खप्तडमा ५० वर्ष बिताएका खप्तड बाबा सन्यास लिनुअघिसम्म प्रतिभावान् चिकित्सक थिए । यी आध्यात्मिक गुरु तथा विचारक भारतको कश्मीरमा बस्ने नेहरू परिवारमा जन्मिएका हुन् । कोलकाताको ट्रपिकल मेडिकल कलेजबाट एमबीबीएस र बेलायतबाट सर्जनको अध्ययन गरेका उनले जब काशीको दक्षिणामूर्ति मठमा रहेर पूर्वीय दर्शनको अध्ययन गरे, त्यसपछि गहन साधनाका लागि नेपालको खप्तड लेक रोजेका थिए । विसं १९८६ मा नेपाल आए । स्वामी सच्चिदानन्द सरस्वती पनि भनेर चिनिने उनको धर्म विज्ञान, विचार विज्ञान, म र मेरो कर्तव्यलगायतका झन्डै डेढ दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन् ।
आजको विवेक क्याप्सुलमा खप्तड बाबाको पुस्तक विचार विज्ञानबाट केही जीवन उपयोगी अमृतवाणीहरूलाई सकंलित गरेर प्रस्तुत गरेका छौँ । उनका विचारलाई मनन् गर्ने हो भने हाम्रो जीवन बदलिनुबाट कसैले रोक्न सक्दैन । आउनुहोस् सुविचारमा विचरण गरौँः
– यदि तिमी आनन्द, आरोग्य, ऐश्वर्य प्राप्त गर्न चाहन्छौ भने विचारहरूलाई शुद्ध बनाउने अभ्यास गर ।
– सब औषधीहरूमा स्वास्थ्यको आशा नै बलवान् औषधी हो ।
– प्रेम केवल मानसिक शान्तिको मात्र होइन, शारीरिक रोगको पनि असल वैद्य हो ।
– विचारमा एकाग्रता हुनु जरूरी छ । यसैले एकाग्रतापूर्वक जुन कुराको विचार गर्छौ, त्यसमा तिमीलाई सफलता अवश्य होला । तिम्रा मनमा जस्ता विचार उत्पन्न हुन्छन्, उस्तै नै कार्यमा तिमी प्रवृत्त हुन्छौ । तिम्रा सब कार्य विचारहरू माथि निर्भर छन् । विचारहरूको परिणामबाट तिमी कहिल्यै पनि बच्न सक्दैनौ ।
– कुनै व्यक्ति भाग्य, भाग्य भनी चिच्याउँछ र ऊ ठान्दछ त्यो उसको सामथ्र्यभन्दा बाहिर छ । तर यथार्थमा मनुष्य आफ्नो भाग्यको स्वयं निर्माता हो किनभने जस्तो उसको विचार हुन्छ उस्तै नै उसका सव कार्य पनि ती विचारहरूको अनुकुल नै हुनेछन् । यदि मानिसले सही ढङ्गले विचार गर्न सिक्यो भने भाग्य उसको हातका कठपुतली बन्ने छ ।
– सुखका बाहेक अन्य विचारहरूलाई मनमा आउन नै नदेऊ, किनभने मनमा सदैव जस्तो सोचिरहन्छौ उस्तै दशा प्राप्त हुन्छ । जुन वस्तुको सदा ध्यान रहन्छ उही वस्तु आफूतिर आकर्षित हुन्छ । यदि कोही धेरै दीन दशामा पुगेको छ भने उसको हिनताको कारण उसका विचार नै हुन्छन् । मनमा उठ्न लागेका विचार नै भविष्यका बीज हुन्छन् । दुःख र दरिद्रताका विचार दुःख र दरिद्रतालाई बढाउँछन् । सुखका विचार मनमा दृढ नगरी कोही सुखी हुन सक्दैन । मन खेत समान हो । त्यसमा केही न केही विचार उत्पन्न हुँदै रहन्छ । कुनै पनि विचार सुख वा दुःख दिने हुन्छ । यस कुरामा ध्यान राख्यौ भने तिम्रो जीवन सुध्रिने छ ।
– जस्तो हुने इच्छा छ । आफूलाई उस्तै नै मान । दुई र दुई मिलेर चार हुनु जति सत्य छ । उति नै यो सिद्धान्त पनि सत्य छ, अनुभूत छ । हेर र अनुभव गर ।
– भगवान्ले गीतामा भन्नु भएको छ– पाप काठ समान हो र ज्ञान अग्नि समान हो । काठ धेरै छ र अग्नि थोरै भए पनि सब काठहरूलाई भस्म गरिदिन्छ । उस्तै अलिकति उत्तम विचार भए तापनि त्यसले धेरै दिनका नराम्रा विचारहरूलाई नाश गरिदिन्छ ।
– नराम्रा विचार गर्नाले आफ्नो मात्र हानी नभई अरूको पनि हानि हुन्छ र त्यसको प्रभाव धेरै टाढासम्म पुग्न सक्दछ ।
