✍️ अजित क्षेत्री
“हो त्यो साँझ ऊ आए थ्यो बाबु, गुन्द्रीमा बस भनेथें, ऊ भुईंमै बस्यो अनि रातो किताब पढ्न थाल्यो ।” बुढी आमैले भनिन् ।
“अनि के भयो नि आमा ?” मैले प्रश्न गरें ।
“कहाँ जान हिँडेको” भनें “देश बदल्न हिँडेको भन्यो ।”, कसका छोरा हौ भनें– “बिरको भन्यो ।” यसपटक आमै अलिक भावुक देखिइन् ।
“कस्तो थियो नि ऊ ?” मैले थप प्रश्न गरें ।
“आँखामा ज्वालामुखीको आभा थिए बाबु, साँढे मारेर फर्केको बाघ झैं तेज थियो ऊ ।”
यसो भनिरहँदा आमैका आँखा रसाएका थिए । म उनले भनेका हरेक शब्दहरु अक्षरमा कैद गर्दै थिएँ ।
………..
द्वन्द्वकालको उत्कर्षको समय थियो । देशका बिभिन्न ठाउँमा बिद्रोही माओवादी र सुरक्षाकर्मीको भिडन्तको खबर दिनहुँ आइरहेका थिए । फलानो ठाउँमा आज भएको भिडन्तमा माओवादीका यति मारिए र सुरक्षाकर्मीतर्फ उति मारिए । आज यति आतंककारीलाई यति गोली र बन्दुकका साथमा सशस्त्र फौजले पक्राउ गर्यो । फलानो ठाउँमा एम्बुसमा परि यति सुरक्षाकर्मीको ज्यान गयो । आजकल दिनहुँ जसोका अखबार र रेडियो टिभिमा समाचार यस्तै हुने गर्दथे ।
यत्तिकैमा एकदिन खबर आयो – स्याङ्जा जिल्लाको मनकामना गाबिसमा माओवादी र सेनाको मुठभेड भयो रे ! केही मानवीय क्षतिको आशंका । कुरो एकैछिनमा सदरमुकाम भरी फैलियो । मान्छेहरूमा कौतुहलता, डर र त्रासले एकैचोटी डेरा जमाउन थाल्यो ।
जिल्ला प्रहरीका डिएस्पी माधव नेपाललाई फोन गरें । उहाँले समाचार साँचो भए पनि पूर्ण बिबरण आई नसकेको बताउनुभयो । नजिकै रहेको ब्यारेकका प्रमुख मेजर यादबलाई भेटें । उहाँले अहिल्यै समाचार बनाउन हतारो हुने भन्दै पन्छिनु भयो । प्रशासन कार्यालयतिर गएँ, जिल्लाका सिडियो क्षेत्रीय सुरक्षा समितिको बैठकमा गएको सूचना पाएँ । कतैबाट घटनाको सत्यतथ्य र यकिन विवरण प्राप्त गर्न सकिन ।
पत्रिकाको कार्यालयबाट फोन आयो । कार्यकारी सम्पादकले घटनाबारे तत्काल बुझेर समाचार फ्याक्स गर्नु पर्यो भन्नुभयो । मैले पनि नेपाली सेना र बिद्रोही माओवादी लडाकु बिचमा स्याङ्जाको मनकामना गाबिसमा मुठभेड भएको खबर प्राप्त भएको तर मानवीय क्षतिको विवरण प्राप्त नभएको आशयको समाचार तत्काल फ्याक्स गरें ।
घटनालाई लिएर सदरमुकाम बजारभरी बिभिन्न अड्कलबाजी र अफवाह फैलिरहेका थिए । माओवादी र सरकारी सुरक्षाकर्मीबीच दिनहुँ जस्तै गोली हानाहानको अवस्था थियो । बर्षा यामको समय हुनाले केही दिनदेखि झरी परिरहेको थियो । झरी र बाढीका कारण गाउँ र शहरबीचमा यातायात असहज भएको थियो । सदरमुकामबाट करिब २५ किलोमिटरको दुरीमा रहेको भएता पनि बर्षात् र माओवादी गतिविधिका कारण मनकामना र जिल्ला सदरमुकाम केही दिनदेखी सम्बन्ध बिच्छेद जस्तै अवस्थामा थियो ।
गाउँघरतिर भर्खर भर्खर मात्र टेलिफोन पुगेको थियो । गाउँमा एकाध घरमा मात्रै पिसिओ र कर्डलेस फोन पुगेको अवस्था थियो । समाचारको तथ्य थाहा पाउन सो गाउँतिर सम्पर्क गर्न कुनै सम्पर्क सुत्र फेला पार्न सकिएन ।
पत्रकारको कामै समाचार खोतल्ने । समाचारको फेंदैमा पुगेर त्यसको मुल जरो खोतल्न अभ्यस्त हुन्छन् पत्रकार । अधुरो समाचारले मन झन् बेचैन भो । अरू पत्रकार साथीहरुसँग पनि कुरा गरें । जिल्लामा उपस्थित मानवअधिकारबादी अगुवाहरुलाई भेटें । सबैले स्थिति गम्भीर भएको निस्कर्ष निकाले । मैले घटनास्थलको स्थलगत भ्रमण गर्ने प्रस्ताव राखें । सबैले अहिले जान नहुने सुझाव दिए ।
अमेरिका, बेलायत देखि मंगल ग्रह सम्मको जानकारी राख्छौं हामी तर आफ्नै आँगनमा भैँसी नाचेको पनि थाहा पाउँदैनौँ । स्थलगत रिपोर्टिङ् बिना पत्रकारिता कसरी सत्य तथ्य र सफल हुन सक्छ ? म घटनाको स्थलगत रिपोर्टिङ्मा जाने निधो गरें ।
केही दिनको झरी पछि सदरमुकाम र आसपासको आकास भर्खरै उघ्रन लागेको थियो । बिहानको खाना खाइसकेर म सदरमुकाम स्याङ्जा बजारदेखी राङ्खोला बजारतिर लागें । मनकामना जाने बाटोमा बिरुवा बजार पर्छ । राङ्खोला देखि त्यहाँसम्म जाने जिप छुट्नै आँटेको रैछ, चढेँ । जिपको छतमा म लगायत आधा दर्जन युवा बस्यौं । जिप हुईँकियो जिल्लाको उत्तरपूर्वी पहाडी कच्ची बाटोमा ।
एकजना अधिकारकर्मी साथी पनि म सँगै आएका थिए घटनाको स्थलगत अध्ययन गर्न । अरू साथीहरू डराएको ठाउँमा मसँग जान उनी तयार यसकारण भएका थिए कि मनकामना गाबिस सँगै जोडिएको बिरुवा बजारको एक बिधालयका शिक्षकको रूपमा उनका पिताको सो क्षेत्रमा राम्रै ईज्जत थियो । अनि माओवादी या सेनाको सुराकी गर्न आएको भनि ग्रामीण क्षेत्रमा हामी माथि गर्न सकिने सम्भावित अविश्वास हटाउन उनको पिताको परिचय महत्वपूर्ण माध्यम हुन सक्थ्यो ।
करीब डेढ घण्टाको जीप यात्रापछि बिरुवा बजार पुग्यौं । भर्खरै जवानीमा पाइला टेकेकी कुमारी युवती जस्तै थियो बिरुवा बजार । हरियो जंगल र घाँसे पाखोको फेँदीमा कञ्चन पबित्र ज्याग्दी खोला अबिच्छिन्न बगिरहेकी छिन् । यिनै ज्याग्दीको काखमा निदाएको छ सुन्दर बिरुवा बजार ।
फाँटमा रोपिएका धान बिस्तारै हरिया हुँदैछन् । बजारले शहरीकरणतर्फ पाइला बढाउँदै छ । नयाँ घर बन्दैछन् । पसलहरू थपिँदैछन् । गाडीहरू धुलो उडाउँदै आउँछन् । पसलेहरू घर अगाडीको कच्ची सडकमा पानी छर्कन्छन् । विद्यालय बन्द भएर विद्यार्र्थीहरू घर जान हिँडेका छन् । एउटाले एक्सिलेटर दबाउँदै स्कुले ठिटीको नजिकैबाट बाइक कुदाउँछ । बाइकको हावाले ठिटीको छोटो जामा माथितिर हुत्याई दिन्छ । छेउछाउका केटाहरू गलल्ल हाँस्छन् ।
“मर्न नसकेको मुर्दार” ठिटीले हुईँकिँदै अगाडि पुगिसकेको बाइकतर्फ हेर्दै सरापी ।
“कसैको नभाको ठाँडो हाम्रै छेउबाटै दौडाउनु पर्ने, धुलो उडाउँदै ।” साथमै हिँडेकी अर्कीले थपी ।
“खुब केटी जिस्काउने भाको, तेस्को खप्पर पल्टे नि हुने नि ।” पहिले ठिटीले थिग्रिएको रिस निखार्दै गाली गरी ।
बर्षा याम भएकाले कच्ची बाटो हिलाम्मे जस्तै थियो । बाईकमा सवार केटो केही अगाडी पुगेर चिप्लियो र लड्यो । आवाज सुनेर स्कुले ठिटा ठिटीले बाइक लडेतिर नजर दौडाए ।
“तँलाई बोक्सी” अघि सराप्ने ठिटीतर्फ हेर्दै एक स्कुले ठिटाले ब्याङ्ग्य गरे । ठिटी शर्माले राती भई । अर्की चाहिँ बाइक लडेकोमा बल्ल खाइस् भन्ने भावमा कुइनो ठोक्दै खुच्चिङ् गरी । यो दृश्य हामी भर्खर खुलेको जस्तो देखिने पिसिओको बेंचमा बसि हेरिरह्यौं ।
दिउँसोको चार बजिसकेको थियो । घाम बिस्तारै शयन कक्षतिर लम्कँदै थियो । बिरुवा बजारले पारि डाँडाको छायाँको पछ्यौरी ओढीसकेकी थिइन् । म भने पिसिओ चलाएर बसेकी क्षेत्री नि युवतीसँग गफिन खोज्दै थिएँ ।
“जाम सर, ढिला भयो । दुई घण्टा उकालो हिँड्नु छ, पुगिन्न नत्र ।” साथीले खोला पारीको भिरको बाटोतर्फ देखाउँदै भने । “जान्छौं है त ।” मैले युवतीतर्फ हेर्दै अनुमति मागेको भावमा बोलें । “आउँदै गर्नुहोला है ।” उनले मुस्काउँदै भनिन् । यस्तो लाग्यो उनले सत्यनारायणको पूजामा आउने निम्तोको सुपारी दिँदैछिन् । फेरि आउने बाचा बाँध्न मन लाग्यो । हल्का मुस्कान बैना लगाई छाडेँ । अन्तिम पटक चार नजर एक भए । मनमनै तस्बिर खिचें । एक घुटुक्क थुक निल्न भ्याएछु ।
मस्त जवानीमा बगिरहेको ज्याग्दी खोला तर्न सकिने अवस्था थिएन । लठ्ठे पुल तर्न लाग्यौं । स्कुले युवायुवती पनि पुल तर्न तँछाड मछाड गर्दैछन् । केही उरन्ठेउला केटाहरु पुल हल्लाउँछन् । केटीहरू एक हातले कुमको झोला अँठ्याउँदैछन् अर्को हातले पुलको लठ्ठो ।
“ऐले त्यैँ आएर खसाई दिन्छु है नाके, धेरै नहल्ला पुल” एउटीले खाउँला झैं गर्दै भनी ।
“लौ हेरम् त डल्ली गाईको ताकत” – केटोले प्याच्चै भन्यो ।
“के भनिस् ? फेरी भन ।” – केटी चप्पल फूकालेर केटातिर दौडी । केटो हाँस्दै भाग्यो ।
पुल तरियो ।
त्यो ठाउँका लागि अपरिचित थियौं हामी । त्यसमाथि सेना, माओवादी वा जासुस कोही पनि त हुन सक्छ । यस्तै सोंचेर होला स्कुले ठिटा ठिटीहरू कोही पनि हाम्रो सामुन्ने परेनन् । बाटामा जम्काभेट हुने मानिसहरू पनि या त बाटै अर्कोतर्फ मोडे या त हामीलाई बेवास्ता गरे । मानिस मानिसबीचको सम्बन्ध हराएको बेला थियो त्यो ।
यसअघि कहिल्यै यसरी मान्छेले मान्छेलाई बेवास्ता गरेको देखेको थिइन मैले । खरभिर र जंगलको छेउछाउ हुँदै उकालै उकालो हिड्यौं हामी । माथि मनकामना र पारीपट्टी कोल्मा काहुले, सालडाँडा, चिन्नेबास, सेखाम, क्याक्मी र मल्याङ्कोट अनि चिसापानी क्षेत्रका हरिया बन नागबेली आकारमा मुस्कुराई रहेका थिए भनें तल ज्याग्दी खोला चाहिँ काली गंगासँग मिलनका लागी छिटो छिटो दौडिरहेकी थिइन् ।
बाटोमा कुनै घर आँगनमा पुरुष देखा परेनन् । साथी भन्दै थिए “हामी अपरिचितलाई देखेर यहाँका युवाहरू पराल मुनी या गाई गोठमा लुके । हुन पनि त्यो बेला गाउँका युवालाई माओवादीले भेटे जनसेनामा लैजाने र सेना प्रहरीले भेटे नानाथरी सवाल जवाफ सोधेर सताउने या सुराकी बनाउने गर्छन् भन्ने हल्ला जिल्लाभरी ब्याप्त थियो । भर्खरै माओवादी र सुरक्षाकर्मीको मुठभेडको खबरले पनि मानिसहरुमा थप डर पैदा भएको हुन सक्छ ।”
झिमिक्क साँझ पर्दा हामी मनकामनाको उपल्लो बस्तीमा पाइला राख्यौं । साँझ परिसकेकाले पहिले गास र बासको जोहो गर्न तिर लागियो । ग्रामीण बस्ती भएकाले होटल रेष्टुराँ पाउनु कल्पना बाहिरको कुरा थियो । आफ्नो पूरा बिबरण र ठेगाना बताएपछि बल्लबल्ल एउटा घरमा बास पाइयो । नेपाल आर्मीमा कार्यरत एकजनाको घर रहेछ त्यो । घरमा एक्ली बिधवा आमा मात्र रहिछन् । खाना खाइसकेर हामी तिनै बुढी आमैसँग गफ गर्न लाग्यौं ।
आमैका छोरा पाँच बर्षदेखि नेपाल आर्मीमा कार्यरत रहेछन् । भित्तामा झुण्ड्याईएको आफ्नो छोराको फोटो देखाउँदै गुरुङ्नी आमैले भनिनस् “ऊ यस्तै थियो बाबु, काटीकुटी मेरै छोरा जस्तो । त्यस साँझ पछि कहिल्यै फर्केर आएन त्यो ।”
“यहाँ माओवादीहरू आइरहन्छन् हो आमा ?” कुरा कोट्याउन खोजें । सबै आउँछन् बाबु, कोही माओवादी हुन भन्छन्, कोही साही सेना र कोही पुलिस । नचिनिने भएर आउँछन् “म बुढी मान्छेले कसरी चिनुम् ।” आमैले रक्षात्मक जवाफ दिइन् ।
“त्यो भिडन्तको रात के भएको थियो नि आमा, भन्नुस् “न–मैले कुरोको चुरो समातें ।”
आमैले लामो सुस्केरा हालिन् । चारैतिर आँखा दौडाउँदै भनिन्स् “भित्ताका नि कान हुन्छ भन्छन्, मलाई अफ्ठेरो पो पर्ने हो कि ?”
“डराउनु पर्दैन आमा, जति देख्नु सुन्नु भो त्यति भन्नुस्, हामी तपाईंलाई अफ्ठेरो पर्ने गरी केही काम गर्दैनौं ।” साथीले आमैलाई बिश्वस्त पार्न खोजे ।
“जमाना खराब छ बाबु हो, देखे पनि नदेखे जस्तो र सुनेपनि नसुने जस्तो गर्नु पर्ने अबस्था छ । साँचो….।” बोल्दा बोल्दै रोकिइन् बुढी आमै ।
“साँचो के आमा ? भन्नुस् नू–नम्र हुँदै” मैले भनें ।
“साँचो भन्नु पर्छ, त्यो केटोलाई मारेकै हुन् बाबु ।” आमैका कुरा सुनेर शरीरमा रक्तसञ्चार तेज भएजस्तो भयो । “गोली चलेको सुनियो, मरेको लास देखियो तर भिडन्त हो कि मारेर फालेको हो त्यो त दैव जानुन् ।” आमैले अगाडि थपिन् ।
“कसले मारे उसलाई ?”
“खोई बाबु, कसैले सेनाले मारे भन्छन्, कसैले सेनाले घाइते बनाएपछि आफ्नै साथीले गोली हानेर मारेको भन्छन् । कसैले भाग्दाभाग्दै लडेर मर्याे होला भन्छन् । कसैले माओवादी नै हैन कि पनि भन्छन् । के हो के हो ।”
बोल्दा बोल्दै बुढी आमै उठेर बाहिरतिर निस्कन खोजिन् ।
“भैँसीलाई पराल दिएर आउँछु बाबु बस्दै गर है ।”
आमै घरसँगै जोडिएको गोठतिर लागिन ।
एकछिनमै गुरुङ्नी आमै गोठबाट फर्किन् । एक सुरले बसेका रैछौं । “यत्तिकै बेला भएको थियो होला बाबु हो ।” बुढीआमैको आवाजले झस्क्यौं ।
“माओवादीका ती दुई ठिटाहरु यहि कोठामा तिमीहरू बसेकै ठाउँमा गुन्द्रीमा बसेका थिए । भुटेको मकै र मोही खुब मिठो मुखले खाएका थिए । आमा तपाईंको छोरालाई शाही सेनाको नोकरी छुटाउनु पर्यो । आखिर जो मरे नि नेपाल आमाकै छोरा मर्ने हो । नेपाल आमा नै रुने हुन् । आमा हामी जित्न चाहन्छौं तर मार्न होइन । यस्तै के के भन्दैथ्यो बा..”– बुढी आमै केही गम्भीर देखिइन् ।
साथी र मैले उनले भनेका कुराहरु नोटबुकमा लेख्दै थियौं । “अनि अगाडी के भयो आमा ?” साथीले प्रश्न गरे ।
“यहिँ बसेर रातो रंगको किताब पढ्दै थ्यो । आफ्नै छोरो जस्तो लागेर म पनि उसका कुरा सुनि रहेकी थिएँ बाबु । एक्कासी एउटा कटराइजको सर्ट, पाइन्ट लगाएको केटा आयो र उसको कानमा साउती गर्यो । तत्कालै तिनीहरू जान्छौं है आमा भन्दै निस्केर गए ।” आमैले भनिन् ।
“घटना चैँ कतिखेर कहाँ घट्यो त आमा ?”
उत्सुक हुँदै मैले भनें ।
“तिनीहरू यहाँबाट हिँडेको पाँच मिनेटमै तल मुल बाटोतिर दुई तिन पटक बन्दुक पड्केको आवाज आयो । भोलिपल्ट अर्थात हिँजो त्यहाँ रगतको टाटो र उसले पढे जस्तै किताब भेटिएको थियो रे । लडाईं भएको त कसैले देखेनन् ।”
“कस्तो अचम्म है !” मैले भनें ।
“हिँजो बिहान खरबारीमा घाँस काट्न जाँदा बिरे गुरुङ्की जहानले दुईटा लास खरबारीमा देखेकी रे” आमैले एकै सासमा भनिन् ।
“कस्को रैछ त आमा त्यो लास ?” साथीले सोधे ।
“खै बाबु कस्को हो, चिन्न सकिने अवस्थामा थिएन । मेरै घरमा आएको त्यै केटोको लास हो कि भन्छन् मान्छेहरू…?” आमैले केही कारुणिक स्वरमा भनिन् ।
ढिला भयो सुत बाबु हो, म पनि सुत्न जान्छु–बुढी आमै अर्को कोठातिर लागिन् । भर्खर निदाउन मात्र लागेका थियौं बाहिर बुट बजेको आवाज आयो । एकै छिनमा थुप्रै मान्छे गल्याङ् गुलुङ् गरेको र यताउति हिँडेको प्रष्टै सुनियो । बुँझिसकेको थिएँ । साथीलाई कोट्याएर ब्युँझाएँ । दुबैले केहीबेर बाहिरबाट आएको आवाजलाई ठमासेर सुनिरह्यौं । हामी बसेको घरलाई कसैले चारैतिरबाट घेरा हालिसकेको बुझ्न हामीलाई बेर लागेन ।
मर्ने दिन त आजै पो रैछ कि जस्तै भो ।
डरले जीऊ हल्लिन थाल्यो । ति माओवादी या सेना को होलान् र के गर्न लाग्दैछन् केही बुझ्नै सकिएन । कतै हामी बसेको वरपर दुईतर्फी सेनाको बिचमा युद्ध हुन लागेको छ या हामी माथी नै पो कसैले आक्रमण गर्दैछ कि ? मनमा विभिन्न आशङ्का उब्जिन थाल्यो । जो भए पनि हाम्लाई मारी हालेनन् र आफ्ना कुरा राख्न दिइयो भने पक्कै बाँचिनेछ भन्नेमा चाहिँ म ढुक्क थिएँ । सायद साथी पनि । किनकी न हामी माओवादी थियौं न सेना प्रहरी या गुप्तचर ।
