न सकिने छ । ३ वर्षे कार्यकालमा ३ पटक र पछि थपिने १ वर्ष १० महिनाको अवधीमा २ पटक कार्यस्थल परिवर्तन गर्न पाउने भएपनि उक्त अवधीमा कार्यस्थल परिवर्तन गर्न कम्पनी मालिकको अनुमति चाहिने प्रावधान छ तर कोरोनाको कारण १ वर्ष थप अवधीमा भने कम्पनी मालिककले रोक्न नपाउने नियम रहेको प्रवासी मजदुर संघ (एमटियूक)का अध्यक्ष उदय राईले बताउनु भयो ।

यो निर्णयले कोरिया अझै बसेर श्रम गर्दै कमाउँछु भन्नेहरूका लागि अवसर बन्न पुगेको छ भने नेपाल लगायत अन्य देशमा रहेर सम्पूर्ण प्रकृया पूरा गरी कोरिया जान पर्खिरहेकाहरूमा कोरिया प्रकृया बिस्तारै हुने सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर