– एकदेव अधिकारी

दिनभरि आगोको राप ओकलिरहेको सूर्य अहिले ध्यानस्थ देखिन्थ्यो । क्षितिजको काखमा अस्ताउनै लाग्दा यसको तेज हराएको थिएन, बरु आँखा पोल्ने प्रचण्ड रापबाट रूपान्तरित भएर एउटा शीतल, स्वर्णिम तथा सिन्दूरी आभामा मखमली प्रकाश छरिरहेको थियो । मन्दिर परिसरका पुराना, लेउ लागेका ढुङ्गाहरूमा जब त्यो किरणको स्पर्श हुन्थ्यो, वर्षौँदेखि मौन रहेका ती शिलाहरूले पनि सुनौलो पीताम्बर बेरेझैँ भान हुन्थ्यो ।

मन्दिरको वायुमा मिसिएको कपूर र धूपको सुगन्धित वातावरणले त्यो साँझलाई अझ रहस्यमय र आध्यात्मिक बनाइरहेको थियो । त्यही स्वर्णिम प्रकाशको पृष्ठभूमिमा दुईवटा आकृतिहरू निष्पन्द उभिएका थिए— मानौँ उनीहरू अनन्त विश्व-लीलाका शाश्वत साक्षी हुन् र उनीहरूका वरिपरि कालको प्रवेग नै थामिएको छ ।

चालीसौं शताब्दीको उदयसँगै मानव चेतनाले अब पृथ्वी र मङ्गलको परिधि मात्र होइन, गहिरो अन्तरिक्षको अनन्त सागरमा आफ्नो नयाँ आश्रय खोज्ने सङ्कल्प गरिसकेको थियो । एक समयका कठोर यन्त्रमानवहरू अब जैविक-संवेदनायुक्त प्रतिरूपमा रूपान्तरित भइसकेका थिए । यन्त्रमानवका नायक जी-अल्फा, जो युगसन्धिको साक्षी थिए, अब इतिहासको स्मृति-सङ्ग्रहालयका एक स्वर्णिम अध्यायमा सीमित भइसकेका थिए ।

प्राकृतिक गर्भबाट जन्मिएका गर्भजहरू एकातिर प्राचीन वैदिक गुरुकुलमा मन्त्रसाधना गर्थे भने अर्कोतिर अत्याधुनिक शिक्षालयमा नभ-विज्ञानको सूत्र बुझ्थे । उनीहरूकै प्राणप्रतिष्ठाबाट निर्मित प्रतिरूपहरूको विशाल दस्ताले मङ्गलको धरातलमा हरित क्रान्ति ल्याउनेदेखि लिएर सौर्य-ऊर्जाको जटिल नभमण्डल थाम्नेसम्मको जिम्मेवारी सम्हालेको थियो । एकातिर सामवेदका ऋचाहरूको पवित्र गुञ्जन थियो भने अर्कोतिर महाशक्तिशाली नाभिकीय यन्त्रहरूको लय बद्ध धुन— प्रविधि र प्रकृतिको यो अद्वितीय सङ्गम नै आधुनिक मानव अस्तित्वको नयाँ महामन्त्र बनेको थियो ।

यही जटिल एवं सुव्यवस्थित जगत्‌को केन्द्रमा अविचल उभिएको थियो— त्यो प्राचीन देवालय, जहाँ कालका अनन्त रेखाहरू र प्रविधिका सूक्ष्म तन्तुहरू सम-भाव को एउटै महा-बिन्दुमा एकाकार हुन आइपुगेका थिए । त्यही स्वर्णिम प्रभाको दिव्य पृष्ठभूमिमा दुई तेजस्वी आकृतिहरू स्थिर थिए— सौर्य-अन्वेषिका अञ्जली र उनका पिता विश्वम्भर अर्याल ।

अञ्जलीले बिस्तारै आफ्नो दाहिने हात हावामा उठाइन् र औँलाहरूको एउटा सूक्ष्म गणितीय कोण मिलाएर अस्ताउन लागेको त्यो प्रज्वलित सूर्यलाई ठ्याक्कै आफ्ना दुई औँलाको बीचमा कैद गरिन् । टाढाबाट नियाल्दा यो दृश्य निकै विस्मयकारी देखिन्थ्यो – मानौँ, उनी त्यो विराट् अग्निपुञ्जलाई कुनै रसिलो फलझैं दुई औँलाको दबाबमा निचोरेर त्यसको सारा तेज सोस्ने दुस्साहस गरिरहेकी छिन् ।

“हेर्नुहोस् त पिताश्री !” आफ्नो हातको त्यो अनौठो मुद्रालाई स्थिर राख्दै उनले अलि ठट्टाको शैलीमा भनिन् । “तपाईँका पूर्वजहरूले यसलाई हिरण्यगर्भ मानेर केवल वन्दना गरे, तर मेरो पुस्ताले अब यस प्रचण्ड तेजलाई मुठ्ठीमा कसेर असीमित अन्तरिक्षको यात्रा तय गर्नेछ । यो सूर्य अब केवल उपासनाको प्रतीक रहेन बाबा, यो त हाम्रो सभ्यताको संवाहक महाइन्धन हो । मलाई विश्वास छ, म यो ब्रह्माण्डीय ऊर्जालाई यसरी नै निचोरेर मानव जातिलाई नक्षत्रहरूको नयाँ उचाइसम्म पुऱ्याउन सक्छु ।”

विश्वम्भरले छोरीको त्यो अदम्य आत्मगौरव र यौवन सुलभ चञ्चलतालाई नजिकबाट नियाले । उनको अनुहारमा एउटा गहिरो र रहस्यमय मुस्कान सलबलायो । “अञ्जली, तिमीले आदित्यलाई आफ्ना औँलाको बीचमा कैद गर्ने भ्रम त पाल्यौ, तर के त्यसको अनन्त राप र अन्तरनिहित प्राण लाई पनि वशमा राख्न सक्छौ ? राहुले पनि यसरी नै सूर्यलाई कवलित गर्ने धृष्टता गरेको थियो, तर स्मरण रहोस्—अन्त्यमा ऊ स्वयम् प्रकाशको एउटा निरर्थक छाया बनेर खुम्चिनु परेको थियो ।”

विश्वम्भरको सङ्केत बुझेपछि अञ्जलीका आँखाहरू केही बेरलाई टक्क अडिए । उनले बिस्तारै आफ्नो हात तल झारिन् जुन हातले भर्खरै सूर्यलाई निचोर्ने अभिनय गरिरहेको थियो । एउटा गहिरो सुस्केरा सुसेल्दै उनले भनिन्,

“तर पिताश्री राहु त एउटा आसुरी वृत्तिको प्रतीक थियो, जसको उद्देश्य केवल विनाश र अन्धकार फैलाउनु थियो । के हाम्रो यो यन्त्र-साधनालाई पनि त्यही कसीमा राखेर हेर्न मिल्छ र ? हाम्रो वैज्ञानिक प्रणालीको गर्भमा त मानव जातिको अभ्युदय र कल्याण लुकेको छ । के सृष्टिको हितका लागि सूर्यको तेजलाई विनियोजन गर्नु पनि राहुकै जस्तो धृष्टता हो र ?”

विश्वम्भरले शान्त भावमा जवाफ दिए, “अञ्जली, लोक-कल्याण र आत्म-अहङ्कार बीचको रेखा निकै मसिनो हुन्छ । राहुको दोष उसको शक्तिमा होइन, परन्तु उसको अहम्मा थियो । उसले आफूलाई सृष्टिको नियमभन्दा माथि ठान्यो । जब मानिसले प्रकृतिको अनन्त ऊर्जालाई केवल आफ्नो मुठ्ठीको खेलौना वा उपभोग्य वस्तु मात्र ठान्न थाल्छ, तब अनजानमै उसभित्र राहु-वृत्तिको उदय हुन्छ ।”

उनले छोरीको आँखामा आफ्ना शान्त आँखाहरू जुधाउँदै थपे—“तिमीले यसलाई कल्याण भन्यौ, तर के त्यो कल्याणमा प्रकृतिको मौन स्वीकृति छ ? यदि तिम्रो प्रविधिले सूर्यको प्राणलाई केवल निर्जीव इन्धनमा खुम्च्यायो भने, के त्यो मानव जातिको उत्थान होला कि प्रकृतिको अवहेलना ? स्मरण रहोस् छोरी, सूर्यलाई श्रद्धा पूर्वक अर्पण गरिने अर्घले सृष्टिलाई प्रकाश दिन्छ, तर उसलाई जबरजस्ती निचोर्न खोज्ने तृष्णाले अन्ततः आफैँलाई डढाउँछ । तिमीले सूर्यलाई जित्ने कुरा गर्यौ, तर पुर्खाहरूले त सूर्यसँग एकाकार हुने कुरा गर्थे ।”

विश्वम्भरको अन्तिम वाक्यको प्रतिध्वनि हावामा हराउन नपाउँदै अञ्जलीको नाडीमा बाँधिएको न्यूरो-ब्रेसलेट अचानक तीव्र गतिमा थर्कन थाल्यो । त्यसबाट एउटा होलोग्राफिक स्क्रिन जीवन्त भयो, जहाँ चेतावनी सूचक राता अक्षरहरू द्रुत गतिमा नाच्न थाले ।

“चेतावनी ! सूर्यको अर्क-क्षेत्रमा एउटा विशाल कृष्ण ज्वाला देखिएको छ,” प्रयोगशालाबाट प्रतिरूप स्नेहलताको चिन्तित आवाज गुञ्जियो, “यो सामान्य सौर्य आँधी होइन । यसले सूर्यको सतहलाई एउटा कालो छायाले झैँ निल्दै छ । हाम्रो ऊर्जा-सङ्ग्रहण यन्त्र यो अज्ञात कालो छायाको चपेटामा परेको छ । सबै सञ्चार प्रणालीहरू विच्छेद हुँदैछन् ।”

क्षितिजमा देखिने सूर्यमा पनि एउटा अनौठो र डरलाग्दो परिवर्तन देखिन थाल्यो । सूर्यको सुन्तला रङ्गको काखबाट एउटा गाढा कालो रङ्गको छाया बिस्तारै माथितिर फैलिरहेको थियो— मानौँ कुनै अदृश्य र विशाल मुखले त्यो महा-अग्निपुञ्जलाई जीवितै निल्न खोजिरहेको छ । यस्तो लाग्थ्यो मानौँ मानवको उच्च महत्त्वाकांक्षी वैज्ञानिक प्रविधिले कुनै युगौँदेखि निद्रामा रहेको पुरातन दैत्यलाई ब्यूँझाइदिएको छ, जो अब बदला लिन आतुर छ ।

अञ्जली हतार-हतार देवालयको छेवैमा स्थित अत्याधुनिक नियन्त्रण कक्ष भित्र छिरिन् । विश्वम्भर पनि छोरीको पाइला पछ्याउँदै त्यस यन्त्र-गर्भ भित्र प्रवेश गरे । कक्षको बीचमा रहेको नियन्त्रण कन्सोलको होलोग्राफिक दृश्यले अञ्जलीको नाडीमा झल्केको त्यही भयावह चित्रलाई विशाल रूपमा प्रस्तुत गरिरहेको थियो ।

अञ्जलीका औँलाहरू कुञ्जीपाटीमा पुगेर अचानक स्तब्ध भए । स्नेहलताको त्यो चिन्तित र सचेत गराउने आवाज अब पूर्णतः बन्द भइसकेको थियो । त्यसको सट्टा त्यहाँ एउटा अमूर्त र भारी यान्त्रिक गुञ्जनमात्र बाँकी थियो, मानौँ कुनै विशाल मेशिनले अन्तिम सास फेरिरहेको छ ।

अञ्जलीका काँपिरहेका औँलाहरू कुञ्जीपाटीमा तीव्र गतिमा चले । होलोग्राफिक कन्सोलमा सूर्यको त्यो विराट र प्रज्वलित आकृति स्थिर भयो । दृश्य निकै भयावह थियो—सूर्यको अर्क क्षेत्रबाट निस्किएको त्यो कृष्ण ज्वालाले सूर्यको तेजस्वी स्वर्णिम आभालाई एउटा भोको दैत्यले झैँ क्रूरतापूर्वक निल्दै थियो । हेर्दा हेर्दै, त्यो जीवन्त र देदीप्यमान प्रकाश एउटा निर्जीव, ठिहिऱ्याउने र चिसिँदै गएको कालो पत्थरको रङ्गमा रूपान्तरित भइरहेको थियो ।

विश्वम्भरले कुनै हतारो नगरी शान्त भावमा त्यो बढ्दै गरेको अन्धकारलाई हेरिरहे । उनले बिस्तारै भने— “यही त हो राहु, अञ्जली ! जब मानिसले प्रकृतिको ऊर्जालाई केवल इन्धन ठानेर निर्दयी भई निचोर्न खोज्छ, तब त्यही प्रणालीभित्र एउटा छाया-अस्तित्व जन्मन्छ । तिम्रो मेसिनले सूर्यको प्रकाश मात्र तान्न खोज्यो, तर त्यसको त्यो अन्धकार पक्ष— जसलाई शास्त्रले राहु भन्छ— त्यसलाई सम्हाल्ने क्षमता तिम्रो प्रविधिसँग छैन । तिमीले सूर्यलाई निल्न खोज्दै थियौ, तर हेर त— अहिले तिम्रो अहङ्कारलाई नै सूर्यको यो क्रोधले निल्न खोज्दैछ ।”

“म यसलाई रोक्न सक्छु पिताश्री !” अञ्जलीले दृढताका साथ भनिन्, यद्यपि उनको स्वरमा एउटा अपरिचित कम्पन स्पष्ट सुनिन्थ्यो ।

“यसलाई रोक्न अब तिम्रा यी बाइनरी कोडहरूले मात्र पुग्दैनन् अञ्जली,” विश्वम्भरले उनको काँधमा भरोसा पूर्ण हात राख्दै शान्त स्वरमा भने, “राहुलाई शान्त पार्न तिनै पुर्खाहरूको सम-भाव चाहिन्छ, जसले अन्धकार र प्रकाश दुवैलाई सृष्टिको अभिन्न अङ्ग मानेका थिए । तिमीले सूर्यलाई निचोरेर ऊर्जा लिन त सिक्यौ छोरी, तर के उसको अगाडि नतमस्तक भएर अर्पण गर्न पनि सिक्यौ ?”

आकाश झन्-झन् भयावह र गाढा कालो हुँदै गयो, मानौँ समय नै उल्टो दिशामा बग्न थालेको छ । मन्दिरको गजुरमा जडान गरिएका सेन्सरहरूले अब असामान्य कम्पन मात्र होइन, एउटा अज्ञात प्रलयको पदचाप रेकर्ड गर्न थाले । अञ्जलीका काँपिरहेका औँलाहरूले होलोग्राफिक कन्सोलमा अन्तिम सङ्कटकालीन कमाण्ड प्रविष्ट गर्ने निष्फल प्रयास गरे, तर यन्त्रहरूले कुनै प्रतिक्रिया दिएनन् । सबै तर्क र प्रविधिहरू अन्धकारमा बिलाए ।

“अब के गर्ने त पिताश्री ?” अञ्जलीका आँखाहरू पश्चात्ताप र विवशताले रसाए । उनको स्वरमा एउटा गहिरो आर्तनाद थियो, “के मेरो वर्षौँको कठोर अनुसन्धान र यो प्रविधिले अन्ततः संसारलाई नै अनन्त अन्धकारमा धकेल्ने भयो ? के मेरो यन्त्रात्मा नै सृष्टिको काल बन्ने भयो ?”

विश्वम्भरले मन्दिरको मूल मण्डपभित्र रहेको प्राचीन र कलात्मक तामाको एउटा ठूलो कलश देखाए । बाहिर आकाशमा प्रलयको कालो छाया मडारिरहेको थियो, तर मण्डपभित्रको त्यो कलश भने अनौठो र रहस्यमय शान्तिमा चम्किरहेको थियो ।

“त्यो कलशमा जल भर र मेरो पाइलाहरू पछ्याउँदै आऊ ।” उनले अत्यन्तै शान्त तर आदेशात्मक स्वरमा भने ।

अञ्जली केही क्षण अलमलिइन् । चालीसौं शताब्दीकी श्रेष्ठ सौर्य अन्वेषिकाका लागि यो आदेश निकै अर्थहीन लाग्थ्यो । तर जब उनले होलोग्राफिक कन्सोलमा मरिरहेको सूर्य र आफ्नो विफल प्रविधिलाई हेरिन्, उनलाई महसुस भयो कि अब तर्कको सीमा समाप्त भएको छ ।

उनले काँप्दै गरेको हातले त्यो भारी ताम्र-कलश उठाइन् र देवालयको पवित्र कुण्डबाट जल भर्न थालिन् । जलको धारा कलशमा खस्दा निस्किएको त्यो सुरिलो ध्वनिले नियन्त्रण कक्षको यान्त्रिक कोलाहललाई बिस्तारै मत्थर पार्दै थियो ।

