निर्दोष जीवन नेपाली साहित्य र नेपाली गीत- संगीतमा क्रियाशील छन् । गीत, गजल, कथा, उपन्यास, मुक्तक, हाइकू जस्ता थुप्रै विधाहरुमा कलम चलाउँदै आइरहेका उनको वि.सं २०६१ सालमा ‘आशीर्वाद’ गजल मुक्तक तथा हाइकू सङ्ग्रह प्रकाशित गरि साहित्यमा प्रवेश गरेका उनको ६ वटा किताब र ४ वटा म्युजिक एल्वम प्रकाशन भैसकेका छन् । गायन र संगीतमा पनि उत्तिकै सक्रिय उनको केही हप्ताअघिमात्र ‘प्रेमको सुगन्ध’ मुक्तक सङ्ग्रह दशौं कृतिको रुपमा प्रकाशित भइ हाल दोस्रो संस्करणको तयारीमा छ । यसै कृतिको सेरोफेरोमा रहेर स्रष्टासँग सम्पादक जीवन खत्रीले गरेका पाँच प्रश्न र जवाफ;
१, “प्रेमको सुगन्ध” कृतिका बारेमा केही बताईदिनुस न् ।
– प्रेमको सुगन्ध मुक्तक सङ्ग्रह हो । यसमा २०० वटा मुक्तकहरु समावेश गरिएको छ । प्रेमरसले भरिएका मुक्तकहरुलाई प्रार्थमिकतामा राखेको छु ।
२, नयाँ पाठक जसले बुझोस् कि, मुक्तक भनेको के हो ? र तपाईँसँगको मुक्तकको साईनो कसरी हो ? केही भनिदिनुस न् ।
– चतुष्पदीय शैली (चार लाइन) मा लेखिने विधा हो मुक्तक । लेखकले आफूले भन्न खोजेको जुनसुकै विषय वस्तुलाई सरल ढङ्गले मनका अभिव्यक्तिहरुलाई चार लाइनमा समेटेर रोचक रुपले प्रस्तुत गर्न सकिने भएको हुँदा मुक्तक विधा मेरो रोजाईको विधा अन्तर्गत पर्ने गर्दछ । मेरो पहिलो कृति नै मुक्तक सङ्ग्रह भएको हुँदा मुक्तक विधासंग मेरो गहिरो प्रेम छ ।
३, तपाईँ दशौँ वर्षदेखि गायन, संगीत, लेखनमा हुनुहुन्छ । लेखनमा पनि उपन्यास, कथा, गीत, गजल र मुक्तक लेख्नुहुन्छ । खास तपाईँको प्रिय विधा के हो ? सबै भन्दा बढी आनन्द के मा पाउनुहुन्छ? कसरी?
– साहित्यका प्रायःजसो सबै विधामा कलम चलाउँदै आएको छु । गीत लेखन मेरो प्रिय विधा हो । शुरुआती समयमा मुक्तक विधामा धेरै रुचि भएको र चार लाइनमा गहकिलो रुपमा मनका भावहरु सजिलैसंग व्यक्त गर्न सकिने हुँदा मलाई सबैभन्दा बढी आनन्द मुक्तक विधासंग हुन्छ ।
४, एउटा लेखकलाई किताब निस्किनु भनेको एउटा फुटबल खेलाडीले गोल गरेजस्तै हो भनेर कतै पढेको थिएँ, तेस्तै हो र? तर प्रकाशनका जटिलता पनि छन् नि, कतिको बेहोर्नुभाछ ।
– आफ्ना सिर्जनाहरु डायरीका पानामा मात्रै सिमित रहेको अवस्थामा ती सिर्जनाहरु किताबको स्वरुपमा जन्मिएर प्रत्येक पाठकहरुको हातमा पुग्दा कुन चाहिँ लेखकलाई खुशी मिल्दैन होला र ? खेलाडी खेल्दै गर्दा आफ्नो खुट्टामा रहेको फुटबललाई गोलपोस्टमा छिराउँदाको आनन्द जस्तै हुन्छ एउटा लेखककलाई कृति प्रकाशन हुँदा । कृति प्रकाशनमा सबैभन्दा जटिलता भनेको आर्थिक क्षेत्र हो । तर पछिल्लो समयमा यस्तो समस्या टलेर गएको छ । उत्कृष्ट सिर्जना लेख्न सकेको खण्डमा प्रकाशनगृहले लेखकलाई रोएल्टी प्रदान गर्ने हिसाबले सबै खर्च प्रकाशनगृहले व्यहोर्नुपर्ने अवस्था पनि छ ।
५, “प्रेमको सुगन्ध” पाठकले किन पढ्नुपर्छ भन्ने लाग्छ ?
– प्रेम बिनाको संसार हामी कल्पना समेत गर्न सक्दैनौं । ´प्रेमको सुगन्ध` मा प्रेम प्रसङ्गका मुक्तकहरु भएको हुँदा प्रेम मन पराउने हरेक पाठकले प्रेमको सुगन्ध पढ्दा आनन्द प्राप्त गर्न सक्ने कुरामा म विश्वस्त छु । २०८२ फागुन १ गते विमोचन गरेको ´प्रेमको सुगन्ध ` पाठकहरुले दिनुभएको अपार मायाको फलस्वरूप किताब प्रकाशन भएको हप्तादिन भित्रमा नै दोस्रो संस्करण प्रकाशनका निम्ति प्रेसमा गएको जानकारी समेत गराउन चाहन्छु । साथै प्रेमको सुगन्ध कोमल छ , प्रेमिल छ । सरल र रसिला मुक्तकहरु समेटिएको हुँदा सबै किसिमका पाठकहरुले प्रेमको सुगन्ध पढ्नु भएको अवस्थामा मलाई असाध्यै खुशी प्राप्त हुनेछ ।
***
प्रतिक्रिया
-
४