कसैले जोडले ढोका ढकढक गर्यो । “को हँ यति राती ?” घरमुली गुरुङ्नी आमै चर्कै गरी बोलिन् । “ढोका खोल्नुु ।” आदेशात्मक शैलीमा बाहिरबाट कसैले बोल्यो । पल्लो कोठामा आमैले लालटिन जलाइन् र लालटिन बोकेरै आमैले ढोका खोलिदिइन् । हामी दुई पनि उठिसकेकाले आमैले ढोका खोल्दा हामी आमैको पछाडी नै उभिएका थियौं । “तपाईंको घरमा को बसेका छन् हँ ?” सेनाको एकजनाले निकै ठाडो शैलीमा भन्यो ।
उसले सोधी नसक्दै उसको र हाम्रो नजर जुध्यो । “सर नमस्कार, हामी हौं, पत्रकार…स्याङ्जाबाट आएका ।” बोली पूरा नगर्दै उसले हाम्रो कठालो समातेर बाहिर तान्यो । झिमिक्क साँझ परेर अँध्यारो भए पनि लालटिनको उज्या सेनाका जवानहरू आँगनभरी र यताउति पनि थुप्रैको संख्यामा रहेको देखें । केहीले हामीतर्फ बन्दुक सोझ्याएर पोजिसन लिएका थिए ।
“म पत्रकार, बिभिन्न पत्रिका र एफएममा समाचार लेख्छु, रेडियो नेपाल र एन टिभीमा पनि । उहाँ चाहीँ मानब अधिकारबादी साथी ।” साथीतर्फ देखाउँदै मैले एकै पटकमा हामी दुबैको परिचय दिन भ्याएँ । रेडियो नेपाल र एन टिभीको नाम लिएपछि उनीहरू केही सम्हालिए र हामीलाई केही इज्जत दिएको शैलीमा हेरे ।
“यी हेर्नुस् परिचय पत्र ।” हामी दुबैले परिचय पत्र देखायौं । हाम्रो परिचय पत्र हेरिसकेकछि उनीहरण अलिक पर हटे । सेनाका एकदुई जनाले हामीलाई चिनेका रैछन् हात मिलाउन आए । कतिपयले “सरी सर, के गर्नु हाम्रो ड्युटि नै यस्तै हो ।” भने ।
अलिकति मुस्कान साटासाट भो ।
“सरी भाईहरू,आरामसँग सुत्नुहोला ।” अघि मेरो कठालो समात्ने चाहिँले सामान्य शैलीमा भन्यो । “हवस्त आमा जान्छौं ।” भन्दै सैनिकहरु ओरालो लागे ।
त्यो रात धेरै बेर सम्म निदाउन सकेनौँ । ढुकढुकी बढि नै रह्यो ।
****
“हजुरको कुरा सुनेर त मेरो आङ् नै सिरिङ्ग भो दाइ ।” बसको झ्यालबाट बाहिर हेर्दै मैले भनें ।
“त्यस्ता घटना त जीवनमा कति बेहोरियो कति ।” दाइले फूर्ति लगाए ।
उमेरमा म भन्दा जम्मा ६ महिनाले मात्रै जेठा भएपनि म उनलाई आजकल दाइ भनि सम्बोधन गर्थेँ तर ब्यवहार साथीको थियो । अरूको सामुन्ने तपाईं भनेपनि एकान्तमा म उनलाई तिमी र कैले काहि तँ पनि भन्न भ्याउँथें । दाई भनिदिएपछि आँफूलाई तँ भनेको पनि हेक्का राख्दैनथे उनी ।
बस मुग्लिन आईपुगेको थियो । पोखराबाट हिँडेको करीब चार घण्टामा यतिखेर हामी मुग्लिनको एउटा होटलमा खाना खान छिर्दैथ्यौं ।
खानाको अर्डर गरियो र टेबलमा खाना आइपुग्यो पनि । तर मेरो मन पत्रकार दाइले सुनाएको घटना वरपर नै घुमिरहेको थियो ।
“दाई ति मारिने माओवादी केटाहरु को रैछन् पत्ता लाग्यो त ?” अघिदेखि मनमा खेलिरहेको कुरा सोधें मैले ।
“त्यो भिरमा भेटिएको लास माओवादीको थिएन भाइ ।”दाइले जवाफ दिए ।
‘हूँ” मेरो मुखबाट अनायसै निस्क्यो । त्यसो भए कस्को त ?
“त्यो लास मध्ये एक तिनै अभागी गुरुङ्नी आमैको छोराको थियो जो सेनाबाट भागेर घर जाँदै थियो ।” दाइले लामो सुस्केरा हाल्दै बोले । कुरा सुनेर म अवाक्क भएँ ।
“उसलाई कसले मार्यो होला, किन मार्यो होला ।” केही दिनसम्म मेरो मनमा यही प्रश्न ओहोर दोहोर गरिरह्यो ।
प्रतिक्रिया
-
४