मन्दिरको ठिक अगाडि रहेको खुल्ला चोकमा पुगेपछि विश्वम्भरले अञ्जलीलाई सूर्यको त्यो कालो छायातिर फर्काएर उभ्याए ।

“अञ्जली, तिम्रो विज्ञानले भन्छ— ऊर्जा कहिल्यै नष्ट हुँदैन, केवल रूपान्तरित हुन्छ । हाम्रो अध्यात्मले भन्छ— चेतना कहिल्यै मर्दैन, त्यो त अनन्त छ,” विश्वम्भरले छोरीको हातमा रहेको कलशलाई प्रेम पूर्वक सुमसुम्याउँदै भने, “यो राहु तिम्रो प्रणालीले सिर्जना गरेको नकारात्मक ऊर्जा हो । जब तिमी यसलाई शत्रु ठानेर नष्ट गर्न खोज्छौ, यो झन् शक्तिशाली बन्छ । यसलाई स्वीकार गर र आफ्नो हृदयको सारा सद्भाव र कृतज्ञता भाव सहित यो जल सूर्यलाई अर्पण गर र यसलाई त्यो अन्धकार पक्षमा विसर्जन गरिदेऊ ।

अञ्जलीले पहिलो पटक महसुस गरिन्—उनले जुन सूर्यलाई इन्धन ठानेकी थिइन्, त्यो त एउटा विराट जीवन्त चेतना पो रहेछ ।

विश्वम्भरले एउटा प्राचीन मन्त्रको मधुर र गहिरो लय सुरु गरे, जसको कम्पन मन्दिरको हावामा फैलियो । अञ्जलीले आफ्ना दुई हातका औँलाहरूले सूर्य नमस्कारको मुद्रा बनाइन्—यसपटक उनका औँलाहरूमा सूर्यको इन्धन निचोर्ने अहङ्कार थिएन, बरु प्रकृति प्रति नतमस्तक हुने परम कृतज्ञता थियो । उनले आफ्नो न्युरो-ब्रेसलेटको उत्सर्जन मोडलाई सक्रिय बनाइन् र आफ्नो हृदयको स्पन्दनलाई एउटा शुद्ध चेतनाको रूपमा सूर्यको दिशामा प्रक्षेपित गरिन् ।

ताम्र-कलशको जलबाट अर्घ दिँदै गर्दा अञ्जलीले एउटा दिव्य अनुभूति गरिन्—उनले सूर्यलाई कैद गरिरहेकी थिइनन्, बरु आफ्नो क्षुद्र अस्तित्वलाई सूर्यको त्यो विराट चैतन्यमा समाहित गरिरहेकी थिइन् ।

त्यसपछि एउटा चमत्कार भयो ! होलोग्राफिक स्क्रिनमा बल्झिरहेको रातो चेतावनी एकाएक शान्त नीलो प्रकाशमा बदलियो । सूर्यलाई निल्न खोज्ने त्यो भयानक कालो छाया बिस्तारै लय बद्ध हुँदै सूर्यको केन्द्र भाग भित्रै शान्त भएर समाहित भयो । भयानक सौर्य आँधी थामियो र सूर्य फेरि आफ्नो चिरपरिचित सुनौलो आभामा मुस्कुराउन थाल्यो । तर यस पटकको चमकमा एउटा अलौकिक फरक पन थियो— यो अझ बढी शीतल, स्थिर र सौम्य थियो ।

“मैले बुझेँ बाबा,” अञ्जलीले अत्यन्तै शान्त स्वरमा भनिन्, “सूर्यलाई निल्नु भनेको उसलाई सिध्याउनु होइन, बरु ऊ जस्तै विशाल हुनु रहेछ । ऊर्जा सङ्ग्रह गर्नु मात्र उपलब्धि होइन, त्यसलाई ब्रह्माण्डीय सन्तुलनमा अर्पण गर्नु नै वास्तविक प्रविधि रहेछ ।”

मन्दिरको घण्टी बज्यो, जसको प्रतिध्वनिले साँझको आकाशलाई पवित्र बनाइ दियो । अस्ताउँदो सूर्यले अञ्जली र विश्वम्भरलाई एउटा नयाँ युगको आश्वासन दिएर बिदा लियो । चालीसौं शताब्दीको मानव आज बल्ल साँचो अर्थमा सूर्य-भक्षण को साक्षी बनेको थियो—अहङ्कारको होइन, ज्ञान, भाव र समर्पणको ।

***

प्रतिक्रिया

सम्बन्धित खवर