दक्षिण कोरियामा नेपाली लगायत सम्पूर्ण स्वदेशी तथा वेदेशी मजदुरहरूको न्यूनतम तलब बढेको छ । सोमबार बसेको ज्याला निर्धारण समितीको बैठकले हाल पाईरहेको तलबमा ५ प्रतिशतले वृद्धि गरि प्रतिघण्टा ९१६० वन कायम गरेको हो ।
सन् २०२२ देखि लागु हुने यो तलब अनुसार हालको प्रतिघण्टाको ज्याला ८७२० कोरियन वनबाट ४४० वन बृद्धी भएको हो । यसअनुरुप हप्तामा ५ दिन र दैनिक ८ घण्टा मात्र काम गर्दा पनि मासिक १९ लाख १४ हजार ४४० वन हुनेछ । यो रकम झण्डै दुई लाख रुपैँया हो ।
न्यूनतम ज्याला निर्धारण समितिमा ९ सदस्यहरू रहेका थिए । समितिमा मजदुरका पक्षबाट, कम्पनी ब्यावसायीहरूको तर्फबाट र सर्वसाधारणका तर्फबाट प्रतिनिधित्व हुने गर्दछ। सोमबार सरकारी कम्प्लेक्स सेजोङमा भएको लामो मिटिङले मध्यरातमा ज्याला बढाउने निर्णय गरेको हो ।
न्यूनतम ज्याला निर्धारण समितीको बैठकमा मजदुरका तर्फबाट प्रतिनिधित्व गर्नेहरूले अहिलेको ८ हजार ७ सय २० वनबाट १० हजार वन बढी माग राखेका थिए भने ब्यवसायीहरुको तर्फबाट प्रतिनिधित्व गर्नेहरुले भने ८ हजार ७ सय २० नै कायम गर्नुपर्ने अडान लिएका थिए । कोरोना महामारीका कारण ब्यवसाय धरापमा परेको भन्दै उनीहरुले ज्याला बढाउन नहुने तर्क गरेका थिए ।
मजदुरका प्रतिनिधी र ब्यवसायीका प्रतिनिधीहरू बीच निष्कर्ष निस्किन नसकेपछि सर्वसाधारणबाट प्रतिनिधित्व गर्नेहरूले मध्यमार्गी बाटो सुझाएका थिए । उनीहरूले नै प्रतिघण्टा ४ सय ४० वन बृध्दि गर्न प्रस्ताव गरेका थिए र सहमति भएको थियो ।
प्रतिघण्टा ४ सय ४० वनको बृद्धि भनेको ५.०४६ प्रतिशतको बृद्धि हो। तर न्यूनतम ज्याला निर्धारण समितीले औपचारिक प्रयोगका लागि ५.१ प्रतिशतको बृद्धि मानेको छ ।
कानूनी रुपमा न्युनतम ज्याला निर्धारण समितिले बढेको ज्याला कोरियाको श्रम मन्त्रालयमा सिफारिस गर्दछ र श्रम मन्त्रालयले अगष्ट ५ मा ज्याला घोषणा गर्नेछ ।
मजदुरको लागि महिनाको १० हजार वन पुर्याउने चुनाबी लक्ष्य राखेका राष्ट्रपति मुनजे ईनको कार्यकालको अन्तिम अन्तिम चरणमा पुग्दा पनि सफल हुन सकेनन् । तेे पनि मुन जे इनको कार्यकालमा सन् २०१८ मा १६.४ प्रतिशत, सन २०१९ मा १०.९ प्रतिशत, सन २०१९ मा २.९ प्रतिशत तथा सन २०२० मा अहिलेसम्मकै सबैभन्दा कम १.५ प्रतिशत तलब बृद्धि भएको थियो ।
प्रतिक्रिया
-
४