– उन्नति–मार्गको मूल–मन्त्र शुभ–सङ्कल्प हो । सङ्कल्पबाट नै यस जगत्को उत्पत्ति र स्थिति छ । यो रहस्य जसलाई ज्ञान भएको छ त्यो उन्नतिको मार्गमा धेरै शीघ्रताले चल्न सक्छ । मार्गमा कठिनाइहरू धेरै आउँछन् तर ती कठिनाइहरू उसलाई हानिकारक हुँदैनन् । उसलाई यस लोकमा दुःखले सताउँदैन । उसलाई यो लोक र परलोक दुवै सुखदायी हुनजान्छन् ।
– अनुचित भोजन, अशुद्ध वायु सेवन, मलिन वस्त्र धारण तथा शरीरलाई मलिन राख्नु, अधिक विचार गर्नु, यी कार्यहरूबाट र मादक पदार्थ सेवन, साँघुरो (कसिएका) बस्त्र, साँघुरो जुत्ता लगाउनाले मस्तिष्कमाथि धेरै बोझ पर्दछ ।
– अधिक व्यायाम गर्नु वा किञ्चित पनि व्यायाम नगर्नुबाट पनि पनि मस्तिष्क निर्बल हुन्छ ।
– मानसिक स्वतन्त्रता मनुष्यको सबभन्दा ठूलो जित हो ।
– “म समर्थ छु, जुनसुकै काम पनि जब म हातमा लिनेछु त्यसलाई अवश्य पूरा गर्ने छु ।” यस मन्त्रलाई पूर्ण शक्ति र आत्म–संयमका साथ दिनमा धेरै पटक जप गर । यदि स्थिरता साथ यसलाई उपदेश मानेर अभ्यास ग¥यौभने इच्छा–शक्ति, आकर्षक–शक्ति, मानसिक–शक्ति र व्यावहारिक योग्यताको विकास, आफ्नो तथा अरूको लागि पनि गर्न सक्छौ । गर्नु, नगर्नु तिम्रो हातमा छ ।
– जब मस्तिष्कमा प्रेम, विरोध, प्रशंसा वा निन्दाको लहर उठ्दछ, तव त्यसले अर्काको मस्तिष्कमाथि आफ्नो प्रभाव पार्दछ । पहिलाको मस्तिष्कको प्रभावबाट दोस्राको मस्तिष्कमा प्रेम वा वैरभावना उत्पन्न हुन जान्छ । यदि तिमी कसैसँग प्रेम गछौं भने ऊ पनि तिमीसँग प्रेम गर्ला र शत्रुता गर्छौ भने शत्रुता गर्ला । धेरै जसो देखिएको छ कि जस्तो विचार तिम्रो मस्तिष्कमा अर्काको प्रति उत्पन्न हुन्छ, ठीक उस्तै विचार उसको मनमा तिमीप्रति पनि उठेको हुन्छ ।
– मानिसका मनमा सदैव नयाँ विचार उत्पन्न हुँदै रहन्छन् । मानसशास्त्र वेत्ताहरूले के सिद्ध गरेका छन् भने मानिस जो श्वास लिन्छ ती प्रत्येक श्वासमा तीन–तीन नयाँ विचार उत्पन्न हुन्छन् । अर्थात एक मिनेटमा ४८ देखि ५४ सम्म नयाँ विचार उन्पन्न हुन्छन् । बन्दुकमा छर्रा भरेर छोड्नाले चारैतिर फैलेर कुनै पुरा परिणाम हुँदैन तर उनै छर्राको गोली बनाएर छोड्नाले भयङ्कर परिणाम हुन्छ ।
– सन्ध्याकाल वा रात्रिको अन्धकारमा आँखा चिम्लेर आफूभित्र नियाल र जे–जे त्रुटिहरू तिमीभित्र छन् तिनलाई निकाल्ने प्रयत्न गर । जे कुरा तिमी चाहन्छौ त्यसको मनमा कल्पना गर । बारम्बार यस्तो चिन्तन गर्नाले मस्तिष्कमा तिनको ध्यान चिरस्थायी हुन जाने छ र जीवनमा भित्रभित्रै परिवर्तन हुन लाग्नेछ ।
– जुन मनुष्यहरूले तिमीलाई हानि पुर्याए, तिम्रो निन्दा गरे अथवा जो तिम्रा शत्रु छन्, उनका व्यवहारहरूलाई बिल्कुल बिर्सिदेऊ । उनका अनिष्टकारी प्रभावहरूलाई आफ्नो मस्तिष्कमा ग्रहण हुन नदेऊ । उनका प्रति दया र क्षमाका विचारहरूलाई प्रेरित गर, कहिल्यै कसैको निन्दा नगर, ग¥यौ भने त्यसको नराम्रो असर तिमीमा नपरी रहने छैन ।
– एकान्तमा बसेर १० मिनेटसम्म आँखा चिम्लेर मस्तिष्कमा पीतवर्णको ज्योतिको ध्यान गर, यसबाट तिम्रो मस्तिष्कमा ओजस्वी वृद्धि भई मस्तिष्क बलवान् हुनेछ ।
– अनुभवी महात्माहरू के भन्दछन् भने जगत्को प्रत्येक जड वस्तुको जसरी आकार र रङ्ग हुन्छ उसरी नै विचारहरूको पनि रङ्ग र आकार हुन्छ । तर विचार सूक्ष्म छन्, यसैले उनको र रङ्ग र आकार हुन्छ । तर विचार सूक्ष्म छन्, यसैले उनको आकार र रङ्ग यी बाहिरी नेत्रहरूबाट देखिदैनन् । केवल जसको अन्तर्दृष्टि छ, उनैलाई देखा पर्छ ।
– प्रतिदिन केही समय एकान्तमा बिताऊ, मौन रहने गर । वाणीको मौन पनि बडो लाभकारी छ । यी दुवै भगवद्–ध्यान र नाम–स्मरणमा अति सहायक छन् ।
– वाणीको संयम गरेर अनावश्यक कुरो कहिल्यै नगर तथा कसैको निन्दा र चुक्ली पनि नगर न त स्तुति नै गर । कठोर बचन नबोल, असत्य तथा अरूको अहित गर्ने शब्द कहिल्यै नबोल । मनमा भय, अशान्ति द्वेष, विषाद्लाई कहिल्यै आउन नदेऊ । भगवान्को दया अथवा आत्माको पवित्रता र नित्यता माथि विश्वास गरेर सदा शान्त, निर्भय र प्रसन्न रहने उद्योग गर ।
– उत्तेजनाबाट सदा बच्ने गर । धैर्य कहिल्यै नछोड, उत्तेजना र अधैर्यले शारीरिक र मानसिक रोग उत्पन्न हुन्छन्, जसबाट छुट्नु कठिन हुन जान्छ । कसैको अनादर नगर तथा कसैलाई घृणा पनि नगर र कसैको चित्त नदुखाऊ । स्वयं सहू, तर स्वार्थबश कसैलाई कष्ट नदेऊ, कुनै राम्रो काममा सधैँ लागिराख, कसैको चित्त नतोड । अरूलाई उत्साह दिइराख र यथासंभव उसको राम्रो काममा सहायता गर । निर्धन, दीन–दुःखी, रोगी र आतुरहरूमा भगवान्को बिशेष रूपलाई देखेर उनको सेवा गर र बडो आदर तथा प्रेमपूर्वक तीसँग भेटेर यथाशक्ति उनको दुःख हटाउन सहायता गर र प्रभुको भजनमा जहाँसम्म हुन सक्छ आफ्नो समय लगाऊ ।
– एउटा महात्माको भनाइ छ– हिजोआज धेरैजसो मानिस मीठो चापलुसी कुरा गर्न त जान्दछन् तर मनमा भने दम्भ, कपट भरिएको छ । पहिलेका मानिस उति बोल्न जान्दैनथे तर तिनको हृदय सरल थियो, ती आफ्नो दोष लुकाउन जान्दैनथे । दम्भी, कपटी बनेर सुहाउँदो कुरा बोल्ने सभ्यको अपेक्षा सरल ग्रामीण बन्नु सच्चा उन्नतिको लक्षण हो । सरलतामा पवित्रता र कपटमा अपवित्रता छ । कपटी मानिस जति अरूलाई हानी पुर्याउँछ त्यसभन्दा बढी त्यो आफ्नो हानि गर्दछ ।
– आफ्ना पापहरूलाई नलुकाऊ र पुण्यहरूलाई प्रकट नगर । लुकाउनाले पाप बढ्ने छन् र प्रकट गर्नाले पाप घट्ने छन्, उस्तै नै पुण्य प्रकट गर्नाले घट्ने छन् र लुकाउनाले पुण्य बढ्ने छन् । पुण्यलाई कपूरको भाति जान । यदि बोतलको मुख खोलेर राख्यो भने त्यो ९कपुर० उडेर जान्छ । पाप नराम्रो बस्तु हो, यसैले पापलाई लुकाएर राख्यो भने भित्रै बिष उत्पन्न गरेर हृदयका सब शुद्ध भावहरूलाई नष्ट गरि दिनेछ ।
– अहित केवल शरीर या बाणीबाट नै हुँदैन मनले पनि हुन्छ । तिम्रो मनमा नराम्रा विचार आयोभने जान अब तिमी आफ्नो र अरूको समेत अहित गर्ने भयौ । यसैले नराम्रो विचार कहिल्यै मनमा आउन नदेऊ । यदि पूर्व संस्कारवश आइहाल्यो भने त्यसलाई तत्काल नै बाहिर निकालिदेऊ, नराम्रो विचारलाई क्षणभर पनि मनमा टिक्न नदेऊ । विचार दुई प्रकारका हुन्छन्, राम्रा या नराम्रा । राम्रा विचार–सत्य–भाषण, दया, क्षमा, परोपकार, ईश्वरको आराधना आदि हुन् र नराम्रा विचार–असत्य, भाषण, क्रोध, निर्दयता, दोस्रालाई दुःख दिनु अपकार गर्नु, स्वार्थपरता आदि हुन् ।
प्रतिक्रिया
-
४
